म जाँच नदिए पनि पास भए!
अनि त्यस दिन म पहिलो पटक आश्चर्यमा परेँ
प्लस र माइनसको शेष जति पनि गसिप होइन
सहरमा तिम्रो तारिफ चलोस् या निन्दा
त्यसले सलाई बिलकुल फरक पर्दैन।
के तिमीसँग दोस्रो आश्चर्यको कुरा गरूँ?
सबैमा मर्ने डरको भूत सवार हुँदा
तिमी बाँच्ने संघर्षको ताप बोकेर आयौ
र पनि मैले कुनै प्रतिकार गरिनँ
जब मैले तिम्रो वर्षगाँठको हिसाब अखबारेलाई दिए
एकजनाले ‘श्रीनिवास रामनुजनको चेलो होस् त?’ भन्ने प्रश्न गर्यो!
मैले फेरि पनि तिम्रै अनुहार पढेर
हुन पनि सक्छु भन्ने प्रतीकात्मक उत्तर दिएँ।
अर्को दिन तिम्री आमाले मलाई
‘छोरो’ शीर्षकमा कथा कोर्न अनुरोध गरिन्
मैले यसलाई अवसर ठानेँ
तिम्रो कथावस्तुमा म आफू पात्र रहेको
मनोवैज्ञानिक कथा उतारिदिएँ।
तिमीलाई मलै कथा भित्रको आश्चर्य पनि भनूँ?
फाटेको मनबाट सत्य प्रकट भएको क्षण
कथाको प्लटमा घामको थर्मोमानमा उछाल आउँदा
न्यायको प्यासले तिमी डगमगायौ
मेरो अर्थात् पात्रको अपेक्षा क्या!
तिमी जित्दा जित्दै पनि हारेको
सिक्दा सिक्दै थाकेको
हिँड्दा हिँड्दै लडेको हेर्नुछ मलाई
किनकि प्रयासलाई भोलि उपलब्धिमा बदल्नु छ
र
फेरि तेस्रो पल्ट आश्चर्यमा पर्नु छ म
हरेक थोपा पसिनाको मूल्य जोडेर
भाग्य कोर्ने बिउ देख्छु तिमीमा
तिम्रै कथाको परास्त प्रतिद्वन्द्वीले
तिम्रा सपनाको कीर्तिमानलाई
सपनाको भष्म भनिदिन सक्छ
प्रतिद्वन्द्वीका चाटुकाहरूले तिमीलाई
सपना मात्र उमार्ने नपुंसक मेसिन हो भन्न सक्छन्
तिम्रो सङ्घर्षमा चुनौती थप्न,
अभिनयको मिस्टर बेन पात्र जन्मिएन भने
म तिमीलाई अन्तिम आश्चर्य अर्को प्रयासमा भन्ने छु।