सबै निजी तथा आवासीय विद्यालय सामाजिक सुरक्षा कोषमा सहभागी हुने भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र निजी तथा आवासीय विद्यालयको संगठन (एन–प्याब्सन)बीच आज मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति भएको हो। प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सबै विद्यालय सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता जनाए।
‘यो समग्र श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पुर्ण समर्थन र सहयोग गर्छौं। विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सामाजिक सुरक्षाका विषयमा हामी संवेदनशिल छौं। कोषमा सहभागी हुने विषयमा गम्भिर छौं,’ सापकोटाले भने।
मन्त्री विष्टले सामाजिक सुरक्षा कोष अनिवार्य भएको बताउँदै समयमै सबै विद्यालय र शिक्षक कर्मचारीलाई सूचीकृत हुन आग्रह गरे।
निजी विद्यालयका अन्य समस्या समाधानका लागि सरकार सदैव तयार रहेको मन्त्री विष्टले बताए। ‘समस्या बुझ्न, सहजीकरण गर्न र आवश्यक निर्णय गर्न सरकार सधै सकारात्मक छ। शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहँदै आएको छ,’ उनले भने।