शनिबारको बिहानी बुटवलमा चिसो सिरेटो चलिरहेको थियो। बाक्लो हुस्सु र कुहिरोले ढाकिरहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेल भने बिहान नौ नबज्दै सडकमा निस्किए। उनको गन्तव्य थियो बुटवलको ट्राफिक चोकमा सञ्चालन भइरहेको खस्यौली बजार।
पुरानो बटौली बजार व्यापारिक केन्द्र रहँदासम्म हाल बुटवलको मुख्य बजार रहेको क्षेत्र खस्यौली नामले चिनिन्थ्यो।
पुरानो बटौली बजारको व्यापार सुक्दै जान थालेपछि खस्यौली बजारको व्यापार बढ्दै जान थाल्यो। व्यापार मात्र होइन नाम पनि खस्यौलीबाट बुटवलमा परिवर्तन भयो।
बुटवलको नाम प्रचलित हुँदै जाँदा खस्यौली हराउँदै गयो। बुटवलका युवा उद्यमी समुन्द्र घिमिरे विगत डेढ वर्षदेखि बुटवलको पुरानो व्यापारिक पहिचान बोकेको ‘खस्यौली’ बजारको नामलाई पुनर्जीवित गर्ने अभियानमा लागिरहेका छन्।
समुन्द्रका लागि यो व्यवसाय सुरू गर्नु सहज थिएन। विदेशी सामानसँग प्रतिस्पर्धा र उपभोक्तालाई स्थानीय सामानको महत्त्व बुझाउन निकै मिहिनेत गर्नुपर्यो। त्यही बजार अहिले बुटवलवासीका लागि रैथाने स्वाद पाउने भरपर्दो थलो बनिरहेको छ।
यो बजार केवल एउटा व्यापारिक केन्द्र मात्र होइन, यो स्थानीय उत्पादनको सङ्ग्रहालय जस्तै बनेको छ। गाउँघरमा उत्पादित सिन्की, मस्यौरा, कफी, मह, घिउ, गेडागुडी, मकै, कोदो, फापर, सिस्नो, साग, लगायत गाउँघरमा उत्पादित थरिथरिका फलफूल, तरकारी र हस्तकलाका सामग्रीहरू बिक्री वितरण हुँदै आएका छन्।
बिहानै अवलोकनको लागि पुगेका पूर्वअर्थमन्त्री पौडेलले त्यहाँ बिक्रीका लागि राखिएका स्थानीय उत्पादनहरूलाई चाखपूर्वक अवलोकन गरे।
खस्यौली बजारमै पकाइएका फापरको सेल रोटी र चियाको स्वाद लिए। त्यहाँ उनले गाउँघरको माटोको सुगन्ध र नेपाली पसिनाको प्रतिफल भेटे।
पौडेलले अल्लो, गाँजा, सिस्नो, बाँस, निगालो लगायतबाट बनाइएका हस्तकलाका सामग्रीले स्थानीय सीपलाई कसरी बजार दिइरहेका छन् भन्ने कुराको प्रत्यक्ष अवलोकन गरे।
अवलोकनपछि छोटो प्रतिक्रिया दिँदै नेपालको अर्थतन्त्र सुधार्ने साँचो यस्तै साना उद्यमीहरूको हातमा रहेको बताए।
उनले भने– ‘हामीले ठूला उद्योगका मात्र कुरा गर्ने होइन, देशलाई आत्मनिर्भर बनाउने आधार भनेकै यस्तै स्थानीय स्रोत र युवाको पसिना हो।’
झन्डै दुई दर्जन स्टलमा राखिएका गाउँघरका उत्पादन र हस्तकलाका सामग्रीको उत्पादन र बजारको बारेमा पनि चासो राखेका थिए। उनले केवल वस्तु मात्र हेरेनन् ती वस्तुहरू कसरी सङ्कलन गरिन्छ, उत्पादकले कस्तो मूल्य पाएका छन् र बजारमा ग्राहकको प्रतिक्रिया कस्तो छ भन्नेबारे पनि चासो लिए।
अवलोकनका क्रममा पौडेलले देश विकासको मुख्य आधार नै साना तथा मझौला उद्योग र कृषि उत्पादन भएकोले युवाहरूले यसरी नै स्थानीय स्रोत र साधनको प्रयोग गरेर उद्यमशीलतामा जोड दिन आग्रह गरे।
‘खस्यौली बजार सञ्चालन गर्ने युवाहरूको सोच र अभियान बुटवलका युवाहरूको मात्रै सरोकारको विषय होइन, यो त राष्ट्र निर्माणको लागि नयाँ चेतना हो,’ उनले भने।
पौडेलले गौरवपूर्ण इतिहास बोकेको खस्यौली बजार ओझेलमा परेको अवस्थामा त्यसलाई पुनर्जीवित गर्ने काममा लागेको भन्दै आफू सधैँ युवा उद्यमीहरूको साथमा रहने बताए।
खस्यौली बजारमा राखिएका सामग्री पनि गुणस्तरीय पाएको उनले प्रतिक्रिया दिए।
‘मैले अवलोकनको क्रममा यहाँको कुनै पनि चिज कमसल छन् भन्ने लागेन, स्थानीय कच्चा पदार्थमा आधारित सामग्रीको आफ्नै प्रकारको मौलिकता हुन्छ ती सामग्रीमा मौलिकतासँगै गुणस्तरीय समेत भएको पाएँ,’ उनले भने।
युवा उद्यमी तथा खस्यौली बजारका अभियन्ता समुन्द्र घिमिरेले पूर्वअर्थमन्त्री पौडेलले गरेको अवलोकनपछि आफूहरूलाई हौसला मिलेको बताए।
बिहानैको चिसोमा नेता पौडेल टुप्लुक्क खस्यौली बजार पुग्दा समुन्द्र निकै उत्साहित देखिए।
‘हामी त आफ्नो काम गरिरहेका थियौँ, देशको पूर्वअर्थमन्त्री भई सक्नुभएको व्यक्ति बिहानै हाम्रा उत्पादन हेर्न आउनुहोला भन्ने सोचेका थिएनौँ, समुद्रले भने, ‘उहाँको अवलोकनले हामीलाई थप केही गर्ने ऊर्जा र साहस मिलेको छ।’
घिमिरेले विदेश पलायन हुने युवाहरूको भीडका बिच स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ खस्यौली बजारको अवधारणा ल्याएका हुन्।
गाउँका किसानले उत्पादन गरेका वस्तुहरू बजार नपाएर कुहिएर जाने र सहरमा मानिसहरूले विषादीयुक्त खानेकुरा खानुपर्ने बाध्यतालाई चिर्न खस्यौली बजारले पुलको काम गरिरहेको छ।
समुन्द्रका अनुसार, खस्यौली बजारले पहाडी जिल्लाहरू गुल्मी, पाल्पा, अर्घाखाँची लगायत तराईका ग्रामीण भेगका साना किसानहरूबाट सिधै सामान सङ्कलन गर्छ। यसले गर्दा बिचौलियाको अन्त्य भई किसानले उचित मूल्य पाउने र उपभोक्ताले गुणस्तरीय सामान पाउने ग्यारेन्टी भएको छ।
अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रमा स्वदेशी उत्पादनको प्रवर्द्धन र युवा रोजगारी सबैभन्दा ठूला चुनौती बनेका छन्।
यस्तो अवस्थामा राज्यको नीति निर्माण तहमा प्रभाव राख्न सक्ने राजनीतिक नेतृत्वको चासो र प्रोत्साहनले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश जाने घिमिरेले बताए।
अवलोकनपछि पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पौडेलले सरकारले निर्वाचनको वातावरण बनाउने काममा नलागेको आरोप लगाए।
उनले एमाले मुलुकमा उत्पन्न सङ्कट समाधान गरी मुलुकलाई निकास दिने काममा सक्रिय रहेको बताउँदै एमालेले कहिल्यै पनि निर्वाचनमा भाग लिन्न नभनेको दाबी गरे।
‘निर्वाचन लोकतन्त्रको प्राण हो भन्ने कुरामा नेकपा एमाले स्पष्ट छ, हामी भयरहित तरिकाले निर्वाचन होस् भन्ने चाहन्छौँ तर, सरकार त्यो दिशामा हिँडिरहेको छैन,’ उनले भने, ‘भयरहित निष्पक्ष र स्वतन्त्र ढङ्गले निर्वाचन होस् भन्ने कुरामा सरकारको ध्यान नपुगेको देख्दा तोकिएको मितिमा हुन्छ भन्नेमा विश्वस्त बन्ने आधार छैन।’
उनले तोकिएको समयमा निर्वाचन गर्ने हो भने सरकारले निर्वाचनको तयारी राम्रो ढङ्गले अगाडि बढाउन पनि आग्रह गरे।