कोरोना भाइरस महामारीका कारण नेपाली आर्थिक बृद्धिदर ऋणात्मक भएको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको अनुमानअनुसार गएको वर्ष नेपालको कूल ग्राहस्थ उत्पादनको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक भएको हो।
आर्थिक वर्षको पहिलो छ महिनासम्म धनात्मक भएको वृद्धिदर पछिल्ला दुई त्राइमासमा ऋणात्मक भएको थियो। भाइरस संक्रमण न्यूनीकरणका लागि लागू गरिएको लकडाउनले आर्थिक गतिविधि संकुचित बनाएपछि ऋणात्मक भएको विभागले जानकारी दिएको छ।
तेस्रो त्राइमासमा २ प्रतिशतले ऋणात्मक भएको वृद्धिदर अन्तिम त्रइमासमा १५ प्रतिशतले ऋणात्मक भएको थियो। समग्रमा गएको वर्ष जिडिपीको बृद्धिदर १.९९ प्रतिशतले घटैको छ।
नेपालमा आर्थिक बृद्धिदर ४१ वर्षपछि ऋणात्मक भएको हो। यसअघि सन् १९७९/८० मा १.३ प्रतिशतले ऋणात्मक भएको थियो। त्यसपछिका द्वन्दको अधविमा पनि नेपालमा आर्थिक बृद्धिदर ऋणात्मक भएको थिएन।
२०७२ सालको भुँइचालोको समयमा पनि नेपालको आर्थिक वृद्धिदर शून्य रहेको तथ्यांक विभागको तथ्यांकले देखाउछ। ऋणात्मक प्रतिशत भने यो सन् १९७९ को भन्दा पनि बढी गएको वर्ष कायम भएको छ।
पुनरागमन हुँदै अर्थतन्त्र
विभागकाअनुसार गएको वर्ष लकडाउनका कारण अर्थतन्त्र ऋणात्मक भएर अन्तिम त्राइमासमा १५ प्रतिशतले ऋणात्मक भएको थियो। तर चालु वर्षको पहिलो त्राइमासमा पनि ४ प्रतिशतले ऋणात्मक छ।
तर १५ प्रतिशतबाट चार प्रतिशतमा झरेको र पछिल्लो समय आर्थिक गतिविध बढ्दै गएकाले दोस्रो त्राइमासमा वृद्धिदर सुधार हुने विभागको अनुमान छ।