आजसम्म कुरा नमिलेको यति हो
सरोकारवाला आसाको खेती गर्छ
सरकार निराशाको खेती गर्छ
आसा र निराशाबिच प्रतिवाद भइरहन्छ
आखिर यो आसा भन्ने
जिनिस नहुँदो हो त
यी दुईमा विवाद हुन्थेन
पराजय र विजयको गिन्ती हुन्थेन
आसाको त्यान्द्रो लिएर हिँडेकाहरूले नै
निराशालाई पत्तासाफ पार्दै
आसाको दीप मात्र हैन
डढेलो नै लगाउँछन्
कृपया झिल्कोसँग ठट्टा नगर्नू
दुस्मनलाई कमजोर नठान्नू।
जसले जसलाई
जुन प्रायोजनको लागि
खनेको खाल्डोमा
होस पुर्याउन सकिएन भने
आफै पर्न सकिन्छ
त्यसैले म त भन्छु
दुस्मनलाई पनि हद गर्नु हुन्न।
यो कलियुग हो
पापको घडा तुरुन्तै भरिन्छ
अनि पोखिहाल्छ
घडा भरिन नदिम्, पोखिनबाट बचौँ
अन्धकार रातपछि
सुनौलो बिहानी आए झैँ
जाडोपछि उखरमाउलो गर्मी आउँछ
धैर्यताको बाँध नफुट्दासम्म
अहंकार र घमन्डहरूको राज चल्छ।
दुखमा नआत्तिनू
सुखमा नमात्तिनू
भगवान् र सरकार सबैको साझा हुन
कसैको पेवा होइन।
सरकार र सरोकारवालाको
कुरा नमिलेको यति हो
सरकार, पद पैसा र पावर
अहम् घमन्ड अहङ्कारले
श्रृंगारिएर वेगमा बतासिन्छ।
सरोकारवाला टुलुटुलु हेर्दै टोलाउँछ
ऊ सरकारलाई खास माग सुनाउन खोज्छ
सरकार सुन्नै चाहँदैन
केवल ऊ देशप्रेमको भाषण दिन्छ
तर नागरिकको वेदना कष्ट र दुख लाई
सधैँ नजरअन्दाज गर्छ।
यी दुई सधैँ फरक कित्तामा उभिन्छन्
सरकार आँखामा पट्टी बाँधेर
सरोकारवाला निधारमा पट्टि बाँधेर
सरोकारवालाले लेखेको हुन्छ
सरकार गलत बाटो हिँडेको छ
सरकारले लेखेको हुन्छ
मैले मेरा यी दुई नयनले स्पष्ट देखिरहेको छु।
सरोकारवालालाई सरकारमा पुर्याउन
भयानक आन्दोलन हुन्छ
ऊ सरकारमा पुग्छ
तर उही उस्तै दुरुस्तै अझ क्रूर देखिन्छ।
सरकार र भगवान् कसैको पेवा हुनु हुँदैनथ्यो
नीति नियम नै मिचेर पेवा बनाइयो
सेवा दिन हिँडेकाहरू सेवा लिन थाले
आजसम्म सरकार र सरोकारवालको
कुरा नमिलेको यति हो
यति कुरामा सहमति मिलाइयो भने
अब हराभरा उर्वर सोचे जस्तै खोजे जस्तै
नेपाल बन्छ, देश बन्छ।