पाटनभरि बुकी फुलेको छ
मनभरि दुःख र अभाव छ
सुशेलीमा मस्त छन् कर्णाली र भेरी
कर्कश छ भान्सामा रित्तो गाग्री!
हरियालीले पोतिएको छ बढीमालिका
सेताम्य छन् अपि र सैपालहरू
जोहो हुन नसक्दा गह्रौँ स्मृतिका डोब बोकेका काला छन्
चोबा, गुन्यु र कछाडहरू!
अभाव त दैनन्दिनी हो
लादिएको अनियमितता हो
नभए अचम्म मान्नु पर्छ यहाँ
ढिक्री, ढिँडो, गहत र सिस्नुको सागसँगै
सर्लक्क निल्दछ सुदूर पश्चिम कष्टका गाँसहरू
र,
जुरुक्क उठ्दछ जीवन
हिमशृङ्खलाको किरणभन्दा पहिला
एक थान प्राणको गुजारा गर्न
गाई, भैँसी, र भेडा–बाख्रा लिएर!
बिहानको कुहिरोमा डाँफेको
क्लिक–क्लाक र टिक–टिक–टिक
मुनालको नरम कुक- कुक, कुक- कुक
लाम्चे चिलको करकट क्याः–क्याः
इन्टरनेट रहित नि:शुल्क उपलब्ध नेशनल जियोग्राफी
उचाइको सुस्केरामा विलीन हुन्छन्
र तप्प तप्प चुहिन्छन् निधारबाट
पिरका ढिक्काहरू र बहन्छन् कर्णाली झैँ!
हो, यो समाल्ने स्वामी नभएको पश्चिमकी रानी
हो, यो उत्खनन नभएर बेकम्मा बनेको खानी
हरियोको मादकतालाई बनाइएको खरानी
अग्लो शिर भएर पनि नपाएको सिरानी!
यार्सागुम्बाको जवानी छ
जवान छैन
ऊर्जा बढाउने गोखरु छ
उद्योग–धन्दा छैन
पाचन सुधार गर्ने भुजेल छ
भोक मेट्ने अन्न छैन
चर्म रोग निखार्ने अर्दा छ
आङ छोप्ने लुगा छैन
भएर पनि नभए झैँ
सधैँ सधैँ योजनामा दूर छ सुदूरपश्चिम
र त गाउँदछ देउडामा जमिन र जीवनको।