विदेश जानु धेरैका लागि सुन्दर सपना जस्तो लाग्छ।
राम्रो कमाइ गर्ने र आफ्नो जीवनमा केही परिवर्तन ल्याउने आशाले मानिस हजारौं किलोमिटर टाढा परदेश आउँछ।
तर जब वास्तविक परदेशी जीवन सुरू हुन्छ, त्यति बेला मात्र थाहा हुन्छ— विदेशको चमकभित्र कति धेरै दुःख, संघर्ष र सम्झौता लुकेको हुन्छ।
रोमानिया आउनेहरूलाई पनि सुरूमा लाग्छ — अब दुःखका दिन सकिए, राम्रो काम पाइन्छ, नियमित तलब आउँछ र परिवारको आर्थिक अवस्था सुधारिन्छ।
तर वास्तविकता धेरै फरक हुन सक्छ। यहाँ काम खोज्नु नै एउटा ठूलो चुनौती बनेको छ। आफ्नो योग्यता, अनुभव र क्षमता अनुसारको काम पाउन सजिलो हुँदैन। भाषा नजान्नु, नयाँ ठाउँको वातावरण नबुझ्नु, कानुनी प्रक्रिया र कागजी झन्झट हुनुजस्ता कारणले पनि मानिस धेरै कुरामा निर्भर हुनुपर्ने अवस्था आउँछ।
काम पाए पनि अर्को समस्या सुरू हुन्छ। आफूलाई भनिएको काम, समय र तलब एउटा हुन्छ, तर काम सुरू गरेपछि अवस्था अर्कै हुन सक्छ।
धेरै घण्टा काम गर्नुपर्ने, अतिरिक्त समय काम गरे पनि त्यसको उचित हिसाब नपाइने, आराम गर्ने समय कम हुने र महिनाभरि मेहनत गरेपछि पनि तलब समयमा नआउने अवस्था आउन सक्छ।
कतिपय अवस्थामा त आफूले सोचेको भन्दा कम तलब पाउँदा ठूलो निराशा हुन्छ।
परदेशमा सबैभन्दा गाह्रो कुरा भनेको आफ्नो दुःख आफैसँग राखेर अगाडि बढ्नु हो। नेपालमा हुँदा समस्या पर्दा परिवार, साथीभाइ र आफन्त नजिक हुन्छन्।
तर यहाँ बिरामी हुँदा, शरीर दुख्दा, काममा समस्या पर्दा वा मन कमजोर हुँदा पनि आफूलाई आफै सम्हाल्नुपर्ने हुन्छ।
कहिलेकाहीँ खुट्टा दुखिरहेको हुन्छ, शरीर थाकेको हुन्छ, तर पनि 'काममा जानैपर्छ' भन्ने बाध्यता हुन्छ। किनकि काम नगरे कमाइ हुँदैन, कमाइ नभए घरमा पैसा पठाउन सकिँदैन।
परदेशमा कमाएको पैसा आफ्नो मात्र हुँदैन। त्यसमा घरमा बसेका आमाबुबाको आशा जोडिएको हुन्छ। श्रीमतीको भरोसा जोडिएको हुन्छ, छोराछोरीको भविष्य जोडिएको हुन्छ।
त्यसैले आफूलाई जति नै दुःख भए पनि धेरैले घरमा आफ्नो वास्तविक अवस्था बताउन चाहँदैनन्। फोन गर्दा 'म ठीक छु, काम राम्रो छ' भन्नुपर्छ। तर फोन काटेपछि आफ्नो दुःख आफैसँग राखेर बाँच्नुपर्छ।
सबभन्दा पीडादायी क्षण त्यति बेला हुन्छ, जब महिनाभरि काम गरेर पनि तलब समयमा पाइँदैन।
घरबाट फोन आउँछ— पैसा कहिले पठाउने?
आफूले के जबाफ दिने?
तलब आएकै छैन भनेर सुनाउन पनि गाह्रो हुन्छ। परिवारलाई चिन्ता नहोस् भनेर कुरा लुकाउनुपर्छ।
तर मनभित्र भने अनेक प्रश्न खेलिरहेका हुन्छन्— अब के गर्ने? अर्को काम खोज्ने कि यहीँ सहने? काम छोड्दा नयाँ काम पाइन्छ कि पाइँदैन? कागजातमा कुनै समस्या आउँछ कि आउँदैन?
विदेशमा नयाँ काम खोज्नु पनि त्यति सजिलो हुँदैन। एउटा काम छाडेपछि अर्को काम तुरून्तै पाइन्छ भन्ने निश्चित हुँदैन।
काम खोज्दा राम्रो तलब र राम्रो वातावरणको आशा गरिन्छ, तर भेटिएपछि कामको समय धेरै, तलब कम र काम निकै कठिन हुन सक्छ।
कहिलेकाहीँ 'यति तलब हुन्छ' भनेर बोलाइन्छ, तर काम सुरू गरेपछि विभिन्न कारण देखाएर कम पैसा दिने कुरा पनि सुनिन्छ।
तर यी सबै कठिनाइका बाबजुद परदेशी मानिस हार मान्दैन। बिहान उठेर फेरि काममा जान्छ, थाकेको शरीर लिएर पनि मुस्कुराउने प्रयास गर्छ।
किनकि उसको पछाडि एउटा परिवार हुन्छ। उसले आफ्नो दुःखलाई आफ्नो परिवारको भविष्यसँग तुलना गर्छ र फेरि आफूलाई बलियो बनाउँछ।
रोमानिया होस् वा संसारको कुनै पनि देश, विदेशमा काम गर्ने सबै मानिसलाई एउटै दृष्टिले हेर्नु हुँदैन। सबै कम्पनी खराब हुँदैनन् र सबै काम कठिन मात्र हुँदैनन्। धेरै ठाउँमा राम्रो वातावरण, उचित तलब र सम्मानपूर्वक काम गर्ने अवसर पनि हुन्छ।
तर कामदारले आफ्नो अधिकार, सम्झौता, कामको समय, तलब र कानुनी नियमबारे जानकारी राख्नु अत्यन्त आवश्यक हुन्छ।
विदेश आउनुअघि सुनेको कुरा र वास्तविक जीवनबीच ठूलो फरक हुन सक्छ। त्यसैले अरूले भनेको भरमा मात्र विदेश आउने निर्णय गर्नु हुँदैन।
कामको प्रकार, तलब, काम गर्ने समय, बस्ने व्यवस्था, सम्झौता र अन्य सुविधाबारे राम्रोसँग बुझेर मात्र निर्णय गर्नु आवश्यक हुन्छ।
परदेशी जीवनले एउटा कुरा अवश्य सिकाउँछ— पैसा कमाउनुभन्दा पहिले मानिसले धैर्य कमाउनुपर्छ। घरबाट टाढा बस्नु, परिवारको याद सहनु, अपरिचित ठाउँमा काम गर्नु, नयाँ भाषा सिक्नु र अनेक समस्याका बीच आफ्नो लक्ष्यलाई जोगाइराख्नु सजिलो कुरा होइन।
हामी विदेश आएका छौं भने यसको अर्थ हामी दुःखबाट भागेर आएका होइनौं। बरू आफ्नो परिवारको भविष्य राम्रो बनाउन आफ्नै सुख–सुविधा त्यागेर आएका हौं।
आज हामीले भोगेको दुःख भोलिको राम्रो भविष्यको आधार बनोस् भन्ने चाहना हो।
त्यसैले परदेशमा संघर्ष गरिरहेका हरेक नेपालीलाई एउटै कुरा भन्न मन लाग्छ—समस्या आए पनि आफूलाई कमजोर नबनाउनुहोस्। आफ्नो अधिकार बुझ्नुहोस्, गलत कुरामा आवाज उठाउन सिक्नुहोस्, राम्रो अवसर खोजिरहनुहोस् र आफ्नो मेहनतको मूल्य कहिल्यै नबिर्सनुहोस्।
परदेशको बाटो सजिलो छैन, तर संघर्ष गर्ने मानिसको सपना पनि सानो हुँदैन। आज आँखामा आँसु लिएर काम गरिरहेका हामीमध्ये धेरैको सपना भोलि आफ्नै घरको आँगनमा मुस्कुराउने हो।
त्यसैले यो संघर्ष केवल आजका लागि होइन, आफ्नो परिवार र भविष्यका लागि हो।
परदेशको दुःख शब्दले बयान गर्न नसकिए पनि, परदेशीको पसिनाले एउटा दिन अवश्य आफ्नो कथा लेख्नेछ।
(डायमन्ड दाहाल रोमानियास्थित बेकरीमा काम गर्छन्)