स्कुल पढ्दा विद्यालयको मासिक शुल्क तिर्न दुईतीन महिना ढिला हुदा प्रधानाध्यापक कक्षामा आएर समयमै शुल्क तिर्न ताकेता गर्नुहुन्थ्यो । तपाईहरुले समयमै शुल्क नतिर्दा स्कुलको पठनपाठमना असर पर्छ भनेको अझै सम्झन्छु म । उहाँले भन्ने एउटा रोचक वाक्य चाहि प्राय दोहोरिरहन्थ्यो ।
उहाँ भन्नुहुन्थ्यो ‘आज तपाईहरुले लगानी गरेको पैसाको फल भोली प्राप्त हुन्छ । सम्झनुहोस आज तपाइहरुले चर्न पठाउनुभएको छ । जसरी घरमा पालेका बस्तुभाउ दिनभरि चरेर बेलुका घर फर्किन्छ, त्यसैगरि तपाईहरुले लगानी गरेको पैसा भोली तपाईहरुले पाउनुहुने छ ।’
त्यसको तात्पर्य, राम्रोसंग पढ्यौ भने भविष्यमा जागिर खाएर पैसा कमाइहालिन्छ भन्ने नै हो । कुरा ठिकै हो । कुनै एउटा क्षेत्रमा दक्षता पाएपछि शहरमा अवसरको के खाँचो । जागिर त पाइहालिन्छ ।
सामुदायीक अवधारणमा सञ्चालित विद्यालय थियो त्यो । स्कुलमा भर्ना भएका विद्यार्थीका अभिभावक सबै स्कुलका साधारण सदस्य हुने व्यवस्था थियो । निश्चित शुल्क तिरेपछि सञ्चालक समितिको सदस्य हुने स्कुलको विधानमा थियो ।
सञ्चालक समितिको अध्यक्ष चाहि सञ्चालक समितिका सदस्यहरुबाट चुनिने व्यवस्था थियो ।
शैक्षिक गुठिका रुपमा दर्ता भएको विद्यालयको प्रशासनिक लगायत शिक्षकहरुको तलब व्यवस्थापन विद्यार्थीहरुबाट संकलित मासिक शुल्क नै थियो । भवन र जग्गा विद्यालयको आफ्नै निजी थियो । समयमै शुल्क उठ्दा विद्यालय घाटामा जान्छ जस्तो मलाई लाग्दैनथ्यो । समयमै मासिक शुल्क तिर्नु हाम्रो कर्तव्य थियो ।
२०४७ सालमा माओबादिका केन्द्र तथा जिल्लास्तरीय नेताहरुले स्थापना गरेको विद्यालय भएतापनि सबै राजनीतिक आस्था राख्ने अभिभावकहरुका लागि स्कुला खुल्ला थियो । मेरा साथिका बाआमा राज्यका विभिन्न तह र तप्कामा काम गर्दथे । भन्नेहरुचाइ यो स्कु्ल माओबादिको स्कुल हो भन्थे ।
सामुदायीक अवधारणमा सञ्चालीत विद्यालय स्थापनाको सुरुदेखिनै अंग्रेजी माध्यममा पढाइ हुने जिल्लामै पहिलो आवासीय विद्यालय थियो ।
पछि सदरमुकाम लगायत आसपासमा निजी विद्यालय खुल्न थाले । मैले २०६१ सालमा एसएलसी दिने बेलासम्म सदरमुकाममा मात्रै छ सातवटा निजीस्रोतमा सञ्चालीत आवासीय विद्यालय स्थापना भैसकेका थिए ।
विद्यालयमा तिर्नुपर्ने मासिक शुल्क धेरै नभएपनि, मेरो मासिक चार पाँचसय मासिक शुल्क तिर्नलाइ केहि समय पक्कै लाग्थ्यो । बुवा नछुटिञ्जेल हाम्रो पढाई खर्च ठुलोबुवाले तिर्नुहुन्थ्यो । बुवा छुट्टिएपछि चाहि बुवाले तिर्नुपर्ने भयो।
हाम्रो घर गाँउमा थियो । म सदरमुकाममा ठुलोबुवाको घरमा बसेर स्कुल पढ्थे । बुवा एक दुई महिनको अन्तरमा बजार आउदा मेरो स्कुलको मासिक फि तिरिदिएर जानुहुन्थ्यो ।
बुवाले धान, मकै, गौहु, घिउ लगायत घरमा खाएर बचेको खाद्य बेचेर मेरो विद्यालयको शुल्क तिरिदिनु हुन्थ्यो । म स्कुल पढदा विपि राजमार्गको सिन्धुली–खुर्कोट सडक खण्ड धामाधम बन्दै थियो । ठेकेदारलाई मिठो मसिनो चाहिने । बुवालाई पैसा चाहिया । चामल, तरकारी, घिउ, सबै बिक्रि हुने ।
बाटामा लगेपछि गुन्द्रुक पनि विक्रि हुन्छ भन्थे बाटामा काम गर्ने हाम्रो गाँउका दाजुहरु ।
आफूले नखाएरै ठेकेदारलाई लगिदिएको दही बाटोमा चिप्लिएर पोखिएपछि दहि र दुध बोक्न छोडिदिए भन्नुहुन्थ्यो ।
स्कुल बिदामा गाँउ जदा बुवाको भनाई हुन्थ्यो , गाँउको फलानो काठमाडौंमा यति हजार कमाउछ । तिमिहरुलाई यत्रो लगानी गरेर पढाएको छ । पहिलो दोस्रो हुनु त कता हो कता । पास मात्रै हुन्छौ । खै, के गरेर खान्छौं, ऐलेसम्म हसिया समात्न जानेको छैन ।
त्यो बेला म निरुत्तर हुन्थे । के उत्तर दिने थाहै हुदैनथ्यो । एकछिन पछि खेतामा पानी हेर्न हुन्छकी गोरु बाख्रा चराउन पाखातीर लागेपछि बुवाले भनेका कुरा विर्सिहालिन्थ्यो । बिदा सकिएछि स्कुल गयो । स्कुलको दैनिकिमा व्यस्त ।
जिन्दगीमा के बन्ने भन्ने योजना बीना नै क्याम्पसको अध्ययन सकियो । मानविकी संकाय पढियो । त्यसमा पनि आलोचना बढि गर्ने पत्रकारिता पढियो । न गतिलो जागिर खाइयो न लोकसेवा पढ्ने मन गरियो । निजि संस्थामा अस्थायी जागिर खाएर दिन काटियो ।
बुवाले भन्ने गरेको फलानाले थाप्ने जति तलब त थापियो । तर , महिनाभरि काम गरि कमाएको पैसा शहरमै बुझाइयो ।
जिन्दगीमा शहरिया अनुभव मात्रै कमाइयो । बाले खेती किसानी गरेर घर व्यवस्था चलाए ।
दुई टुक्रा घडेरी कमाए ।
नातागोता कमाए ।
दुईचार पैसा कमाएर व्याजमा लगाए ।
मैले आज कमाए । भोली गुमाए । मैले पानीको बीलमा गुमाए ।
फोहरको बीलमा गुमाए ।
तरकारीको बीलमा गुमाए ।
बिजुलीको बीलमा गुमाए ।
फ्ल्याटको बीलमा गुमाए ।
कहिलेकाही वाइन र ह्स्किीको बीलमा गुमाए ।
हो, शहरमै कमाए । शहरमै बुझाए ।