भोटेकोशी बाढीका क्रममा उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याएका दुई नेपाली ग्राहकलाई जेसिबी इन्डियाले सम्मान गरेको छ।
सम्मानित हुनेमा नेपाली ग्राहकद्वय ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारी रहेका छन्।
उनीहरूलाई भारतमा आयोजित कन्एक्सपो इन्डिया २०२६ का क्रममा जेसिबीको प्याभिलियनमा सम्मान गरिएको हो।
कार्यक्रममा जेसिबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले राउत र अधिकारीको उद्धार प्रयासको प्रशंसा गरेका थिए।
हालै नेपालमा आएको बाढी तथा पहिरोका क्रममा राउत र अधिकारीले जेसिबी २२१ ट्र्याक्ड एक्साभेटरलगायतका मेसिन प्रयोग गरी त्रिशूली–३ए जलविद्युत आयोजना क्षेत्रमा लगातार उद्धार कार्य गरेका थिए।
उनीहरूको प्रयासबाट त्यहाँ फसेका दुई जनालाई जीवितै उद्धार गर्न सफल भएको कम्पनीले जनाएको छ।
सम्मान कार्यक्रममा जेसिबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत शेट्टीले नेपालमा देखिएको विपद्को अवस्थामा राउत र अधिकारीको प्रयासले आशा जगाउने काम गरेको बताए।
उनले ठूलो जोखिम मोलेर उद्धार कार्यमा खटिए पनि दुवै जना सरल र विनम्र रहेको उल्लेख गरे।
यसैबीच, नेपालमा बाढी तथा अन्य विपद्पछि उद्धार, राहत र पुनर्निर्माणमा प्रयोग भइरहेका जेसिबी मेसिनलाई लक्षित गरी एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा विशेष निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरिरहेको जनाएको छ।
जेसिबी मोबाइल सर्भिस गाडीमार्फत सञ्चालन भइरहेको उक्त क्याम्पमा विपद् प्रभावित क्षेत्रमा खटिएका मेसिनको आवश्यक प्राविधिक जाँच तथा सर्भिस प्रदान गरिने कम्पनीले जनाएको छ।
जोखिमपूर्ण परिस्थितिमा उद्धार तथा पुनर्निर्माणमा खटिएका मेसिन अपरेटरहरूलाई सुरक्षा किटसमेत वितरण गरिएको बताइएको छ।
नेपाल बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला ग्राहक तथा अपरेटरलाई आवश्यक सहयोग जारी राख्ने एमएडब्लू अर्थमुभर्सले जनाएको छ।
२३ वर्षदेखि जेसिबीको सेवा
एमएडब्लू अर्थमुभर्स नेपालमा जेसिबी निर्माण तथा अर्थमुभिङ उपकरणको आधिकारिक डिलर हो।
कम्पनीले नेपालमा २३ वर्षभन्दा बढी समयदेखि सेवा दिँदै आएको जनाएको छ।
कम्पनीका अनुसार देशभर उसका ३० भन्दा बढी शाखा र २०० भन्दा बढी सर्भिस इन्जिनियर रहेका छन्।
यी संरचनामार्फत नेपालभरका १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ।