हिजो आगोको रापले भात पकाउनेहरूले
हिजो आगोको तापले आँत सेकाउनेहरूले
आगोलाई आगो आँकेनन्
ठोसेर झोसेर थाकेनन्
कहिले आगो ओकल्न लगाए
कहिले आगो निल्न लगाए
कहिले दनदन बाले
कहिले दन्किरहेको आगोमा पानी फाले
सेकाउनु, देखाउनु
तताउनु, पकाउनु
जलाउनु, ढलाउनु
जोड्नु, फुटाउनु
धर्म हो आगोको,
धर्मलाई धर्म मानेनन्
कर्मलाई कर्म मानेनन्,
कहिले फु गरेर बाले
कहिले फु गरेर निभाए,
चट्केले बाँदर नचाए झैँ
माहुतेले हात्ती धपाए झैँ,
आगो चम्किरह्यो
आगो लम्किरह्यो,
आगो आगो हुन पाएन
चिसोलाई तताउन पाएन
काँचोलाई पकाउन पाएन।
आफू बलेर उज्यालो पार्न सकूँ
सपना थियो आगोको
आफू बलेर चिसो चुल्हो तातो पार्न सकूँ
लक्ष्य थियो आगोको।
सपना छेदन गरिएपछि
लक्ष्य भेदन गरिएपछि,
आज आगो विद्रोही बनेको छ।
लप्काहरू लिएर जाज्वल्यमान भएर
जलाउन हिँडेको छ भ्रष्टहरूलाई
दनदनी दन्किएर बेजोड गतिमा
ढलाउन हिँडेको छ दलालहरूलाई
ज्वाला लिएर सिंहनाद गर्जन सहित
गलाउन हिँडेको छ माफियाहरूलाई।
गन्हाएका झारहरूलाई जलाएर
खरानी बनाउने संकल्प लिएर
विद्रोही बनेको छ आगो र त
प्रशंसनीय छ आगोको विद्रोह।