कविता
यो शरीर थाके पनि
मन नथाकोस् भोलिसम्म।
यो रात अँध्यारोभित्रै हराओस्
उज्यालो रहिरहोस् भोलिसम्म।
आशैआशमा झेलिएको यो सास
अडिदेओस् भोलिसम्म।
रित्तो मेरो मझेरी भरिनेछ बस
उज्यालो भैरहोस् भोलिसम्म।
पुकार गर्दछु हे हरि!
म सबैका आखामा परूँ भोलिसम्म।
गल्ली खुला होउन्
मनिसको चहलपहल होस्
मलाई देखेर कसैले भनून्-
आउनुस् भोजन गरेर जानुस्
बस उज्यालो भैरहोस् भोलिसम्म।
अन्नले तृप्त भै
लामो सास लिइ मर्न सकूँ
बस उज्यालो भैरहोस् भोलिसम्म
मागेर चलेको जीवनलाई
लिएर हिँड्न गाह्रो भो।
दुनियाँ सारा संसार ठप्प भो।
झिनो आशमा भोलिसम्म
यो सास अल्झिन्छ कि
बस उज्यालो भैरहोस् भोलिसम्म
संसार देख्न पाइरहूँ भोलिसम्म!
बस् सास अल्झिरहोस् भोलिसम्म!