सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले श्रेष्ठलाई कार्यकारी निर्देशक बनाउन एकल सिफारिस गरेका थिए।
श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले उनलाई गत वैशाखको चौथो सातादेखि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए।
निमित्तको जिम्मेवारी सम्हाल्नुअघि श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख थिए।
उनी आगामी असोजमा अवकाश हुँदैछन्।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गरेपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।
अब भने सरकारले उनलाई पूर्ण कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।