पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन्।
आयोजनाको महादेवटार सुरूङ ब्रेक थ्रु कार्यक्रममा उनले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको बताए।
‘केही ठेक्काहरू, जस्तै प्याकेज ९ ए, ९ बी, ८ बी लगायतका केही प्याकेजहरूको कार्यसम्पादन राम्रो छैन। संशोधित कार्यतालिका अनुसार पनि सन्तोषजनक कार्यसम्पादन गर्न नसकेका र आफैले पेश गरेको संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीहरूको ठेक्का तत्काल रद्द गरौँ। हामी त्यस्ता ठेक्का रद्ध गर्नेछौँ,’ उनले भने, ‘निर्माण कम्पनीहरूले अपेक्षित कार्यसम्पादन गर्न सकेनन्। अब नेपाली सेनाले निर्माण व्यवसायीहरूलाई थप सुविधा दिन आवश्यक छैन। सरकार यो आयोजनाको अवधि थप तीन वर्षभन्दा बढी लम्बिएको हेर्न चाहँदैन। त्यसैले कमजोर कार्यसम्पादन भएका निर्माण कम्पनीका ठेक्का रद्द गर्नुपर्छ।’
-न्युज एजेन्सी नेपाल