बि.ए पहिलो वर्ष पढ्दा उसलाई क्याम्पसमा भेटेको हो मैले।
विषय एउटै भएकोले सधैं कक्षामा भेटघाट हुन्थ्यो। सुरू–सुरूमा औपचारिकता मात्र थियो। नजिक हुन उसैले मरिहत्ते गरी। नोट कपी माग्ने निहुँ गर्थी। क्यान्टिनमा खाजा खान जान कर गर्थी। ‘नाइँ’ भन्न सक्दिनथेँ। सरले पढाइरहँदा कर्के नजरले लुकिलुकी हेर्थी। पगाली छोडी। पग्लिएँ म। चौथो वर्ष पुग्दासम्म मन जिती उसले। बडेमानको काल्पनिक महल बनायौँ मिलेर।
दुवैतिरका परिवारमा हाम्रोबारे थाहा थियो। एक–अर्काको घरमा आउजाउ थियो। विदेशिने भिडबाट अलग हुन सकिएन। परिवारकै सल्लाहमा अस्ट्रेलिया जाने प्रक्रिया अगाडि बढायौँ। तर दुःखको कुरा, उसको भिसा आयो। मेरो आएन। अस्ट्रेलिया जानुअगाडि दुई परिवारको सहमतिमा सानो वैवाहिक कार्यक्रम सम्पन्न भयो। विवाहलगत्तै अस्ट्रेलिया उडी ऊ। चाहिने खर्च मेरै परिवारले हाल्यो। बुहारी अस्ट्रेलिया भनेर परिवार दंग परे। नाक फुलाए।
अस्ट्रेलिया जान मैले पनि कोसिस जारी राखेँ तर भिसा रिजेक्ट भइरह्यो। बुहारी अर्थात् मेरी श्रीमती उषासँग परिवारको निरन्तर सम्पर्क थियो र मेरो पनि। फोन र अनलाइनमा माया खन्याउथी। झन्डै दुई वर्ष यसरी नै बिते। कोरोनाका कारण ऊ नेपाल फर्कन सक्दिनथी। बोलाउनु पनि कसरी? बल्ल–बल्ल पुगेकीलाई।
कोरोनाको अत्यासलाग्दो अवधि कम भएपछि अस्ट्रेलिया सरकारले जनशक्ति अभाव भएको भन्दै नेपाल लगायतका मुलुकबाट तत्काल जनशक्ति आपूर्ति गर्ने निर्णय गर्यो। फलस्वरूप मेरो पनि भिसा लाग्यो। छोरा–बुहारीसँगै हुने भए भनेर घर–परिवारमा खुसीयाली छायो। छोरा–बुहारीको घरव्यवहार बिग्रेला भन्ने चिन्ताबाट परिवार मुक्त भयो। अस्ट्रेलियामा श्रीमती उषासँगै रमेको कल्पना गरेँ मैले।
परिवारले धुमधामका साथ त्रिभुवन विमानस्थलबाट अस्ट्रेलिया बिदाइ गरे मलाई। जहाजमा चढ्नेबित्तिकै उषालाई अनलाइन च्याट गरेँ। सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने समय बताएँ। 'आई. एम. वेइटिङ यु' भन्दै लभ साइन पठाई। पुष्प गुच्छा दिएको दृश्य आँखा अगाडि आयो। सुन्दर सपना सजाउँदै हवाई यात्रा गरेँ।
जहाज पहिलो पटक चढेर होला, लखतरान भएँ। जहाज लाग्यो मलाई। जहाजमा अस्ट्रेलिया जाने अरू पनि नेपाली प्रशस्त हुँदा रहेछन्। त्यसले धेरै भरोसा भयो। प्लेन पुग्ने समय राति थियो। प्लेन ल्याण्ड गर्यो। झरेर अरूसँगै निस्किएँ। प्रतीक्षालयमा कुरेकी होला मेरी माया भनेर परसम्म आँखा तन्काएँ। पर्खेर बसेँ। देखिनँ। अनलाइन–अफलाइन कतै सम्पर्क भएन। अब के गर्ने? होस गुम्ला जस्तो भयो। छाँगाबाट खसेझैँ भएँ! यस्तो हुन सक्ला भन्ने कल्पना कहिल्यै गरिनँ।
सँगै आउनेहरू गन्तव्यतिर लागे। लगातार फोन गरिरहेँ। फोन अफ थियो। फेरि अनलाइनमा म्यासेज छोडेँ। त्यो पनि रिप्लाइ भएन। साँच्चिकै फसादमा परेँ! यता घरबाट ‘बुहारीलाई भेटिस्?’ भन्ने म्यासेज आइरह्यो। के भन्नु र कसो भन्नु भयो। के भयो होला उषालाई? एयरपोर्टमै रन्थनिएँ। घर–परिवारलाई उषा लिन नआएको खबर गरेँ। सबै आत्तिए।
'चिन्ता नगर्नू, म व्यवस्था गर्छु' भनेर ढाडस दिएँ। तर के व्यवस्था गर्नु? आफै ढलूँला जस्तो भयो। परिबन्ध थियो वा नियत थियो, पत्ता लगाउन सकिनँ।
प्रतीक्षा व्यर्थ भयो। तर पनि बसिरहेँ। अरू विकल्प तत्काल थिएन। घण्टौँपछि चिनेको साथीलाई उद्धार गर्न हारगुहार गरेँ। साथी आयो। सपनाहरू सबै एकैपटक हुरीले उडायो। करोडपतिबाट एकैपटक सडकमा पुगेको आभास भयो। तासको महलझैँ सपनाहरू गर्ल्याम–गुर्लुम ढले। साथी दीपेशलाई घटना सुनाएँ। श्रीमतीले एयरपोर्टमा लिन आउँछु भनेर छ्क्याएको बेलिबिस्तार लगाएँ। सिनेमाको कथाभन्दा कम छैन घटना। साथीले उद्धार गर्यो मलाई। बिस्तारै सम्हालिँदै गएँ। त्यो पापिनीलाई खोज्ने र बुझ्ने प्रयास कहिल्यै गरिनँ। एकाएक मनकी रानीबाट खलनायक बनी ऊ। २ वर्षसम्मका दुःख र संघर्षका कथा कम्ती थिएनन्। भनी साध्य छैन। संघर्षका कथाहरू लेख्दा सिङ्गो उपन्यास बन्छ। भो, लेखिनँ यहाँ। जसले गर्दा अर्को बिहे सोच्नै भ्याइनँ।
दिनको १८ घण्टासम्म काम गरेँ। पैसा बचाएँ। कहालीलाग्दो अवस्था पार गरेपछि एक पटक बीचमा नेपाल आएँ। अस्ट्रेलिया फर्किएपछि केही ऋण र आफ्नो बचतबाट रेष्टुरेन्ट खोलेँ। नाम थियो 'सगरमाथा भान्साघर'। कामदार नेपाली र इन्डियन थिए। एकाएक भान्साघर प्रचलित भयो। खुब चल्यो। अन्य शाखा विस्तार गर्ने आँट पलायो। थप शाखाका लागि 'कर्मचारी आवश्यकता' भनेर भान्साघरको मेनगेटमा सूचना टाँसेँ। अनलाइन मिडियामा पनि दिएँ विज्ञापन।
सूचना टाँसेको भोलिपल्टदेखि जागिर खोज्नेहरू आउन थाले। आउनेहरू अधिक भारतीय, नेपाली र पाकिस्तानी थिए। आएकाहरूलाई अन्तर्वार्ता लिँदै पठाएँ।
‘छानिनुभयो भने फोन आउँछ है’ भनेँ मैले। तोकिएको समयसीमाको अन्तिम दिन धेरै एप्लिकेन्ट आए। अलि बेफुर्सद भएँ म। कार्यकक्षमा 'गुड मर्निङ सर' भनेको आवाज आयो। अन्तर्वार्ता लिएकाको लिस्ट हेर्दै थिएँ। 'गुड मर्निङ' फिर्ता गरेँ मैले। बस्न अनुरोध गरेँ। बसी ऊ।
कोरोना महामारीको त्रास अझै बाँकी थियो। सावधानी अपनाउन सरकारले अनुरोध गरेको थियो। त्यसैले 'एन–९५' मास्क लगाएको थिएँ। अलि विशेष खालको हुन्छ त्यो। आधा अनुहार ढाक्ने ठूलो र सुरक्षित मास्क मानिन्छ। डरले त्यही लगाएको थिएँ। हातको इसाराले बायोडाटा मागेँ। दिई उसले। बायोडाटा हेर्नासाथ झस्किएँ म। अनुहारतिर हेरेँ। उही हो कि जस्तो लाग्यो! तर यकिन भइनँ। मास्क खोल्न अनुरोध गरेँ। स्वाट्ट एकैपटक मास्क खोलेँ मैले पनि। मास्क खोल्नेबित्तिकै जुरूक्क उठी ऊ। अनुहार अमिलो–पिरो बनाई। एकोहोरो भएर हाउभाउ हेरिरहेँ। अन्तर्वार्ता लिएकै थिइनँ। 'जान सक्छु?' भनेर अनुमति मागी। ठूलो स्वरमा 'गेट आउट' कराएँ म। गई ऊ।
ऊ गएपछि धेरै कुरा घोत्लिएँ। बि.पी. कोइराला र सिग्मन्ड फ्रायडका साहित्य पढेको थिएँ मैले। मान्छेलाई गाँस, बास, कपास जत्तिकै यौनको भोक हुन्छ। हरेक जवान मान्छेले यौनको बारे हरेक दिन सोचिरहेको हुन्छ। सायद उषालाई पनि त्यही भयो कि! मेरो भिसा लाग्ने/नलाग्ने उसलाई ठेगान भएन होला। लामो समय एक्लो र सहाराविहीन जीवनले उसलाई सतायो कि? उषाको मनस्थितिबाट पनि सोचेँ मैले। बदला भाव एकाएक शान्त भयो। जागिरका लागि उसलाई बोलाउने निर्णय गरेँ। अर्को दिन फोन गरेँ। फोनमै रोई। माफी मागी मसँग।
'के तपाईंलाई एक्लै भेटेर म मेरो विवशता बताउन सक्छु?' अनुमति दिएँ मैले। भेट्न आई। उसले भनी—'एक्लो जीवन बिरानो मुलुकमा जिउनै सकिनँ। टिक्नै सकिनँ। त्यसैले सहारा खोजेँ।' सुन्दै गएँ म। भन्दै गई ऊ।
'मलाई त्यो बेइमानले मोहनी लगायो कि क्या हो? फुत्किनै सकिनँ। जीवनमा पहिलो पटक दोधारमा परेँ। अन्तत तपाईंलाई एयरपोर्टमा लिन जान सकिनँ।' तर दुःखको कुरा, आज 'म एक्लै छु। नितान्त एक्लो। चार वर्ष लिभिङ टुगेदरमा बसेँ। जड्याहा रहेछ। हरेक दिन पिएर आउथ्यो। पिएर आएपछि हरेक दिन क्यारेक्टरमाथि प्रश्न उठाउँथ्यो। अरूकी श्रीमती होस भनिरह्यो। त्यसैले ऊसँग बस्न सकिनँ। छोडिदिएँ।’
'मर्न सकिनँ! बिरानो देशमा संघर्ष गर्दैछु। बाँच्नका लागि जागिर खोज्दै छु। संयोग पनि कस्तो? तपाईंकोमा आइपुगेँ। सक्नुहुन्छ भने माफ गर्नुस्। पहिले मैले रिजेक्ट गरेँ, अहिले तपाईंको पालो…!' जाऊँ भनेर अनुमति मागी उसले। टाउको हल्लाएँ। बोल्न सकिनँ।
'यस्तो नि जिन्दगी... तेरो चर्खा पनि अचम्मको छ। ऊ गई। घोत्लिएर बसिरहेँ म!