मनसुन भित्रिएकै दिन शुक्रबार रातभरि दर्केको झरीले निम्त्याएको बाढीपहिरोले कोशी प्रदेशमा ठूलो क्षति पुर्याएको छ। मानवीय क्षति नभए पनि सडक संरचनामा भने ठूलो नोक्सानी गरेको छ।
बाढी र पहिरोले कोशी प्रदेशका सात वटा सडक शनिबार दिनभरिजसो अवरुद्ध पारेको थियो। यही क्षतिका कारण शनिबार दिनभरि ती सात वटा सडक क्षेत्रसहित पूर्व–पश्चिम राजमार्गका विभिन्न ठाउँमा यातायात सेवा अवरूद्ध भयो।
मनसुन सुरू भएको पहिलो दिन सडक जस्तो अत्यावश्यक भौतिक संरचनामा बाढी र पहिरोले ठूलो क्षति गरेको हो। कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार शनिबार बिहानैदेखि अवरूद्ध भएका सातमध्ये कोशी लोकमार्गका दुई ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालन भएको छ।
दुइटा सडक पुनः सञ्चालन भएका छन् भने तीन वटा वैकल्पिक मार्ग नहुँदा अझै खुल्न सकेका छैनन्।
कोशी प्रदेश प्रहरी कार्यालयले शनिबार साँझ जारी गरेको बुलेटिन अनुसार शुक्रबार रातभरिको झरीले सबभन्दा ठूलो क्षति कोशी लोकमार्गमा गरेको छ। धनुकटाको साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित नमस्ते झरना छेउमा पहिरो झरेपछि कोशी लोकमार्ग दिनभरि अवरूद्ध भएको थियो। सेना, प्रहरी, सशस्त्र प्रहरीको पहलमा साँझदेखि एकतर्फी सञ्चालन सुरू भएको छ।
त्यस्तै साँघुरीगढी ६ फेदीस्थित लेउती खोलामा आएको बाढीले कोशी लोकमार्गको सय मिटर पक्की बाटो भत्काएको छ। मुख्य राजमार्ग नै कटानमा परेपछि शनिबार दिनभरि पूर्वी पहाडसँगको सोझो यातायात सम्बन्ध पूर्णतः विच्छेद भएको थियो। यो लोकमार्ग पनि शनिबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

सामान्यतया नेपालमा मनसुन भित्रिने दिन जुन १३ लाई मानिन्छ। यसपालि १५ दिन अगावै कोशी प्रदेशबाट मनसुन नेपाल भित्रिएको छ। कोशी प्रदेशमा मनसुनको पहिलो दिन नै १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
'भीषण झरीले भौतिक संरचना, खासगरी सडकमा क्षति पुर्याएको छ,' कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले भने, 'कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालन गर्न सकियो, अरू केही पुनः सुरू भए। तीन वटा चाहिँ वैकल्पिक मार्ग नहुँदा सञ्चालन हुन सकेका छैनन्।'
धनकुटाको चौबीसे गाउँपालिका –४ मा निर्माणाधीन सडकखण्डमा पर्ने छरूवा खोलाको बाढीले अवरूद्ध पारेको तमोर करिडोर सडक वैकल्पिक मार्ग नभएकाले सञ्चालनमा आउन सकेको छैन।
त्यस्तै साँघुरीगढी –५ डाँडा बजारको ढाडे डाँडामा झरेको पहिरोले रवि राँके सडक दिनभरि अवरूद्ध भएको थियो। शनिबार साँझदेखि यो सडक पनि पुनः सुरू भएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ नयाँपुल खोला किनारमा खसेको पहिरोले चतरा–बराहक्षेत्र सडक ठप्प भएको छ। वैकल्पिक मार्ग नभएका कारण यो सडक पनि अवरूद्ध नै छ।
त्यस्तै इलामको माई नगरपालिका–७ को पक्की सडक खण्डमा खसेको पहिरोले महामाई–इलाम–लारूम्म्बा सडक दिनभरि ठप्प पारेको थियो। पहिरो पन्छाएपछि यो सडक पनि साँझबाट खुलेको छ।


उदयपुर जिल्लाको बेलका नगरपालिका –८ मा पर्ने कोठु खोलामा पर्ने कच्ची सडकमा खसेको पहिरोले मैनामैनी–चुहार–भोजपुर सडक ठप्प पारेको छ। यो सडकको पनि वैकल्पिक मार्ग नभएकाले सञ्चालन हुन नसकेको प्रहरीले जानकारी दिएको छ।
अविरल झरीपछिको बाढीले स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वी खण्डमा पनि ठूलो क्षति पुर्याएको छ। बाढीले निर्माणाधीन एसियन हाइवेका तीनटा डाइभर्सन बगाएको छ।
त्यसमध्ये काँकडभिट्टा कालीखोला र धाइजनको ढुकुरे खोला डाइभर्सन मर्मत भए पनि चारआली पश्चिम जंगलमा रहेको एनिमल पास डाइभर्सन खुल्न सकेको छैन।
यसले गर्दा पूर्व–पश्चिम राजमार्ग पुग्न झण्डै चार किलोमिटर लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने स्थिति भएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिएका छन्।
बाढीले बगाएका तीनटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन्।