नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई अपमानजनक ढंगले होइन, विधिपूर्वक र सम्मानजनक रूपमा बिदाइ गर्नुपर्ने बताएका छन्।
काठमाडौंको बत्तिसपुतलीस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजित दुई नेताको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति परिवर्तन विद्रोह वा दबाबबाट नभई लोकतान्त्रिक प्रक्रिया र पार्टी विधिबाट हुनुपर्ने बताएका हुन्।
‘पार्टी सभापतिलाई घोक्रेठ्याक लगाएर बिदा गर्ने होइन। उहाँको सेफ र सम्मानजनक एक्जिटको उपाय अहिले नभए वैशाखमा, वैशाखमा नभए असारमा भए पनि सम्मानजनक ढंगले शेरबहादुर देउवा लगायत जो-जो बिदा हुन चाहन्छन्। उहाँहरूलाई सम्मानजनक ढंगले बिदा गर्नुपर्छ,’ उनले भने।
कांग्रेसको ऐतिहासिक योगदान स्मरण गर्दै शर्माले बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र सुशील कोइराला लगायत नेताहरू तथा हजारौं सहिदहरूको रगत, पसिना र बलिदानले पार्टीको इतिहास लेखिएको उल्लेख गरे।
‘यो इतिहासलाई शेरबहादुर देउवा बिदा भइरहँदा काला अक्षरले लेख्दैनौं,’ उनले भने, ‘हामी शेरबहादुर दाइको इतिहास पनि सुनौला अक्षरले लेखेर सम्मानजनक एक्जिट दिन्छौं।’
उनले सम्मानजनक बिदाइ विद्रोहबाट नभई विधिपूर्वक लोकतान्त्रिक प्रक्रियाबाट मात्र सम्भव हुने स्पष्ट पारे।
साथै, पार्टीभित्र नेतृत्व आकांक्षा स्वाभाविक भए पनि अरूले तयार पारेको आधारमा अघि बढ्नु उचित नहुने संकेत गरे।