सुनको भाउ घटेपछि बजारमा गहना किन्नेको भीड बढ्न थालेको छ। पहिले महँगो भएकाले सुन नकिनी बसेकाहरू पनि अहिले पसल पुग्न थालेका छन्।
अझ मंसिर लागेसँगै बिहेका लागि गहना किन्नुपर्ने परिवारदेखि सस्तोमा सुन किनेर भविष्यका लागि राख्न चाहनेहरूलाई समेत अहिलेको मूल्यले आकर्षित गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निर्वतमान अध्यक्ष माणिकरत्न शाक्यका अनुसार अहिले बजारमा दैनिक करिब ४० किलो सुनको कारोबार भइरहेको छ।
'पछिल्लो समय दैनिक ४० किलो हाराहारी सुन कारोबार भइरहेको छ,' शाक्यले सेतोपाटीसँग भने, 'चार–पाँच वर्षअघि सुनको मूल्य अहिलेको स्तरमा नहुँदा मुख्य सिजनमा जति कारोबार हुन्थ्यो, अहिले त्यही हाराहारीमा पुगेको छ।'
यसअघि गत वर्ष माघ १५ गते सुन तोलाको ३ लाख ३९ हजार ३०० रूपैयाँ पुगेको थियो। यही अहिलेसम्मको धेरै मूल्य हो।
त्यसपछि भाउ घटे पनि पहिलेको तुलनामा मूल्य उच्च नै थियो। त्यसैले ग्राहकले खरिद घटाउँदै लगेका थिए।
सामान्यतया सुन बजारको अफसिजनमा दैनिक चार–पाँच किलो मात्रै कारोबार भइरहेको थियो। कतिपय दिन त्योभन्दा पनि कम हुन्थ्यो।
अहिले भने मूल्य घट्नु र बिहेको सिजन सुरू हुनु दुवै कारणले कारोबार ह्वात्तै बढेको छ। माघ १५ को तुलनामा बिहीबार सुनको मूल्य ८१ हजार ७०० रूपैयाँ कम हो।
कात्तिक २० गतेसम्म पनि सुन प्रतितोला २ लाख ८३ हजार रूपैयाँ थियो। मंसिर ३ गते आइपुग्दा घटेर २ लाख ५७ हजार ६०० रूपैयाँ भएको छ। यस अवधिमा प्रतितोला २५ हजार ४०० रूपैयाँ घटिसक्यो।
धेरै तोला सुन किन्नेलाई यो अन्तरले धेरै नै फाइदा पुग्छ।
विवाहका लागि पाँच–दस तोला सुन किन्नुपर्ने परिवारलाई मूल्यमा आएको यो गिरावटले ठूलो राहत दिने शाक्य बताउँछन्। पहिले छुट्ट्याएको बजेटमै बढी परिमाणमा सुन किन्न सकिने अवस्था बनेको छ।
'केही हजार रूपैयाँको फरक पर्दा पनि पाँच–दस तोला किन्ने ग्राहकको कुल खर्चमा ठूलो अन्तर पर्छ। अहिलेको मूल्य घटाइले ग्राहकको खरिद क्षमतामै फरक पारेको छ। खर्च कम हुने अवसर बनेको छ,' उनले भने।
अहिले बजारमा मुख्यगरी दुई किसिमका ग्राहक छन्।
पहिलो, विवाह वा अन्य पारिवारिक आवश्यकताका लागि सुन किन्नुपर्नेहरू।
दोस्रो, अहिले मूल्य घटेको मौका छोपेर भविष्यका लागि सुन किनेर राख्न चाहनेहरू।
'महँगो भएकाले सुन किन्न नखोजेका मानिसहरू पनि अहिले मूल्य घटेपछि किन्न खोजिरहेका छन्। पछि चाहिने सुन अहिले नै किनेर राखौं भन्नेहरू पनि बढेका छन्,' शाक्यले भने, 'अनि सुनमा रूचि नै नभएकाहरूले समेत किन्न थालेका छन्।'
त्यस्तै अहिले नयाँ सुन किन्ने ग्राहक धेरै छन्। सामान्य अवस्थामा पुरानो गहना बेचेर वा साटेर नयाँ गहना बनाउने ग्राहक संख्या राम्रै हुन्छ। तर अहिले अत्यावश्यक बाहेक पुरानो सुन बेच्न आउनेहरू छैनन्।
शाक्यका अनुसार दैनिक करिब ४० किलो सुनको कारोबार भइरहे पनि बैंकमार्फत हुने दैनिक आपूर्ति २५ किलो मात्रै छ। यो पनि सिजन भएकाले हो। नभए दैनिक २० किलो आउँछ।
हाल बजारमा भइरहेको कारोबार र नयाँ आपूर्तिबीच दैनिक करिब १५ किलोको अन्तर छ।
यो अन्तर बजारमा पहिलेबाट रहेको मौज्दातबाट पूर्ति भइरहेको छ। तर पुरानो सुन बिक्री भएर बजारमा नफर्किएकाले नयाँ सुनको माग र आपूर्तिबीचको अन्तर गम्भीर विषय बन्दै गएको छ।
'माग बढी छ, आपूर्ति भने त्यही अनुसार बढेको छैन,' शाक्यले भने, 'त्यसैले बजारमा भएको पुरानो स्टकबाट सुन बिक्री भइरहेको छ। मौज्दात घट्दै गएपछि फेरि थप्न पनि समस्या हुन सक्छ।'
त्यसैले ग्राहकका लागि अहिलेको मूल्य गिरावट अवसर भए पनि व्यवसायीका लागि मौज्दात व्यवस्थापन चुनौती बनेको छ। माग र आपूर्तिबीचको अन्तर लामो समय कायम रहे बजारमा सुन अभाव हुन सक्ने चिन्ता पनि छ।
'अहिले नै बजारमा पर्याप्त सुन छैन। अभाव खट्किन थालिसकेको छ,' उनले भने।
बजार सन्तुलन मिलाउन बैंकमार्फत हुने सुनको आयात तथा आपूर्तिको परिमाण केही समयका लागि बढाउन सकिने शाक्यको सुझाव छ।
एकै पटक पाँच सयदेखि एक हजार किलोसम्म सुन उपलब्ध गराउन सकिए बजारको तत्कालीन माग व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ।
यसो गर्दा दैनिक आपूर्तिको सीमितताका कारण बजारमा देखिएको दबाब कम गर्न सकिन्छ। बजार स्थिर भएपछि पुनः सन्तुलन मिल्ने उनले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै केही घट्न सक्ने सम्भावना भए पनि दीर्घकालमा बढ्ने सम्भावना बढी भएको उनी बताउँछन्।
बजारको दिशा उल्टिए एकै दिनमा नेपाली बजारमा प्रतितोला १० देखि १५ हजार रूपैयाँसम्म मूल्य बढ्न सक्ने जोखिम पनि उनले औंल्याएका छन्। यो उनको बजार सम्बन्धी आकलन हो, निश्चित मूल्य पूर्वानुमान होइन।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि सुनको मूल्य दबाबमा देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुन प्रतिऔंस ३७३०.६१ डलरमा कारोबार भयो। यो सन् २०२५ को सेप्टेम्बरयताकै कम मूल्य हो।
सुनको मूल्य घट्नुमा अमेरिकी डलर बलियो हुनु र सरकारी ऋणपत्रमा पाइने ब्याज बढ्नुले पनि भूमिका खेल्छ।
त्यस्तै, केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अनुमानले पनि सुनको मूल्यमा दबाब पार्छ। ब्याजदर बढ्दा लगानीकर्ताले सुनमा भन्दा ब्याज पाइने क्षेत्रमा पैसा लगाउन रूचाउँछन्।
किनभने, सुन राख्दा ब्याज पाइँदैन, तर सरकारी ऋणपत्रमा लगानी गर्दा ब्याज आम्दानी हुन्छ। त्यसैले ब्याजदर बढ्दा सुनप्रतिको आकर्षण घट्न सक्छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपालमा पनि सामान्यतया घट्छ। तर दुवै बजारमा मूल्य समान अनुपातले घट्दैन। नेपालमा सुनको भाउ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारको मूल्यसँगै अमेरिकी डलरको विनिमय दर, आयातमा लाग्ने कर र अन्य लागत पनि जोडिन्छन्।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंसमा तोकिन्छ। एक ट्रोय औंसमा ३१.१०३५ ग्राम सुन हुन्छ भने एक तोलामा करिब ११.६६३८ ग्राम। त्यसैले अन्तर्राष्ट्रिय मूल्यलाई डलर–नेपाली रूपैयाँ विनिमय दर अनुसार रूपान्तरण गरी एक तोलाको मूल्य निकालिन्छ। त्यसपछि आयातमा लाग्ने कर र अन्य लागत जोडिन्छन्।
यस कारण अन्तर्राष्ट्रिय बजारमा सुन सस्तिए पनि डलरको भाउ बढे नेपालमा मूल्य घट्ने दर कम हुन सक्छ।
तर अब सुनको बजारमा मूल्यसँगै माग र आपूर्तिको अवस्था पनि महत्वपूर्ण हुनेछ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै घटे ग्राहकले थप सस्तोमा किन्न पाउनेछन्।
मूल्य फेरि बढ्न थाल्यो भने अहिलेको मूल्यमा सुन किन्न चाहने ग्राहकको संख्या झन् बढ्न सक्छ। यस्तो अवस्थामा बजारमा सुनको माग अझै बढ्नेछ।
मागअनुसार सुन उपलब्ध गराउन नसके व्यवसायी र बैंकलाई बजारको माग धान्न कठिन हुनेछ।
***