कफीगफ
उटीको डाँडामा उभिएर उनले एक हात सीधा पार्दै एउटा बिरूवा उचालिन्। उनका आँखामा हामीलाई छक्क्याउन पाएको आनन्द थियो।
फेददेखि काटिएको त्यो सुन्दर बिरूवाको एउटा डाँठ हराएको थियो।
हामी टेबलपिच्छे समूह बाँडिएका थियौं। हाम्रो समूहमा उनले अर्को बिरूवा देखाइन्, त्यसको एउटा पात चुँडिन्। र, त्यसलाई हाम्रो आँखा छलेर लुकाइन्।
हामी जति टेबल थियौं, फरक फरक बिरूवा थिए।
उनले भनिन्, 'अब लौ, त्यो हराएको डाँठ वा पातको चित्र बनाउनुहोस्।'
परेन फसाद?
मैले कहिल्यै त्यसरी चित्र कोरेको थिइनँ। आफूअगाडि भएको वस्तुलाई खरखरी उतार्दा त सक्कल बमोजिम नक्कल हुँदैनथ्यो। त्यो त बरू अवलोकनमा आधारित हुन्थ्यो। अवलोकन क्षमता नै कमजोर भएकाले मेरो चित्र यस्तो हुन पुगेको हो भन्न हुन्थ्यो।
अनुमानमा आधारित चित्र गर्नुपर्ने अब यो के भाउतो लाग्यो?
प्रशिक्षकका आँखामा कुनै संकेत छ कि चोरी हेरेँ। उनी ओठ जसरी बन्द गर्दै थिइन्, आँखा पनि भावनाशून्य बनाएको मैले अनुमान गरेँ। उनले बरू 'आफ्नो कागजमा एकाग्र होऊ न' भनेजस्तो भान पर्यो।
साथीतिर यसो कर्के आँखा पार्दा कोही मजस्तै अलमलिएको, कोही के के न जान्ने टोपलेर रङ चोबल्न खोजेको त कोही यसो सम्झेझैं, घोत्लेझैं देखेँ।
मैले शीशाकलम एउटा कानमा अड्याएर एउटा औंला ओठमा पुर्याउँदै के के न सोच्न खोजेजस्तो गरेँ। विचार भन्ने कुरा जतिखेर चाहिन्छ, त्यतिखेर पाइन्न।
त्यसो त हामीलाई यहाँ आउनुभन्दा हप्तौंअघिदेखि अनलाइन क्लासमा बिरूवा अवलोकन अभ्यास गर्न गृहकार्य दिइएको थियो। दिनको केही बेर एउटा बिरूवाअगाडि बसेर अनिवार्य घोत्लिने। बिरूवाका बारेमा नियमित सोच्ने, सम्झिने, कल्पिने।
बिरूवा कस्तो हो भनेर त्यसको नाम, जात र वैज्ञानिक विश्लेषण गर्नेभन्दा बढी त्यसको रूप, रङ, प्रकाश–छाया र तिनको सम्बन्धलाई प्रत्यक्ष अनुभव गर्ने।
एउटा बिरूवाअगाडि धम्धम्ती बसेर हेर्ने, केवल हेर्ने भनेको हाँगा कहाँबाट उठ्छ? कहाँ फैलिन्छ? कहाँ मोडिन्छ? माथि जाँदा गति खुल्छ कि संकुचित हुन्छ? प्रकाशले त्यसको गतिलाई कसरी परिवर्तन गर्छ?
ठम्याउने।
त्यसपछि बिरूवाको आवरण नक्कल नगरी, त्यसको मुख्य गतिलाई रेखामा उतार्ने।
त्यो त हो, तर बिरूवाको हराएको डाँठ कस्तो थियो, कसरी विचार गर्ने?
मानिसले गर्ने विचार आफ्नै आग्रह, सीमा, स्वार्थ, तत्क्षण, भावनाको बलमा आधारित हुन्छ। त्यो साँघुरो हुन्छ। मानिसको विचारमा सायद विवेकको कमी हुन्छ। अरू पक्षमा त ऊ कस्तो तगडा छ। मै खाऊँ, मै लाऊँ… भन्दै कस्तो सफल हुने सपना देखिबस्छ। आफैं सोहोरौं, आफैं थुपारौं, आफैं बाँचौं र आफ्नालाई बचाऔं!
ए, फ्याट्ट कक्षामा चलेको कुराकानी सम्झिएँ— बिरूवाले जस्तै विचार गर्ने!
मानिस र बिरूवा एकै होइनन्। मानिसको टाउको शरीरमाथि हुन्छ, बिरूवाको टाउको भनेकै जरा हो, जुन हरबखत माटोमुनि सक्रिय हुन्छ। जरा नै बिरूवाको व्यक्तित्वको आधार हो, ऊ जति फैलिन्छ, जति रमाउँछ, उति बिरूवा हाम्रो आँखामा प्रकट हुन्छ, प्रस्फुटित हुन्छ।
बिरूवाले पनि आफ्नो अस्तित्व बचाउन भरमग्दुर चेष्टा गर्छ। तर उसको विचार प्रकृतिको सांगोपांगो अनुकूल हुन्छ। उसले प्रकृतिको जटिल संरचना आत्मसात गरेको हुन्छ, उसका व्यवहारहरू माटोमुनि र माटोमाथि जारी यावत् गतिविधिसँग सम्बन्ध र सहकार्यमा आधारित हुन्छन्।
माटोमुनिका लाखौं–करोडौं सुक्ष्म जीवाणुहरूको संसारमा उसको सुक्ष्म संघर्ष चलिरहेको हुन्छ।
बिरूवाले पनि प्रतिक्रिया दिन्छ, शत्रु र मित्र छुट्याउँछ, उसको पनि आत्मरक्षा प्रणाली हुन्छ, सोच्ने शक्ति हुन्छ। के उसको पनि केन्द्रीय स्नायु प्रणाली वा त्यस्तै केही हुन्छ कि त भनेर कतिपयले जिकिर पनि गरेका छन्।
त्यो त पुष्टि नभएसम्म हुन्छ भन्ने मान्न सकिँदैन। तर उसको जीवनका बहुपक्षीय आयामहरू, जुन रंगीचंगी र जटिल छन्, हामीले धेरैजसो बुझ्नै बाँकी छ।
हामीले बिरूवालाई चिन्नै बाँकी छ।
बिरूवालाई चिन्ने कसरी भन्ने प्रश्नमात्र हामी गरिरहेका छौं। बिरूवालाई बुझ्न बिरूवामा मानिसको जस्तो सोच, भावना र इच्छा खोज्नु आवश्यक छैन। उसलाई जीवित रूप र संगठनका रूपमा हेरे पुग्छ। वातावरणप्रतिको संवेदनशीलता र प्रतिक्रियाका रूपमा उसलाई बुझ्न सकिन्छ। आफूलाई निरन्तर बढाउँदै लैजाने वृद्धिका रूपमा उसलाई स्वीकार्न सकिन्छ।
बिरूवाले हामीलाई केही सिकाइरहेको हुन्छ, जस्तो जबरजस्ती होइन, परिस्थितिसँग सम्बन्ध बनाएर आफूलाई साकार बनाउने शक्ति।
किसानका लागि यो कुरा झन् सान्दर्भिक छ।
हामी कति सजिलै भन्छौं, 'मैले बिरूवा बनाएँ।'
किसानले बिरूवा उमारेकै होइन, बिरूवाको जीवनका लागि परिस्थिति निर्माण गरेको न हो। माटो तयार गर्ने, कम्पोस्ट दिने, पानी जोगाउने, छाया मिलाउने, जैविक विविधता कायम राख्ने आदि नित्य कार्य गरेबापत बिरूवा जन्मिन र हुर्किन अनुकूल भएको न हो।
'बिरूवाले जस्तै सोच्ने' भन्ने शब्दावली वैज्ञानिक–लेखकले ल्याए। क्रेग होल्जरेगले 'थिंकिङ लाइक अ प्लान्ट' लेखे, तर त्यसमा बिरूवाले मानिसजस्तै सोच्छ भनेका होइनन्।
बरू बिरूवालाई हेर्दा हाम्रो सोच नै कसरी जीवित बनाउन सकिन्छ भन्ने प्रश्न गरेका हुन्।
वस्तुलाई टुक्र्याएर अलग अलग हेर्नुभन्दा, त्यसलाई उसको सम्बन्ध र परिवेशमा हेर्न सक्यौं भने देखिनेछ— बिरूवाले बोलिरहेको हुन्छ। बिरूवाले बोलेको कथा सुन्ने, लेखेको कहानी पढ्ने खुबी हामीसँग छ कि छैन भन्ने मात्र प्रश्न हो। त्यसका लागि तत्परता हामीसँग छ कि छैन, इच्छा नै छ कि छैन?
उसले त आफ्नोबारे बोलिरहेको हुन्छ। जस्तो, पातलाई मात्र हेरेर 'पात' भन्नुभन्दा यो कुन डाँठमा छ, कुन दिशामा छ, घाममा छ कि छायामा, कुन ऋतुमा उम्रेको हो, बिरूवा अहिले कुन चरणमा छ भनेर हेर्यौं भने पातको अर्थ बदलिन्छ।
एउटै बिरूवाका पातहरू हेर्नुस्। सबै पात हुन्, तर कुनै दुइटा पूर्ण रूपमा उस्तै छैनन्। जीवनले स्वरूप दोहोर्याउँछ, तर हरेक पटक नयाँ रूपमा!
त्यही भएर रहेछ, हामीलाई एउटा डाँठ वा पात चिमोटेर दिइएको थियो, त्यसलाई अझ गहिरोसँग हेर्न सकौं। सिकौं।
एउटा बिरूवा उभिएको मात्र छैन। त्यो उठिरहेको छ, फैलिरहेको छ, प्रकाशतिर खुलिरहेको छ, माटोतिर गहिरिँदैछ।
बिरूवाको यही सूक्ष्म गति आत्मसात गर्ने अभ्यासमा हामीलाई खारिँदै थियो।
बिरूवाको डाँठ केवल एउटा रेखा होइन— उठ्ने, मोडिने, फैलिने, खुल्ने गति हो। जसरी, बीउबाट अंकुर, अंकुरबाट पात, पातबाट फूल, फूलबाट फल र फेरि बीउ बन्ने गति हुन्छ। ऊ हरेक क्षण गतिमय छ।
बिरुवालाई हेर्दा हामी के देख्छौं? एउटा वस्तु? एउटा प्रजाति? एउटा उत्पादन?
कि पृथ्वी, पानी, प्रकाश, माटो, कीरा, हावा र आकाशसँग सम्बन्ध बनाउँदै आफूलाई निरन्तर साकार पारिरहेको एउटा जीव?
सायद बिरूवालाई शिक्षक मान्नु भनेको उसले हामीलाई कुनै पाठ सुनाउनु होइन। उसको अगाडि केही बेर चुपचाप बसेर, हामीले संसारलाई हेर्ने आफ्नो तरिका बदलिन दिनु हो।
प्रशिक्षकको मितव्ययी आवाज हावामा सुसेली खेलिरहेको थियो, 'रेखा खिच्ने बेला हातलाई विचारको सेवक नबनाउनू। बरू हातलाई आँखाले ग्रहण गरेको गतिसँग चल्न दिनू। हेर्नू, अनुभूति गर्नू र हात चलाउनू।'
विचार गर्ने होइन, अनुभूति गर्ने रे!
हामीलाई दिइएको चित्रकारिता गर्ने अभ्यास अवलोकनमा आधारित होइन, अनुमानमा आधारित पनि होइन रहेछ। अनुभूतिमा आधारित रहेछ!
सायद चित्रकलाको असली काम यही हो।
ठीकै भनिएको रहेछ— चित्र बनाउनु भनेको सुन्दर चित्र बनाउन सिक्नु मात्र होइन। हेर्ने तरिका बदल्नु पनि हो।
चित्रकारले नीलो र पहेँलो दुई रंगबीच जन्मिँदै गरेको हरियो पनि हेर्न सक्छ। दुई विपरीतका बीचमा के भइरहेको छ? यही प्रश्नले स्थिर वस्तुबाट सम्बन्ध र रूपान्तरणतर्फ लैजान्छ।
बिरूवालाई बिरूवा भनेर जान्नु एउटा कुरा हो। बिरूवालाई जीवित रूपमा हेर्नु अर्कै कुरा।
बिरूवालाई एउटा स्थिर वस्तुका रूपमा हेर्ने कि निरन्तर बन्दै गरेको जीवका रूपमा भनेर सोच्न सके चित्रकलामा खास अभिप्राय प्रकट हुन्छ। बिरूवाको रूप हेरेर हामी दंग पर्छौं, चित्रकारले उसको गतिबारे रङमार्फत आफ्नो अनुभूति हामीलाई सूचित गर्छ।
बिरूवा भन्नेबित्तिकै पातको रङ र फूलको सुवासको महिमा हुन्छ। रङ कुनै पदार्थ होइन। यो त प्रकाश, प्रकृति र मानव अनुभूतिको सम्बन्धमा प्रकट हुने अभिव्यक्ति हो।
जस्तो, फूलको रातो रङलाई रासायनिक संरचनाले वर्णन गर्न सकिन्छ। तर रातो हेर्दा हामीभित्र जे अनुभूति हुन्छ, त्यो एउटा घटना हो।
'त्यस कारण,' हामी पढ्दै गयौं, 'रङ केवल पदार्थ होइन। हामीले गर्ने अनुभूति हो!'
प्रशिक्षकले लोकप्रिय उक्ति उद्धरण गरिन्, 'रङ त प्रकृति र ब्रह्माण्डको आत्मा हो!'
हामी उभिई उभिई रेखांकन गर्न थाल्यौं। अगाडि नभएकोलाई सम्झेर चित्र बनाउनु थियो। अन्ततः त्यसले हामीलाई अगाडि भएकै चीजलाई— अझ धेरै हेर्न सिकायो।
सादा कागजमा हामीले आफूपिच्छे बिरूवाको हाँगा समातेका थियौं। हराएको भागले हामीलाई त्यस बिरूवाको बाँकी रूप हेर्न बाध्य बनायो।
बिरूवाको हराएको भागले हामीलाई उसको पूरा रूप र रङ खोतल्न लगायो।
एकोहोरो प्रेममा परेको चित्रकारजस्तो।
अरू दिन पनि दैनिक कार्यशालामा दिउँसो हामी चित्रकला गर्थ्यौं। यस्तो भान हुन्थ्यो, हामी कृषि प्रशिक्षक प्रशिक्षणमा होइन, पानीचित्र प्रतियोगितामा भाग लिन एसियाका विभिन्न मुकामबाट दक्षिण भारतको एउटा रंगीन हिलस्टेसनमा जम्मा भएका छौं।
अरूहरूले यहाँ आएर इन्स्टाग्रामका रिल खिचीवरी हिलस्टेसनलाई रिलस्टेसन बनाइसके। हामी भने रंगस्टेसन हो प्रमाणित गर्न विद्यार्थीझैं खटिएका छौं।
मलाई चित्र बनाउन आउँदैनथ्यो, तर त्यो हराएको डाँठ सम्झेर मैले जुन स्केच गरेँ, त्यसले मलाई सान्त्वना दियो। हराएको डाँठ मैले कल्पनामा खोजेर ल्याएँ। कल्पना गर्नुअघि त्यो डाँठ सम्झिन जुन प्रयत्न गरेँ, त्यसले मलाई बिरूवाका कणरूपी रूप, रङ, केस्रा–केस्रा नियाल्ने अवसर दियो।
त्यो दिन हामीले एउटा हराएको डाँठ वा पातको चित्रसँगै आफ्नो सीमा, स्वार्थ, मानिस हुनुको बडप्पन, मपाईंत्व आदिले हामीलाई के के न जान्ने–बुझ्ने कहलिएको अहंकार बुझ्ने चाल पायौं र पातका रंगको चेतनाले आफ्नो अहमको घाउमा मल्हम लगायौं।
चित्र हामीले डाँठ वा पातको मात्र बनाएका थिएनौं।
हामीले आफ्नो हेर्ने क्षमताको पनि चित्र बनाउँदै थियौं।
म आफै छक्क परेँ, आफ्नै हातले एउटा आकृति बनेछ! कम्तीमा एउटा आकार आएछ। त्यो पनि बिरूवाको सूक्ष्म गति अनुभूति गरिएको। त्यति सघन भावनाको उत्तेजनापूर्ण अभिव्यक्ति।
पहिलो प्रेमपत्रको पहिलो हरफजस्तो— व्याकरण नमिलेको तर भावना मिलेको!
भ्यान गोले त भनेकै थिए, 'तिमी प्रकृतिलाई साँच्चै प्रेम गर्छौ भने, तिमीले हरेक ठाउँमा सौन्दर्य भेट्टाउनेछौ।'
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle