अहिले सेयर बजारमा मुख्य तीन विषयले चर्चा पाइरहेको छ।
पहिलो, सरकारले नै बजार सकारात्मक बनोस् भन्ने उद्देश्य राखिरहँदा पनि लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन्। नयाँ सरकार बनेलगत्तै व्यवसायी पक्राउका घटनाको प्रभाव बजारमा देखिएको थियो। सरकारले अहिले बजार सकारात्मक बनोस् भन्ने ध्येयले विभिन्न व्यवस्था गर्दा पनि माहोल बनेको देखिँदैन।
बजारमा सकारात्मक सन्देश दिन बजेटबाट आफैले बढाएको कर दुई महिना नहुँदै सरकारले घटायो। राष्ट्र बैंक र धितोपत्र बोर्ड मार्फत् पनि बजार सुधारका प्रयास गरिरहेको छ।
दोस्रो, सेयर बजार कारोबार प्रणाली राखिएको डेटा सर्भरमा केही समयअघि साइबर आक्रमण भयो। यसले पनि प्रविधि प्रति लगानीकर्ताको विश्वास कमजोर बनायो।
तेस्रो, पछिल्लो समय केही कम्पनीहरूको तीन वर्षको लकिङ पिरियड खुला भएसँगै ठूला संस्थापकहरूले सेयर बिक्री गर्न थाले। तर यसलाई संस्थापकहरू कम्पनी छाडेरै हिँडेको भन्ने अर्थमा व्याख्या भइरहेको छ। यस विषयमा लगानीकर्ताहरू एक आपसमै यसको पक्ष र विपक्षमा रहेर तर्क गरिरहेका छन्।
अहिले बजारमा चलेका र प्रभाव पारिरहेका यिनै विषयमा रहेर सेतापाटी संवाददाता विजयराज खनालले लगानीकर्ता तथा सेयर विश्लेषक सुवाष चन्द्र ढुंगानासँग कुराकारी गरेका छन्।
कुराकानीमा उठाइएका मुख्य ५ बुँदा
१. सरकारले कर कटौती लगायत सेयर बजार सुधारका लागि गरेका नीतिगत प्रयास, त्यसको प्रभाव, लगानीकर्ताको मनोबल र बजारप्रतिको विश्वास तथा तत्कालका निर्णयभन्दा दीर्घकालीन नीतिगत स्थिरताको आवश्यकता।
२. सेयर बजार बलियो र स्थिर बनाउन संस्थागत लगानीकर्ताको सहभागिता र सक्रियता बढाउने तथा बैंक तथा वित्तीय संस्थाले सेयरमा गर्न पाउने लगानीसम्बन्धी व्यवस्थामा सुधार गर्नुपर्ने विषय।
३. कम्पनीले आफ्नै सेयर फिर्ता किन्ने बाइब्याक, सेयर स्प्लिट र संस्थापक सेयरको लकिङ पिरियडसम्बन्धी व्यवस्थाले बजारमा पार्ने प्रभाव तथा यी व्यवस्थालाई थप व्यवस्थित गर्नुपर्ने विषय।
४. प्राथमिक सेयर निष्कासनको मूल्य निर्धारण, बुक बिल्डिङ प्रक्रिया र त्यसमा देखिएका समस्या तथा सुधारका सम्भावित विकल्प।
५. सेयर बजारको डेटा सर्भर र सूचना प्रणालीको साइबर सुरक्षा, मौसमी कारोबारको प्रवृत्ति तथा बजारलाई दीर्घकालीन रूपमा दिगो, सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सुधारका विषय।
हेर्नुहोस् कुराकानीको भिडिओ-