एकजना मानिस घना जंगलमा दगुर्दै थियो। साँझ परिसकेको थियो, त्यसैले उसले अन्धकारमा कुँवा देखेन र ऊ त्यसमा लड्यो। लड्दा लड्दै एउटा रुखको निहुरिएको हाँगो उसको हातमा आयो। धन्न कुँवामा खस्नबाट बच्यो।
तर जब उसले तल हेर्यो, उसका आँखा च्यातिए किनभने चार अजगरहरूले आफ्नो मुख खोलेर, उसैलाई हेरीरहेका थिए। र जुन हाँगोलाई उसले समातीरहेको थियो, त्यसलाई दुइटा मुसाहरूले दाँतले काटीरहेका थिए। त्यतिबेलै एउटा हात्ती आएर रुखलाई जोर-जोरसँग हल्लाउन थाल्यो। त्यो मानिस डरायो र सोच्न थाल्यो- 'हे भगवान, अब के होला!'
त्यसै रूखमा माहुरीको ठूलो चाका (घार) थियो। हात्तीले रूख हल्लाउँदा, माहुरीहरु उड्न थाले र महका थोपाहरु खस्न थाले। एउटा थोपा उसको ओठमा खस्यो। उसले तिर्खाले सुक्न लागेको आफ्नो जिब्रोलाई ओठमा फेर्यो, महको थोपा अद्भुत मिठो लाग्यो।
केही बेरपछि, महको अर्को एक थोपा उसको मुखमा खस्यो। अब ऊ महको स्वादमा यति डुब्यो की उसले बिर्सिहाल्यो ऊ कहाँ झुण्डीरहेको छ। त्यतिबेला नै शिवजी र पार्वती आफ्नो बाहनबाट त्यस जंगलमा आईपुगे। आमा पार्वतीले उसको दयनीय अवस्था देखेर भगवान शिवलाई अनुरोध गरिन् उसलाई बचाउन।
भगवान शिव त्याहाँ गए र भने, 'म तिमीलाई बचाउछु, मेरो हात समात।'
त्यस मानिसले भन्यो, 'एक थोपा मह अरु चाटीहालूँ फेरि जाउँला।'
एक थोपा, त्यसपछि एक अर्को थोपा, र प्रत्येक थोपापछि फेरि अर्को थोपाको लागि प्रतिक्षा!
आखिर, शिव थकित हुँदै जानुभयो। अब तपाई अनुमान गर्न सक्नुहुन्छ की त्यो मान्छेको के हाल भयो होला?
ठ्याक्कै त्यस्तै परिस्थिति हाम्रो पनि हो, आउनुहोस् यो कथालाई अहिले आफ्नो सन्दर्भमा हेरौं।
त्यो मानिस जुन जंगल भित्र जाँदै थियो, त्यो जंगल हो 'संसार' र अन्धकार हो 'अज्ञान'। रूखको हाँगा हो 'उमेर' जसलाई दिन-रात रूपी 'मुसाहरू' काट्दै छन्। 'अहंकार'को हात्ती रूखलाई उखाल्नमा व्यस्त छ। 'महका थोपाहरु' सांसारिक सुख हुन्, जसको कारणले मानिस खतरालाई पनि बेवास्ता गर्दछ र ती खतराहरूबाट उत्पन्न मार्गहरूबाट टाढा रहन्छ।
त्यसकारण, 'एक थोपा महको लोभ' नगरौँ। सांसारिक सुख रुपी खुसीको भ्रममा फसेको व्यक्तिलाई भगवानले पनि बचाउन सक्दैनन्।