नेताजी, आउनुस् न फोटो खिचौँ
चुनाव आयो
तपाईं झुल्किनुभयो
हाम्रो आँगनमा
पाइला टेक्नुभयो
सायद तपाईंको क्यामेराले
भित्तामा फूलको हारसहित टाँसिएको
छोराको ‘देश बनाउने’ सपना
कैद गर्ला।
आउनुस् न
हात मिलाऔँ
अङ्कमाल गरौँ
तपाईंका क्यामेराका क्यानभासमा
मेरा आँसु र तपाईंका मुस्कान साटौँ
भलै झुटा हुन्
सपनाका धुमिल आकृति टिपौँ
नेताजी, आउनुस् न फोटो खिचौँ।
टिस्टा हराउँदा
काँगडा मिचिँदा
खाडीको तातो मरुभूमिमा
पसिना र रगत सिँचिँदा
तपाईं भ्रष्टाचारमा आहाल खेल्दै
नातावाद र कृपावादको
ताली र ढोल बजाउँदै हुनुहुन्थ्यो
तै पनि आउनुस्
सायद सिमानाको यो खोँच पनि
तपाईंको फ्रेममा पर्ला
भाषणमा भन्न सजिलो होला
‘म त गाउँमै काम गरेँ’
‘म त जनताका लागि काम गरेँ’
त्यसैले,
नेताजी… आउनुस् न फोटो खिचौँ।