चितवनको सौराहमा पाँचतारे डिलक्स होटल रोयल टुलिप चितवन सञ्चालन गरिरहेको केटिएम हस्पिटालिटी तेस्रो वर्षमा प्रवेश गरेको छ।
कम्पनीले शुक्रबार काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
साधारण सभाका अवसरमा कम्पनीको वर्तमान अवस्था र आगामी योजनाबारे शेयरधनीलाई जानकारी गराएको थियो।
सभामा कम्पनीका अध्यक्ष रामेश्वर शाहले होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि व्यवसायले गति लिन थालेको बताए।
सञ्चालनमा आएको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको आगमन राम्रो रहेको जानकारी दिँदै उनले होटलले एक वर्षभित्रै ऋणको दायित्व र ब्याज भुक्तानी गर्न थालेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको दायित्वसमेत असोजमै भुक्तानी गरिएको उनले जानकारी दिए।
होटलले पर्यटन विभागबाट पाँचतारे डिलक्स होटलको मान्यता पाएको छ।
परीक्षणकालको सुरुआतमै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनबाट तीनतारा (क) अर्थात् अतिउत्तम खाद्य स्वच्छता स्तरको वर्गीकरणसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
यो वर्गीकरण पाउने चितवनको पहिलो पाँचतारे डिलक्स होटल भएको कम्पनीको दाबी छ।
यसैबीच, कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाएको हो।
बोर्डमा दिएको निवेदन स्वीकृतिको चरणमा रहेको कम्पनीले जनाएको छ।
अनुमति पाएपछि कम्पनीले कुल १५ करोड ५० लाख रूपैयाँबराबरको आइपिओ जारी गर्नेछ।
राप्ती नदीको नजिकै जनकौली र कुमरोज सामुदायिक वनको छेउमा रहेको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्।
रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत सुविधा छन्।
त्यस्तै, रिभल्भिङ रेस्टुरेन्ट पनि सञ्चालनमा छ।
रिसोर्टको निर्माण तथा सजावटमा स्थानीय सामग्रीको व्यापक प्रयोग गरिएको छ।
काठका फर्निचर, ढुंगा, टायल, जुटका गलैंचा, काठमा गरिएका पेन्टिङ, स्थानीय सजावटका सामग्री र मान्द्राजस्ता वस्तुले रिसोर्टमा नेपालीपन झल्काउने प्रयास गरिएको छ।
अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँग व्यवस्थापकीय सम्झौता गरेर होटल सञ्चालन भइरहेको छ।
कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरेको थियो। अहिले रिसोर्ट पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो।
रोयल टुलिप चितवनले यस क्षेत्रलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र स्थानीय पर्यटन उद्योगमा सकारात्मक योगदान पुर्याउने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।