एउटा आँसु व्यापारीको सामु
उसका लाचार आँसुका धाराहरु
अविरल बगिरहेका थिए
मानौँ
वसन्त ऋतुको प्रचण्ड घामको
ताप र रापमा
असह्य भएर पग्लिरहेछन्
वर्षौदेखि जमेका कडा
हिउँका ढिक्काहरु
र
बगिरहेछन् असारे खहरेझैँ
एकदमै व्यग्र र अशान्त
अश्रुधाराहरु
उसले जान्दैन ती
खसेका आँसुका धाराहरुलाई
ठूला मञ्चका भाषणका वजनदार
शब्दहरुमा बदल्न
अनि
जान्दैन ऊ ती आँसुका भावहरुलाई
साहित्यिक अक्षर र लेखहरुमा समेट्न
हो, त्यसैले त
उसका अश्रुधाराहरु बस्
फगतरुपमा उसका मनभरिको
पीडाहरुलाई खियाउँदै
निस्फिक्री बगिरहन्छन्
र
सुस्ताउँछन् कुनै आँसु
व्यापारीको डायरीमा
जोडदार शब्दहरुको थुप्रो बनी
मानौँ
अशान्त र व्यग्र खहरेहरु
नदिझैँ एकाएक सुस्ताइरहेछ।