राणाहरूले गाडी बोकाउँदा
क्या गज्जबको भरिया थिएँ
राजाहरूको निरंकुशतामा
एक निर्बल प्रजा थिएँ
बहुदलमा घरी भोट बैंक
घरी सडक तताउने मसाल
त घरी सदनमा उठ्ने मुद्दा थिएँ
अंग्रेजलाई परास्त गर्दा
वीर गोर्खाली थिएँ
नालापानीमा
बलभद्र कुवरको खुकुरी थिएँ
देउथलमा भक्ति थापाको ढाल थिएँ
अमरगढीमा
अमरसिंह थापाको तरबार थिएँ
तिब्बत युद्धमा बहादुर शाहको साहस थिएँ
तिलाठीको दशगजामा सीमा स्तम्भ थिएँ
नेपालको तकदिर थिएँ
सगरमाथाको शिर थिएँ
अस्ति चुनावको अघिल्लो दिनसम्म
देउता भन्दै मेरो खुट्टा ढोग्नसम्म भ्याए
तर आज आफू अनुकूल नतिजा नआउँदा
म भेडो बन्न पुगेको छु
हो, अब मेरो परिचय न फेरिन्जेल सम्मको
लागि म भेडो हुँ।