नेपाल आर्थिक पत्रकार समाज (सेजन) संस्थामा आवद्ध आफ्ना सम्पूर्ण सदस्यका लागि स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा गराइएको छ।
सेजनले प्रत्येक सदस्यलाई एक लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमासहित कुल सात लाख रूपैयाँ बराबरको सामूहिक दुर्घटना बीमाको कभरेज उपलब्ध गराएको हो।
स्वास्थ्य तथा दुर्घटना बीमाको लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा बीमा पोलिसी हस्तान्तरण गरेकी हुन्।
सम्झौता कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिइओ अञ्जु श्रेष्ठले सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बीमा सेवा दिन पाउनु खुसीको विषय भएको बताइन्।
उनले सबै नेपालीलाई बीमाको दायरामा ल्याउन आवश्यक रहेको धारणा राख्दै बीमाको महत्त्वबारे अझै नागरिकलाई पर्याप्त रूपमा बुझाउन नसकिएको उल्लेख गरिन्।
'बीमा गर्दा हुने फाइदा राम्रोसँग बुझाउन नसक्दा क्षति न्यूनीकरण हुन सकेको छैन,' उनले भनिन्, 'आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूको छाता संगठनको हैसियतले सेजनले बीमाको महत्त्व र फाइदाबारे सर्वसाधारणलाई बुझाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।'
सेजनले सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमार्फत करिब १५ करोड ९६ लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमा गराएको अध्यक्ष भट्टराइले बताए।
स्वास्थ्य बीमा योजनाअन्तर्गत सेजनका सदस्यले अस्पताल भर्ना हुने बित्तिकै बीमाको सुविधा पाउनेछन्।
बीमाले माइनर सर्जरीका लागि १५ हजार रूपैयाँ, आकस्मिक सर्जरीका लागि ३० हजार रूपैयाँ र ठूला सर्जरीका लागि ४० हजार रूपैयाँसम्मको कभरेज प्रदान गर्नेछ।
यसका साथै अस्पतालमा भर्ना भएपछि लाग्ने बेड चार्ज, चिकित्सक शुल्क तथा औषधि उपचारसम्बन्धी खर्चसमेत बीमा कभरेजभित्र समेटिने उल्लेख छ।
सामूहिक दुर्घटना बीमा अन्तर्गत सेजनका सदस्यले दुर्घटना एक मात्र प्रत्यक्ष कारणबाट शारीरिक क्षति भएमा अधिकतम सात लाख रूपैयाँसम्मको कभरेज प्राप्त गर्नेछन्।
दुर्घटनाका कारण अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चका रूपमा पनि सात लाख रूपैयाँसम्मको सुविधा उपलब्ध हुने सेजनले जनाएको छ।
यो बीमा पोलिसी कार्यान्वयनमा आइसकेको छ र अबको एक वर्षसम्म संस्थामा आवद्ध सम्पूर्ण सदस्यले यसबाट लाभ लिन सक्ने उल्लेख गरिएको छ।