सुनको भाउ घटेको खबर सुनेपछि तपाईंलाई पनि केही सुन किनिहालूँ जस्तो लागेको छ?
पहिले महँगो भएकाले सुन किन्ने योजना पछि सारेका धेरैलाई अहिले मूल्य घट्नु राम्रो अवसर बनेको हुन सक्छ। अझ, भाउ केही घटेकै बेला अलि धेरै सुन किनेर राखौं भन्ने सोच पनि आउन सक्छ।
नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा पनि यस्तै भइरहेको छ। मूल्य घट्दा सुन किन्ने सोच सर्वसाधारणको मात्रै छैन, विश्वका केन्द्रीय बैंकहरूले पनि सुन थपिरहेका छन्। केही देशले आफ्नो सञ्चितिमा ठूलो परिमाणमा सुन थपेका छन् भने केहीले भएको सुन बेचिरहेका छन्।
अहिले सबभन्दा धेरै सुन कसले किनिरहेको छ र किन?
वर्ल्ड गोल्ड काउन्सिलको सन् २०२६ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म विश्वका केन्द्रीय बैंक तथा अन्य सरकारी संस्थाले ३२१.२ टन सुन थपेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो।
योसँगै सन् २०२६ को पहिलो नौ महिनामा केन्द्रीय बैंकहरूले कुल ६७५ टन सुन किनेका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा ६ प्रतिशत बढी हो।
काउन्सिलका अनुसार तेस्रो त्रैमासमा सार्वजनिक रूपमा जानकारी गराइएको खुद खरिद भने १२० टन मात्रै हो। बाँकी करिब ६३ प्रतिशत खरिद सार्वजनिक तथ्यांकमा नदेखिएको काउन्सिलको अनुमान छ। त्यसैले कुन देशले कति सुन किन्यो भन्ने सार्वजनिक विवरणले केन्द्रीय बैंकहरूको वास्तविक खरिदको पूर्ण चित्र देखाउँदैन।
सार्वजनिक तथ्यांक अनुसार भने तेस्रो त्रैमासमा सबैभन्दा धेरै सुन किन्नेमा चीन र पोल्यान्ड छन्।
चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले उक्त अवधिमा ६३ टन सुन थपेको काउन्सिलले जनाएको छ। पोल्यान्डको केन्द्रीय बैंक नेसनल बैंक अफ पोल्यान्डले ४० टन सुन किनेको छ।
यी दुई देशले मात्रै तेस्रो त्रैमासमा सार्वजनिक भएका खुद खरिदको करिब ८६ प्रतिशत हिस्सा ओगटेका छन्। कजाखस्तान र उज्बेकिस्तानले १४–१४ टन सुन थपेका छन्। चेक गणतन्त्रले पाँच टन थपेको छ।
केन्द्रीय बैंकहरूले सुन थप्नुको एउटा प्रमुख कारण विदेशी मुद्रा सञ्चितिको विविधीकरण हो।
कुनै एउटा मुद्रा वा सम्पत्तिमा मात्रै निर्भर रहँदा त्यसको मूल्य घट्ने, ब्याजदर परिवर्तन हुने वा भूराजनीतिक तनाव बढ्ने अवस्थामा सञ्चितिको मूल्य र उपयोगितामा असर पर्न सक्छ। सुनलाई भने कुनै अर्को देशको दायित्वका रूपमा नहेरी आफ्नै सञ्चितिमा राख्न सकिने सम्पत्तिका रूपमा लिइन्छ।
काउन्सिलले सन् २०२६ मा गरेको केन्द्रीय बैंक सुन सञ्चिति सम्बन्धी सर्वेक्षणमा पनि सुनप्रतिको आकर्षणका मुख्य कारणमा संकटका बेला यसको उपयोगिता, सञ्चितिको विविधीकरण र मुद्रास्फीतिबाट बच्ने उपायलाई राखेको छ।
सर्वेक्षणमा सहभागी ८९ प्रतिशत केन्द्रीय बैंकका प्रतिनिधिले आगामी १२ महिनामा विश्वका केन्द्रीय बैंकहरूको सुन सञ्चिति बढ्ने अपेक्षा गरेका छन्। त्यस्तै, ७४ प्रतिशतले आगामी पाँच वर्षमा विश्वको कुल सञ्चितिमा अमेरिकी डलरको हिस्सा मध्यम वा उल्लेख्य रूपमा घट्ने अपेक्षा गरेका छन्।
रूसमाथि लगाइएको प्रतिबन्ध र विदेशी सञ्चिति रोक्का गरिएको घटनापछि पनि धेरै देशले आफ्नो सञ्चिति कुन मुद्रा र सम्पत्तिमा राख्ने भन्ने विषयमा पुनर्विचार गर्न थालेका छन्। यस्तो अवस्थामा सुनलाई भूराजनीतिक जोखिमबाट जोगिने र दीर्घकालीन सञ्चिति सुरक्षित राख्ने माध्यमका रूपमा हेरिएको छ।
त्यसैले सुनको मूल्य घटेकै कारण केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा खरिद गरेका हुन् भन्न चाहिँ मिल्दैन।
काउन्सिलले आफ्नो प्रतिवेदनमा पहिलो त्रैमासको उच्च मूल्यबाट दोस्रो र तेस्रो त्रैमासमा औसत मूल्य केही घटेको र मूल्यमा उतारचढाव पनि कम भएको उल्लेख गरेको छ। यसले केही खरिदलाई प्रोत्साहन गरेको हुन सक्ने उसको भनाइ छ। तर मूल्य ऐतिहासिक रूपमै उच्च रहेकाले सञ्चिति विविधीकरण र जोखिम व्यवस्थापन नै खरिदका मुख्य कारण रहेको काउन्सिलले जनाएको छ।
केन्द्रीय बैंकहरूले सञ्चिति बढाउन सुन किनिरहेका बेला निजी तथा संस्थागत लगानीकर्ताबाट पनि सुनको माग बढिरहेको छ। उनीहरूले सुनमा लगानी गर्न प्रयोग गर्ने एउटा माध्यम हो, सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (इटिएफ)।
इटिएफ भनेको धेरै लगानीकर्ताबाट रकम संकलन गरेर सुनमा लगानी गर्ने कोष हो। यस्ता कोषले संकलित रकमबाट सुन किनेर राख्छन्। लगानीकर्ताले आफै सुन किनेर राख्नुपर्ने झन्झटबिना यस्ता कोषका इकाइ सेयर बजारमा किनबेच गरेर सुनमा लगानी गर्न सक्छन्।
सुनको मूल्य बढ्दा सामान्यतया यस्ता कोषको इकाइको मूल्य पनि बढ्छ। लगानीकर्ताले इकाइ किन्दा कोषले थप सुन खरिद गर्नुपर्ने भएकाले यसबाट बजारमा सुनको माग बढ्छ।
२०२६ को तेस्रो त्रैमासमा इटिएफमा अवधिमा २११.२ टन सुन थपिएको छ। यससँगै यस्ता कोषमा रहेको कुल सुन सञ्चिति बढेर ४ हजार २५६ टन पुगेको छ। तेस्रो त्रैमासमा इटिएफमा करिब ३१ अर्ब अमेरिकी डलर बराबरको लगानी आएको काउन्सिलले जनाएको छ।
युरोपमा ९२ टन र उत्तर अमेरिकामा ८१ टन सुनमा आधारित इटिएफमा थपिएको छ। बेलायतमा मात्रै ५३ टन थपिएको छ।
यसले सुनको माग केन्द्रीय बैंकको सञ्चिति बढाउने उद्देश्यबाट मात्रै नभई लगानीकर्ताको सम्पत्ति सुरक्षित राख्ने र बजारको जोखिमबाट जोगिने चाहनाबाट पनि बढिरहेको देखाउँछ।
केन्द्रीय बैंकहरूले सुन सञ्चिति बढाउन थालेको यो पहिलो पटक होइन।
सन् २०१० देखि केन्द्रीय बैंकहरू समग्रमा सुनका खुद खरिदकर्ता रहँदै आएका छन्। सन् २०२२ मा उनीहरूले १ हजार ८२ टन सुन थपेका थिए। सन् २०२३ मा पनि करिब १ हजार ५१ टन सुन थपिएको थियो। सन् २०२४ मा १ हजार ९२.४ टन सुन थपिएको थियो।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरूले रूसको विदेशी सञ्चितिमा रोक लगाएका थिए। त्यसपछि डलर र युरोमा सञ्चिति राख्दा उत्पन्न हुन सक्ने भूराजनीतिक जोखिमबारे देशहरूले थप ध्यान दिन थाले।
सुनलाई कुनै अर्को देशको दायित्व नमानिने भएकाले यसको सञ्चिति बढाउने प्रवृत्ति बलियो बनेको विश्लेषण हुँदै आएको छ।
कसले बेचिरहेको छ सुन?
सुन किन्नेको संख्या र परिमाण ठूलो देखिए पनि सबै देशले सञ्चिति बढाइरहेका छैनन्। केही देशले विदेशी मुद्रा जुटाउन, बजारमा हस्तक्षेप गर्न वा सरकारी खर्च धान्न सुन बिक्री गरेका छन्।
सुन सञ्चिति घट्नु र सुन बिक्री गर्नु एउटै कुरा चाहिँ होइन। सुनको अन्तर्राष्ट्रिय मूल्य घट्दा पनि सञ्चितिको मौद्रिक मूल्य घट्न सक्छ। त्यसैले बिक्रीको तथ्यांक र मूल्य घटेर सञ्चितिको मूल्य घटेको अवस्था छुट्ट्याउनुपर्छ।
सन् २०२६ को पहिलो त्रैमासमा सबैभन्दा धेरै सुन सञ्चिति घटाउने देश टर्की थियो। टर्कीको सरकारी क्षेत्रको सुन सञ्चिति करिब ७० टन घटेको थियो। तर यसमा सुन बिक्रीसँगै धितो राखेर विदेशी मुद्रा वा टर्कीको मुद्रा लिरा साट्ने स्वाप कारोबार पनि समावेश थियो। टर्कीले मार्चमा विदेशी मुद्रा र तरलता व्यवस्थापनका लागि थप करिब ८० टन सुन स्वाप कारोबारमा प्रयोग गरेको काउन्सिलको तथ्यांक छ।
रोयटर्सले मार्च अन्त्यमा प्रकाशन गरेको समाचारमा टर्कीको केन्द्रीय बैंकको सुन सञ्चिति एक सातामै करिब ५० टन घटेको उल्लेख गरेको थियो। बैंक तथ्यांकका आधारमा बैंकरहरूले गरेको गणना अनुसार त्यस अवधिमा करिब २२ टन सुन बिक्री भएको र ३१ टन सुन बराबरको स्वाप कारोबार भएको थियो।
यसरी सञ्चिति घटेको सबै परिमाण स्थायी रूपमा बिक्री भएको भन्न मिल्दैन। स्वाप कारोबारको अवधि सकिएपछि सुन सञ्चितिमा फर्किन सक्ने भएकाले बिक्री र स्वापलाई छुट्टाछुट्टै बुझ्नुपर्छ।
त्यस्तै, अजरबैजानको स्टेट आयल फन्ड (सोफाज) ले पहिलो त्रैमासमा २२ टन सुन बेचेको छ। यो संस्था केन्द्रीय बैंक नभई सरकारी तेल कोष हो।
रूसको केन्द्रीय बैंकले पनि पहिलो त्रैमासमा २२ टन सुन बिक्री गरेको छ।
तेस्रो त्रैमासमा भने बिक्री तुलनात्मक रूपमा कम देखिएको छ। यस अवधिमा रूसको सुन सञ्चिति १९ टन घटेको छ। कतार, किर्गिज गणतन्त्र र संयुक्त अरब इमिरेट्सको सुन सञ्चितिमा पनि थोरै कमी देखिएको काउन्सिलले जनाएको छ।
विश्वमा सुनको आपूर्ति मुख्यतः खानीबाट उत्पादन हुने र पुरानोलाई पुनः प्रशोधन गरेर बजारमा आउने सुनबाट हुन्छ। जुलाईदेखि सेप्टेम्बरसम्म विश्वभरका खानीबाट १ हजार ७०.९ टन सुन उत्पादन भएको छ। यो अघिल्लो वर्षको सोही अवधिभन्दा ३ प्रतिशत बढी हो। त्यस्तै, पुरानो सुन पुनः प्रशोधन गरेर बजारमा आएको परिमाण ३१४.५ टन छ। यो भने अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो।
खानीबाट निस्किएको सुन अन्तर्राष्ट्रिय बजार, बैंक, प्रशोधनकर्ता, व्यापारी र लगानी कोष हुँदै विभिन्न देशमा पुग्छ।
सुनको मूल्य घट्दा सबै प्रकारका खरिदकर्ताको एउटै तरिकाको प्रतिक्रिया हुँदैन। लगानीकर्ताले मूल्य अझै घट्ने अनुमानमा खरिद रोक्न सक्छन् भने केहीले अवसरका रूपमा लिन सक्छन्। गहना किन्ने उपभोक्ताको निर्णय पनि मूल्य, आम्दानी र आवश्यकतामा भर पर्छ।
तेस्रो त्रैमासमा विश्वव्यापी गहनाको माग अघिल्लो वर्षको सोही अवधिभन्दा १७ प्रतिशत घटेर ३१२.९ टनमा झरेको छ। बार र सिक्कामा लगानी गर्ने माग पनि १९ प्रतिशत घटेर २६७.८ टन भएको छ। उच्च मूल्यका कारण गहना खरिदमा दबाब परेको वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ।
मूल्य घटेपछि भारत र चीनमा भने भौतिक सुनको माग बढेको रोयटर्सले लेखेको छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३५५२.३९ अमेरिकी डलर भयो। यो साताभरमा सुनको मूल्य करिब ८.५ प्रतिशत घटेको छ। अमेरिकी डलर बलियो हुनु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अपेक्षाले सुनको मूल्यमा दबाब परेको रोयटर्सले जनाएको छ।
नेपालको बजारमा के छ?
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा पनि भाउ ओरालो लागेको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा यो १२ हजार २०० रूपैयाँ कम हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अहिले दैनिक करिब ४० किलो सुनको कारोबार भइरहेको छ। बैंकमार्फत भने दैनिक २५ किलो मात्रै सुन आपूर्ति भइरहेको छ। त्यसैले मूल्य घटेर ग्राहकको आकर्षण बढ्दै जाँदा अब आपूर्तिमा समस्या देखिन थालेको छ।
व्यवसायीले पुरानो मौज्दातबाट बजारको माग धानिरहेका उनले बताए।
पुरानो सुन बिक्री भएर बजारमा नफर्किने र बैंकबाट आउने नयाँ सुन पर्याप्त नहुने हो भने मौज्दात थप घट्न सक्छ। त्यसपछि बजारमा सुनको अभाव अझ चर्किन सक्ने उनको चिन्ता छ।
बजारको माग व्यवस्थापन गर्न बैंकमार्फत हुने सुनको आयात तथा आपूर्ति केही समयका लागि बढाउनुपर्ने शाक्यको सुझाव छ।
'एकै पटक पाँच सयदेखि एक हजार किलोसम्म सुन उपलब्ध गराउन सके तत्कालको माग व्यवस्थापन गर्न सहज हुनेछ,' उनले भने।
यसो गर्दा दैनिक आपूर्तिको सीमितताका कारण बजारमा देखिएको दबाब कम गर्न सकिन्छ। बजार स्थिर भएपछि पुनः सन्तुलन मिल्ने उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै केही घट्न सक्ने सम्भावना भए पनि दीर्घकालमा बढ्ने सम्भावना बढी भएको उनी बताउँछन्।
बजारको दिशा उल्टिए एकै दिनमा नेपाली बजारमा प्रतितोला १० देखि १५ हजार रूपैयाँसम्म मूल्य बढ्न सक्ने जोखिम पनि उनले औंल्याएका छन्। यो उनको बजार सम्बन्धी आकलन हो, निश्चित मूल्य पूर्वानुमान होइन।