संघर्ष जारी छ
छैन कुनै उत्साह
तर हताश पनि त छैन
फेरि पाउने आस पनि त छैन
अनि गुमाउने डर पनि त छैन
छैन र छको बिचमा
न रहर
न त कहर नै
छ भनूँ भने खोज्नुपर्छ
छैन भनूँ भने, छ कता-कता
तिलको गेडा छैन सानो
न्यानो मिटरले हेर्नु पर्ने
तिल जो तेल बन्छ
फेरि पिना पनि त बन्छ
त्यस्तै झिनो आशा
श्वास छँदै पूरा होला कि
क्रिया गर्नु पर्ला
ती सपनाहरूको
कोलाहल मसानघाटको कि
भजन कीर्तनको
के फरक पर्छ!
उत्साह न्वारनको कि बर्खीको
कसलाई मतलब
बल त आफै गर्नुपर्ने
तर तलाउको पिँधमा जमेर बसेको
लेउ लागेको पानी जस्तै
ताल न बेतालमा बाँचिरहेको मलाई
कत्ति चिन्ता र आशा
आफ्ना सपनाहरूको
कसले पूरा गर्छ
सक्ने भन्दा ज्यादा भारी सपनाको
गह्रुङ्गो भारीले च्यापेर
नपुंसक भएको पुरुष झैँ
सपनाको बोझले
थलिएको एक निरीह मानिस
सल्लाह दिनेहरूको भिडबाट
छेलिएर भाग्दै भाग्दै गरिरहेको
निरीह मनुवा म।