नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले तीन दशकमा सिकिने कुरा तीन महिनामा सिकेको बताएकी छन्।
बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले पछिल्लो तीन महिनामा धेरै कुरा सिकेको बताएकी हुन्।
‘जेनजी आन्दोलन पछिको तीन महिना तीन दशक जस्तो भएको छ। तीन दशकमा सिकिने कुरा सिकेकी छु,’ उनले भनिन्।
उनले आफूहरू कसैको पनि निजी क्षेत्रमाथि आक्रमण गर्ने चाहना नभएको प्रष्ट्याइन्।
भदौ २३ गते भएको घटनापछि भदौ २४ गते विभिन्न ठाउँमा आगजनी तथा तोडफोड भएको उनले बताइन्।
‘भदौ २३ पछि भदौ २४ गते आएको हो। भदौ २३ गते म पनि स्वयम् सम्भावित मृतक हुँ,’ उनले भनिन्, ‘हामी सबै शान्ति चाहन्छौं।’
यस्तै कुशासनका लागि सबैले आआफ्नो भागको जिम्मेवारी समेत लिनुपर्ने उनले बताइन्।
‘कुशासन किन बढेको हो। सबैले आ- आफ्नो भागक जिम्मेवारी लिएर संक्रमणकालिन अवस्थाबाट निकास दिनुपर्छ,’ उनले भनिन्।