भीडले उचालेको नाम
भीडले नै बिर्सेको इतिहास साक्षी छन्,
जब बोलीमा सत्यता हराउँछ
र व्यवहारमा चरित्र देखिँदैन
त्यसै दिन
तालीहरू गालीमा परिवर्तन हुन्छन्।
जब शब्दहरू
हृदयबाट होइन, अभिनयबाट निस्कन्छन्,
हर व्यवहार
आत्माभन्दा मुखौटामा बस्न थाल्छ—
यहीबाट सुरु हुन्छ
लोकप्रियताको पतन।
मान्छेले पद गुमाएर होइन,
विश्वास गुमाएर सानो हुन्छ
र लोकप्रियता
त्यही विश्वासको छायाप्रति हो।
यदि बोलीमा सत्य छैन,
व्यवहारमा देखिँदैन
अनि लोकप्रियता
पानीमा लेखिएको अक्षर जस्तै—
एकछिन चम्किन्छ,
अनि समयसँगै चुपचाप मेटिन्छ।
किनभने अन्ततः
इतिहासले ताली होइन,
चरित्र सम्झन्छ।