कविता
महाराज जुद्ध शमसेर,
आइबक्स्योस् मालिक!
कहाँनेर उभ्याऊ हजुरको शालिक?
'म यहाँ किन ल्याइए?' भनेर
बाटोमा हिँड्ने बटुवा, विद्यार्थी या अरु कसैलाई
हजुरले नसोधिबक्सेला
हजुरले सिर्फ बेला बेलामा
आफ्नो गर्जन दिइबक्सेला
आफ्नो हुकुम दिइबक्सेला
'यस्तो छाडातन्त्र चल्दैन' भनिबक्सेला।
मालिक,
हजुरले 'यो कुन ठाउँ हो?' नभनिबक्सेला
छक्क नपरिबक्सेला, (उतिबेला थिएन पनि)
यो विश्वविद्यालय हो
विश्वकै सोच राखेर पढाई हुने
राष्ट्रको आँखा
समाजको गहना
सभ्यताको सूचक
विचारको पुञ्ज
बहसको चौतारी
भविष्यको निर्माता
अनुसन्धानको कारखाना
अग्रगतिको इञ्जिन ...
(कठै, हेरिबक्स्योस् त ब्याक-गियरमा लम्पसार परी बसेको!)
मालिक!
'यहाँ मेरो के काम?' नभनिबक्सेला
हजुरको हुकुमी राज टुटेको
सत्तरी सालपछि पनि
यहाँ उसरी नै हुकुम चल्छ
एउटा निरीह प्राणीलाई सिंहासनमा राखिदिएर
सिंहदरबारले उसरी नै नायवी चलाउँछ
र कुत असुल्छ,
उतिबेलाका भाइ भारदारहरूको जस्तै
यहाँ पनि भागबन्डा र कटाक्ष चल्छ,
र चल्छ - बाहुबलीहरूको बलमिच्याइँ,
फरक अलिकति मात्रै छ,
भारदारहरूले जिउमा या कतै लुकाइराखेको
खुँडा, खुकुरी, भाला या अरु कुनै हतियारको साटोमा
एउटा भुत्ते ताला हुन्छ सबैको खल्तीमा
र त्यसैको सहारामा,
कुनै धूर्त लालचीको इशारामा
कसैसँग बदला लिने आत्महत्याको शैलीमा
'यहाँ वर्षमा तेह्र महिना तालाबन्दी हुन्छ' भनें भने पनि
हजुरले अट्टहासको हाँसो नहाँसिबक्सेला,
अपत्यार नगरिबक्सेला,
मालिक!
म सुटुक्क भन्छु हजुरलाई
उनीहरू दावा गर्छन् आफूलाई
उनै विश्वेश्वर र पुष्पलालका अनुयायी!
मेरो बिन्ति छ मालिक,
हजुर शालिक भए पनि
(यो मास्क हटाएर)
मालिकले झैं बोलिदिन पर्यो बेला बेलामा
गर्जिन पर्यो गगनभेदी स्वरमा
बोल्न नसक्नेहरूको आवाज
र सुनाइरहन पर्यो अटेरलाई पटक पटक
चार भन्ज्यांग कटाइदिने त्रास!
यहाँ ताला खोल्ने हिम्मत कसैको नभएरै
मैले हजुरलाई गुहारेको हुँ
यहाँ सत्य बोल्ने हिम्मत कसैको नभएरै
मैले हजुरलाई पुकारेको हुँ।