सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाह र आफूबीच कुनै मनमुटाव नभएको दाबी गर्दै त्यसका लागि 'औंठाछाप लगाउनुपरे पनि तयार छु' भनेका छन्।
केही समययता प्रधानमन्त्री र पार्टी सभापतिको सम्बन्ध चिसिएको चर्चा र शंका–उपशंकाबीच लामिछानेले शनिबार केन्द्रीय समिति बैठकमा आफूहरूबीच कुनै फाटो नआएको दाबी दोहोर्याएका हुन्।
'तपाईंहरूले बाहिर मिडियामा रवि र बालेनको बीचमा फाटो भनेर सुन्नुहुन्छ, पढ्नुहुन्छ होला। त्यस्तो केही पनि छैन। कुनै ठाउँमा औंठाछाप लगाउने भए म लगाउँछु। पाँच वर्ष कसैले पनि बालेन र मेरो बीचमा फाटो ल्याउन सक्दैन। यो सरकारले पाँच वर्ष काम गर्छ,' सभापति लामिछानेको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने।
सेतोपाटीसँग कुराकानी गरेका केन्द्रीय सदस्यहरूका अनुसार बैठकमा लामिछानेले झन्डै एक घन्टा बोलेका थिए।
सरकार, मन्त्री, पार्टी र संगठनका विषयमा धारणा राख्ने क्रममा उनले विशेषगरी आफू र प्रधानमन्त्री शाहबीच फाटो आएको चर्चाबारे स्पष्टीकरण दिएको हामीले कुरा गरेका केन्द्रीय सदस्यहरूको भनाइ छ।
लामिछानेले आफूलाई अहिले प्रधानमन्त्री बन्ने कुनै चासो नरहेको पनि बताएका थिए।
'मलाई अहिले प्रधानमन्त्री बन्ने लोभ छैन। त्यतातिर मैले सोचेको पनि छैन,' लामिछानेको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, 'पार्टी सभापतिको कुर्सीबाट हेर्दा प्रधानमन्त्री पद धेरै सानो कुरा हो।'
उनले अगाडि भने, 'उहाँले सरकार, मन्त्री, पार्टी र संगठनबारे धेरै कुराहरू भन्नुभयो। सम्झाउनुभयो। विशेषगरी प्रधानमन्त्री बालेनसँग फाटो आएको भनेर जसरी बाहिर भनिएको छ, त्यस्तो नभएको क्लियर पार्नुभयो।'
मन्त्रीहरूले कार्यकर्ता नभेटेको गुनासो
शनिबारको बैठकमा केन्द्रीय सदस्यहरूले मन्त्रीहरूले कार्यकर्तालाई नभेटेको र उनीहरूका कुरा नसुनेको गुनासो गरेका थिए।
दोलखाका जगदीश खरेल, दाङकी संगीता केसी लगायत केन्द्रीय सदस्यले मन्त्रीहरू कार्यकर्तासँग पर्याप्त सम्पर्कमा नरहेको गुनासो गरेका हुन्।
त्यसपछि लामिछानेले कार्यकर्तालाई बेवास्ता नगर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए।
'कार्यकर्तालाई मन्त्रीले भेटेन भने, उनीहरूका मुद्दामा काम गरेन भने पार्टीले राम्रो मान्दैन। यो कुरा अब केन्द्रीय समितिमा नउठोस्। हरेक कार्यकर्ताको सम्मान गर्नुपर्छ। सबिता मन्त्रीज्यूलाई मैले यो जिम्मेवारी दिएको छु,' लामिछानेलाई उद्धृत गर्दै बैठकमा सहभागी केन्द्रीय सदस्यले भने।
बहुदलीय व्यवस्थामा पार्टीको सिद्धान्त र नीति अनुसार सरकार चल्नुपर्ने र संसारभरि यही नियम रहेको पनि लामिछानेले बताएका थिए।
६ महिना संगठन विस्तारमा खटिन निर्देशन
सभापति लामिछानेले पार्टी संगठन गाउँ-गाउँसम्म विस्तार गरेर बलियो बनाउन अबको ६ महिना दिनरात नभनी खटिन सबैलाई निर्देशन दिएका छन्।
आगामी चुनावमा राम्रो नतिजा ल्याउन अबको ६ महिना सबैले पार्टी संगठन विस्तारमा खटिनुपर्ने उनको भनाइ थियो।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन गरेको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन आचार्य संयोजकत्वको उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको हो।
समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कबिन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य छन्।
पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने पार्टी प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बैठकले १३ वटा केन्द्रीय विभागका प्रमुखको पनि मनोनयन गरेको छ।
प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान तथा कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्यलाई प्रमुख बनाइएको छ।
त्यस्तै, सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा; सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य; सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल प्रमुख छन्।
विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल; कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता; श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह (महोत्तरी); आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल; विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द; संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी तथा वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसीलाई प्रमुख बनाइएको छ।
त्यस्तै, अभियान तथा प्रचारप्रसार विभागमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लीश्वर कार्की (रोहन) लाई उपप्रमुखमा मनोनयन गरिएको छ।
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ।
मधेसको संगठनबारे प्रतिवेदन
मधेस प्रदेशमा पार्टी संगठनमा देखिएका समस्या र त्यसको समाधानबारे सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन पनि बैठकमा पेस भएको छ।
कार्यदलले उक्त प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएको छ।
प्रतिवेदन अध्ययन गरेपछि उपयुक्त कदम चाल्ने रास्वपाले जनाएको छ।
असोज २० देखि 'हामी आउँदै छौं' अभियान
रास्वपाले असोज २० देखि २७ गतेसम्म 'हामी आउँदै छौं' अभियान सञ्चालन गर्ने भएको छ।
अभियानअन्तर्गत केन्द्रीय सदस्य र सांसदहरू ७७ जिल्लाका ७५३ स्थानीय तहसम्म पुगेर जनता, पार्टीका सदस्य तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन गर्नेछन्।
बैठकले सबै केन्द्रीय सदस्य र सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ।
नयाँ केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोजिने
रास्वपाले काठमाडौं उपत्यकामा पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि जमिन वा घर खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ।
बैठकले केन्द्रीय कार्यालय अन्यत्र सार्नुपर्ने आवश्यकता महसुस गर्दै उपत्यकाको पायक पर्ने स्थानमा जमिन वा घर खरिदका लागि खोजी गर्न अनुरोध गरेको हो।
रास्वपा बैठकले विजया दशमी, दीपावली, छठ लगायत पर्वको अवसरमा सबैलाई शुभकामना पनि व्यक्त गरेको छ।
***