नेपालको हवाई क्षेत्रमा चीनमा दर्ता भएको जहाज उडेपछि समाजिक सञ्जालमा प्रश्न उठेको छ।
चीनमा दर्ता भएको उक्त जहाज नेपाली हवाई क्षेत्रका कुन प्रयोजनका कसरी उडिरहेको छ भन्ने प्रश्नसहित समाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न उठाइरहेका छन्।
गएको केहीदिनदेखि विशेषगरी नेपालको सगरमाथा क्षेत्रमा चीनमा दर्ता भएको जहाज उडिरहेको फ्लाइट राडारमा देखिएको थियो।
हामीले यसबारेमा नेपालको नागरिक उड्डयन नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रश्न सोधेका थियौं। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने यो चीनको आफ्नै गणना प्रायोजनका लागि यो उडान भइरहेको जानकारी दिए।
उनले यसका लागि चिनियाँ पक्षले अनुमति लिएको र प्रत्येक उडानको समयमा सूचना पनि आदानप्रदान भइरहेको जानकारी दिए।
'चीनले आफ्नो भौगर्भिक सर्भेका लागि यस्तो उडान गरिरहेको छ। उसले यसका लागि नेपालको हवाई क्षेत्रमा पनि प्रयोग गर्ने भएकाले हामीसँग अनुमति पनि लिएको छ।उडानको समयमा सूचना पनि आदानप्रदान भइरहेको छ' पोखरेलले भने।
उनकाअनुसार चीनले आफ्नो सीमाको भौगर्भिक सर्भेका लागि यस्तो उडान गर्ने जानकारी नेपाली पक्षलाई गराएको छ।
'यस्तो सर्भे भारतले पनि गर्छ हामीले पनि गरिरहेका हुन्छौ। त्यसरी गर्दा एकअर्कालाई जानकारी गराउनुपर्छ। त्यो अनुसार उनीहरुले हामीसँग पहिलै स्वीकृति लिइसकेको छ। यो उनीहरुले दुई चरणमा गर्दै छन्। मे १ देखि जुन २० पहिलो चरण र सेप्टेम्बर २० देखि डिसेम्बर अन्तिमसम्म दोस्रो चरणमा गर्छ। मौसम खराब हुँदा उनीहरुले उडान गर्दैनन्। क्लियर मौसममा मात्र गर्छन्। सर्भेका लागि भएका कारण। सीमा नाकाको नापी नक्सा जस्ता कामका लागि यस्तो गरिन्छ। उड्नुभन्दा पहिला र पछि पनि उनीहरुले हामीलाई जानकारी गराइरहेका छन्। क्यान्सिल हुने भएपनि जानकारी गराउछन्' पोखरेलले सेतोपाटीसँग भने।