भोटेकोशी–त्रिशूली बाढीपछि ८ सयभन्दा धेरै श्रमिक तथा कर्मचारी हराइरहेका विभिन्न जलविद्युत आयोजनाको सुरूङबाट हालसम्म तीन जनाको जीवितै उद्धार भएको छ।
माथिल्लो त्रिशूली ३ 'ए' को सुरूङबाट दुई नेपाली र माथिल्लो त्रिशूली १ को सुरूङबाट एक जना चिनियाँ गरी कुल तीन जना मात्रै जीवित उद्धार गरिएको हो।
त्यस्तै यी विभिन्न जलविद्युत आयोजनाका सुरूङबाट हालसम्म ४७ वटा शव निकालिएको तथ्यांक छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार उद्धार टोलीले माथिल्लो त्रिशूली १ बाट सोमबारसम्म ३९ वटा शव निकालेको छ।
त्यस्तै, चिलिमेबाट पाँच शव निकालिएको थियो। यहाँ ६ जना फसेको आशंका गरिएकोमा थप फेला नपरेपछि यो आयोजनाको सुरूङमा अहिले खोजी टुंग्याइएको छ।
माथिल्लो त्रिशूली ३ 'ए' बाट एउटा शव निकालिएको थियो। यो आयोजनाको सुरूङमा ४० जना फसेको आशंका गरिएको थियो। तर अरू कोही फेला नपरेपछि सुरूङ भित्र खोजीको काम टुंग्याइएको छ।
लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट दुईटा शव निकालिएको थियो। यो आयोजनाको सुरूङमा २५ जना फसेको आशंका गरिएकोमा सम्भावित ठाउँमा खोजी गर्दा अरू कोही फेला नपरेको आयोजनाले जनाएको छ।
इप्पानका अनुसार अझै ११ वटा जलविद्युत आयोजनामा कार्यरत ८०५ जना श्रमिक तथा कर्मचारी सम्पर्कविहीन छन्।
कुन आयोजनामा कति सम्पर्कविहीन?
माथिल्लो त्रिशूली १ – ४३९
रसुवागढी – ९३
रसुवा भोटेकोशी – ३
लाङटाङ – ३९
चिलिमे – १
मैलुङ खोला – ७
त्रिशूली जलविद्युत आयोजना – ३
देवीघाट जलविद्युत आयोजना – १
माथिल्लो त्रिशूली ३ 'ए' – ३९
माथिल्लो त्रिशूली ३ 'बी' – १७८
मिडल त्रिशूली गंगा – २
श्रमिक तथा कर्मचारीहरूको खोजी कार्य अधिकांश आयोजनामा टुंग्याउँदै लगिएको छ।
सेनाका अनुसार माथिल्लो त्रिशूली १ र माथिल्ली त्रिशूली ३ 'बी' मा खोजी भइरहेको छ। अन्य आयोजनामा सम्भावित ठाउँसम्म खोजीपछि थप खोजीको काम रोकिएको छ।