यो समाज—
कागजमा न्यायले भरिएको समाज हो
यहाँ गल्ली गल्लीमा अन्यायको उत्सव
उत्साहसहित मनाइन्छ।
यहाँ न्यायालयका ढोकामा
सायद कालो धूलो जमेको छ
चुनावी भाषणका मञ्चमा
न्यायका शब्दहरू चम्काइन्छ।
ए नारी!
तिमी किन अझै आशा गर्छ्यौ
यो पुरुष प्रधान समाजसँग?
यहाँ त तिम्रो आँसु
समाचार बनाइन्छ
र तिम्रो पीडा
राजनीतिक नारा बनाइन्छ।
नेता भन्छन्—
‘हामी न्याय दिन्छौँ।’
अभियन्ता भन्छन्—
‘हामी आवाज उठाउँछौँ।’
न्यायाधीश भन्छन्—
‘हामी फैसला गर्छौँ।’
तर न्याय भने
कागजकै पानामा सीमित रहन्छ,
नेताका मिठा–मिठा आश्वासनमै हराइरहन्छ।
यहाँ अपराधी
सुट र टाई लगाएर निर्धक्क हिँड्छन्
पीडित नारी भने
अदालतको ढोकामा
बारम्बार माफी मागिरहेकी हुन्छिन्।
खै सरकार—
कहाँ छ त्यो न्याय
जुन तिमीले भाषणमा बाँड्यौ?
खै ती अभियन्ता—
जसले क्यामेरा अघि
क्रान्तिको नारा लगाए?
खै ती नेता—
जसले वाचा गरे
‘अब अन्याय सहिन्न’ भन्दै?
तर आज पनि
एक बालिका
न्यायको बाटो हेर्दैछे
समाज भने
अर्को घटनाको प्रतीक्षामा
मर्माहत भएर बसेको छ।
सायद यहाँ न्याय पाउन
फेरि अर्को दुःखद घटना चाहिन्छ
फेरि एउटा दर्दनाक पीडा चाहिन्छ
फेरि एउटा नाबालिकाको बलिदान चाहिन्छ।
र त्यसपछि—
फेरि उही भाषण
फेरि उही वाचा
फेरि उही मौन न्याय।
किनकि
यो नारीलाई न्याय दिने समाज होइन,
यो त न्यायको खोल ओढेर चलिरहेको
राजनीतिक मञ्च हो
तसर्थ यहाँ न्याय पाइँदैन।