अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धि परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्वभरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताएका हुन्।
उनले लगानीकर्ताको सहजताका लागि एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्नसक्ने सुविधाको विकास गरिसकेको समेत बताए।
नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई उनको आग्रह छ।
सरकारले कर प्रणालीलाई पारदर्शी बनाएको र व्यवसायमा अप्ठेरो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेट मार्फत करका विषयमा सुधार गर्दै जाने उनको भनाइ छ।
उनले निजी क्षेत्रका समस्याहरुलाई सरकारले विस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधाहरु दिदै आएको दाबी गरे।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको ‘कस्ट अफ डुइङ बिजनेस’ अझै पनि उच्च रहेको बताए।
यातायात खर्च बढी हुनु, करका दरहरु उच्च हुनु, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपालको कस्टआफ डुइङ बिजनेस अझैपनि उच्च रहको उनको तर्क थियो। उनले करको दायरा र दरहरु बढाउँदै जाँदा साना उद्योगहरुलाई समस्या परेको बताए।
विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठि दुई दिनसम्म चल्ने छ। कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौति र सम्भावनाका विषयमा विस्तृत छलफल हुने बताइएको छ।