सहरको एक सानो डेरा। पछाडिबाट गर्मीमा धेरै घाम पर्ने झ्याल। त्यहीँ बस्छ पाल्पाको एउटा गाउँबाट आएको प्रकाश (परिवर्तित नाम)।
ऊ राजधानीमा भने छैन। ऊ सदरमुकाम कावासोतीमा बसेर पढ्दै छ- स्नातक।
गाउँको थुम्कोमा खेलेको, मेलापातमा बा-आमालाई सघाउँदै, खोलामा पौडिएर, घाँस दाउरा गरेर हुर्केको प्रकाश अहिले घरभन्दा पर अन्जान सहरको एउटा कुनामा छ—सपना बोकेर, धेरथोर अभिलाषा राखेर, सफलताको भोक मेटाउन।
बिहान ५ बजे उसले मोबाइलको झिनो घण्टीमा आँखा खोल्छ। पानी तताएर नुहाउने जाडो छैन, तै पनि झसंग उठेर नित्यकर्म सकेपछि ऊ जान्छ स्नातक तहको क्लास अटेण्ड गर्न।
झ्यास्-झुस् बिहानीमा रातभरी पढ्दाकाे अनिँदोले पोलेका आँखा मिच्दै कक्षामा पुग्छ। कक्षामा अनुशासित भै पढ्छ, साथीहरूसित रमाइलो कुरा गर्न पनि भ्याएकै हुन्छ प्रकाश।
खाली समय भेट्यो भने रातभर पढेका कुरा रफ कापीमा कोर्दै सम्झिने प्रयास गर्छ। यसो भन्दैमा खाजा खाने समय, घण्टी बज्छ। अरू साथी क्यान्टिनतर्फ लाग्छन्। सफलतालाई पछ्याइरहेको प्रकाश लाइब्रेरीमा जान्छ, पत्रिका खोज्छ र हतार हतार लाग्छ समसामयिक विषयकाे नोट बनाउन।
टिफिनपछि कलेजबाट हतार हतार कोठा फर्कन्छ, हतारमै खाना बनाउन थाल्छ, लटर्पटर छाक टार्ने त हो भन्ने विचार बोकेको थियो। नबोकोस् पनि कसरी। ज्यान सिन्का भइसकेको छ प्रकाशकाे हिजोआज। बिहानी खाना खाइवरी उसले किताब खोल्छ—संविधान, सामान्य ज्ञान र प्रशासनका अन्य पुस्तक।
कुनै कोचिङ जाँदैन, ट्युसन लिएको छैन। सोचमा आउन भ्याएका जति गर्न पैसा पनि त छैन ऊ सित, बरू त्यो समयमा पनि उसलाई लाग्छ—आफैँल पढ्दा जे बुझिन्छ, त्यो दीर्घकालीन हुन्छ।
फोन बज्छ—‘ममी’ लेखिएको देखिन्छ।
'हेलो ममी…'
'हल्लो बाबु, खाइस्? फोन उठाउन ढिलो गरेकाे निहुँमा ममीले जिस्काउँदै भन्नु हुन्छ, अब त तँ पनि सहरको मान्छे भइस् है!'
प्रकाश मुस्कुराउँछ।
'खा’को ममी। बिहान कलेज गएको थिएँ। अहिले आएर खाना खाएर यसो किताब खोल्दै छु। सन्चै हुनुन्छ नि?'
'हामी सञ्चै छौं बाबु। योपल्ट घ्यू पठाइदिएकी थिएँ नि, खाइराछस् कि नाइँ?'
'त्यो त सकिन लाग्या छ। साँझमा तातो भातले पुरेर घ्यू खाँदा त गाउँकै स्वाद आउँछ…'
'त्यो घ्यूमा माया पनि छ बाबु। हामी त केही गर्न सक्दैनौं, तैंले जे गर्छस्, त्यही हाम्रो गर्व हो।'
प्रकाश एकछिन चुप लाग्छ। बोली छुट्दैन। उसले भन्छ—'ममी, अबको पल्ट घ्यूको ठाउँमा अब म केही न केही लिएर आउँछु।'
सहरको जीवन सजिलो छैन। ऊ बुझ्छ, सहरमा न त हल्ला गरेर पढ्न पाइन्छ, न त रमाइलो गरेर सपना पूरा नै हुन्छ, न त अन्यत्र कहीँ कतै घुम्न गएर, न त आफन्तलाई रिझाएर नै।
लोक सेवा आयोग पुस महिनाको अन्तिम बुधबार प्रकाशित नायव सुब्बाको विज्ञापन हेर्दै गर्दा उसलाई लाग्छ—यही मेरो ठाउँ हो। यही ठाउँमा पुग्नुपर्छ। कहिलेकाहीँ कोठाभरि सन्नाटा हुन्छ, अनि प्रकाशको मनमा आमाले भनेको बोली गुञ्जिन्छ—'हामीले त घाँस दाउरा भनेरै जिन्दगी चलायौं बाबु, तँ भने कलम चलाएस् है!'
साँझ पर्न लाग्दा उसले हर्लिक्सको बट्टा खोल्छ। त्यो बट्टा कुनैबेला सानो प्लास्टिकको झोलामा राखेर गाउँबाट आमाले पठाएकी थिइन्। सहरसम्मको बसको यात्रा, नारायणगढ आउने बसमार्फत् आइपुगेको त्यो बट्टा सुरूमा बाफ आउने चामल र घ्यूको मेलले भिज्थ्यो। अब त्यो बट्टा रित्तिँदै गएको छ।
ऊ मनमनै भन्छ—'अब यो बट्टा फेरि म गाउँ लैजान्छु। रित्तो लैजान्छु, तर फर्कँदा यो बट्टा म घ्यूले होइन, नतिजाले भरिएको ल्याउँछु।'
तर उसलाई निकै अप्ठेरो लाग्छ- गाउँबाट भरिएर आएका बट्टा अनि चामलका बोराहरू रित्तै गाउँ फर्काउन। छिटोछिटो जागिर खाएर रित्ता बट्टाभित्र खुसीका आत्मीय कोसेली अनि केही सामान राखेर फर्किन पाए - उसले दिनहुँ यही सोच्छ।
फेरि एक दिन, फेरि फोन—
'हेलो बाबु, दसैं आइसक्यो। आउँछस् त?'
'हजुर ममी, आउँछु। यसपालि बट्टा रित्तो छ, घ्यू सकियो। म रित्तै त आउने होला नि!? कारूणिक भावमा प्रकाश बोल्छ...'
'बट्टा रित्तो होस् बाबु, तँ त रित्तो छैनस्। तँसँग ज्ञान छ, तँसँग मेहनत छ। तैँले पढेको, जागिर खाएको दिन मलाई भरिएको बट्टा र त्यसभित्रकाे कोसेलीभन्दा बरू तेरो सफलता नै बट्टाभन्दा मिठो लाग्छ।'
त्यस दिन प्रकाशले गहभरी आँसु थाम्न सकेन। घर र घरको परिवेश अनि त्यो बाल्यकाल सम्झिँदै भक्कानिन्छ, त्यो पनि कसैले नसुनोस्, नदेखोस् भनी सानो स्वरमा कोठाभित्रै।
गाउँ फर्किने बेला प्रकाशले झोलामा किताब राख्छ, केही लुगा, अनि त्यो रित्तो हर्लिक्सको बट्टा। बस चढेर घरतर्फको यात्रा तय गर्छ प्रकाश। बाटोभरि खोला, पहाड, खोँच… तर उसका आँखा झ्यालबाहिर नभई, भविष्यको झ्यालमा केन्द्रित छन्।
गाउँ पुगेर आमाको काखमा पर्छ। बाआमाको अनुहारमा खुसी छ।
'म भर्खरै पढाइ सक्दैछु ममी,' उसले भन्छ, 'अबको विज्ञापनका लागि तयार छु।'
'पढ् बाबु, तँ माटो हो, माटो झैं नम्र, ढुंगाजस्तै बलियो। तैँले हार खाइस् भने तैँले मात्र होइन, हामी बाआमाकै सपना ढल्नेछ।'
त्यो रात प्रकाशले फेरि बत्तीको उज्यालोमा किताब खोल्छ—गाउँमै। अब त परीक्षाको मिति नजिकिँदैछ।
परीक्षा दिन फर्कन्छ सहर।
उही कोठा, उही भाँडा, उही विस्तारा- ठटरम्म। तर मन फरक छ। आत्मविश्वास बढेको छ। गाउँको साथ, बाआमाको आशीर्वाद, र मेहनतको इतिहास बोकेर उसले परीक्षा दिन्छ। कुनै कोचिङको आश्रय छैन, कुनै गाइडेड नोट्स छैन। छ भने केवल आफैले बनाएको सामान्य नोट्स, लेखनसीप प्रतिको आत्मविश्वास र गाउँबाट लिएको अनुशासन अनि संस्कार पनि।
'रा-रा-सा-अ- कृ-वि- प्रा-ना-श्र-सा-न्या-प-अ-सा-न्या-प-अ-प-अ-अ'
विगत केही महिना देखि प्रकाशको कोठा यी र यस्तै शब्दले गुञ्जिरहन्छ। बन्द कोठामा प्रकाश एक्लै मानसिक रोगी जस्तै बर्बराएको सुनिन्छ। ऊ लेखनसीपको तयारीमा बेजोड तरिकाले लाग्दैछ। प्रकाश आफूले नागरिकता बनाउने क्रममा कर्मचारीले प्रहार गरेका ती तिखा शब्दलाई आफ्नो सफलताको मार्ग कोर्ने कलमको रूपमा प्रयोग गरिरहेको छ हिजोआज। किनकि 'इख नभएको मान्छे र विष नभएको सर्पकाे कुनै औचित्य हुँदैन' भन्ने उसलाई राम्ररी थाहा छ।
साथीहरू बनाएको पनि छैन प्रकाशले, बनाओस् पनि कसरी, कोही पनि भेटेको छैन त्यसरी लाेक सेवा तयारी गर्ने। अनि आफ्नै कलेजका साथीभाई कन्भिन्स गर्न पनि त भ्याएको छैन उसले। सामाजिक सञ्जालमा जोडिएका केही थान साथीहरू राजधानीमै बस्छन्, ट्युसन पढ्छन्, कोचिङमा दौडिन्छन्। तर प्रकाश चुपचाप पढ्छ, बोल्दैन। सहरको कोलाहलमा शान्त रहन्छ।
परीक्षा सकिन्छ। प्रकाशले एक वर्षमा ३ वटा फरक फरक ठाउँमा फरक विज्ञापनमा चौथो र पाँचौं तहको परीक्षा दिन्छ। परीक्षा राम्रै भएको अनुभूति प्रकाशले गर्छ। उसलाई उदार मुद्रामा देख्न सकिन्छ। परीक्षा राम्रै भए पनि प्रकाशले पढ्न भने कहिल्यै छोडेन। केही महिनापछि प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशको प्रशासन पाँचौँ तहको नतिजा आउँछ।
फोन बज्छ—'सहरबाट गाउँ'
' ममी…'
'बाबु ! के भयो?'
'ममी, म पास भएँ। लोक सेवा पास गरेँ…'
फोनको अर्को छेउमा केही सेकेन्ड मौनता रहन्छ। त्यसपछि… रूँदै आमा भन्छिन्—'तँ घ्यू नलिई गाको, तर म त्यही बट्टा आज खुसीले भरिदिन्छु। तैँले आज बट्टा होइन, मुटु भरिस्।'
आज फेरि प्रकाश गाउँ फर्कन्छ। झोलाभित्र छ—सिफारिस सर्टिफिकेट, नियुक्तिपत्र, अनि उही हर्लिक्सको बट्टा। यसपालि रित्तो होइन, भित्र राखिएको छ– केही खाजा, केही किताब, अनि ममीका लागि सहरबाट ल्याइएको सानो गिफ्ट।
प्रकाशले त्यो वर्ष दिएका ३ वटा फरक फरक परीक्षामध्ये तीन वटै लिखित परीक्षा उत्तीर्ण गर्यो। अब त प्रकाश खुसीले गदगद छ, परिवार पनि।
अब त्यो बट्टा प्रतीक हो—गाउँबाट ल्याएको मायाको र सहरमा प्राप्त गरिएका उपलब्धिको। ममीले अब स्मरणमा राख्ने छिन् जीवन्त, यो बट्टा साह्रै भाग्योदय गराउने खालको रहेछ। हेर त बाबु तेरो भाग्य। यसैले गर्दा। परिवारमा सबै गलल हाँस्छन्।