मैले भनेकै हुँ
माया,
अगाडि नबढम्
मलाई माया गर्न आउँदैन
मायाको बाटोमा फूल छर्न आउँदैन
मैले भनेकै हुँ
मेरी आमाले मेरो बुवाको स्याहार गरेझैँ
तिम्रो सेवा र सुसार
म गर्न सक्दिनँ
साँच्चै भनूँ भने
म त्यो सोच्न पनि सक्दिनँ
मेरी आमाले कर्तव्य निभाए झैँ
तिम्रो माता-पिताको
म सत्कार गर्न सक्दिनँ
मैले भनेकै हुँ
ममा एउटी पूर्ण गृहिणीको गुण नखोज
म मेरी आमा झैँ बन्ध्या हुन सक्दिनँ
म प्रशस्त अल्लारिन चाहन्छु
म प्रशस्त बरालिन चाहन्छु
प्रिय, मलाई माफ गर
मैले भनेकै हुँ
म मेरी आमाले जस्तै
तिम्रा लागि
या अरू कसैका लागि
यो जीवन बाँच्न सक्दिनँ।