लुगा पनि किन मलाई सेतै मन पर्छ!
सहर बजारभन्दा पनि खेतै मन पर्छ !!
आत्मीयता भएको ठाउँ यतै मनपर्छ !
जन्मि हुर्कि बढेको ठाउँ त्यतै मन पर्छ !!
आफ्नोपन मन मिल्ने सबै त्यतै छन्!
कर्म थलो कमाई खाने फेरि यतै छन्!!
गाउँ घरमा प्रकृतिले मनै मुग्ध पार्छन्!
आफन्तले सहरमा बोलिसम्म बार्छन्!!
सहर भन्ने ठाउँ नै कस्तो रहर मात्रै धेरै !
बस्नु पर्ने रहर होईन बाध्यता हो मेरै !!
खेती योग्य जमिन पनि गई सके खेरै !
सम्झि चित्त बुझाउनु छ के गरौं र बरै !!
कफ्लेनिको म्याल डाँडा आँखै वरिपरी !
सपनिमा कहिले काहिं पुग्छु घरिघरी !!
बरेल्डाँडा माथि बसि नियाल्नु छ मैले !
छिटो गरि त्यो ठाउँमा जाने होला कैले !!
बनैभरि काफल अनि तिजु पाकिराछ !
एेंसेलु अनि चौतारी त लटरम्मै भाछ !!
बन जंगल घना भई बाँदर लाकेा छरे !
मृग कालिज नडराई घरै आउँछन अरे !!
बुढा भाका बा आमाले दुख गर्नु हुन्छ !
गाउँमै बस्ला भनि छोरो भर पर्नुहुन्छ !!
मेरो पनि मन थियो खेत बारी डुल्ने !
सानो तिनो ईलम गरि त्यतै तिर भुल्ने !!
के को लागि भुलिराछु अत्तो पत्तो पाईन !
देश छोड्न मन नलागि कतैपनि गईन !!
फर्कि जान्छु गाउंमै अब केहि गर्नु पर्यो !
शहरको धोको पुग्यो गर्नुसम्म गर्यो !!