सेयर बजारमा विभिन्न आकृतिहरूको आफ्नै अर्थ र संकेत हुन्छ। त्यसमध्येको एक हो, 'हेड एन्ड सोल्डर्स'।
नेपालीमा अनुवाद गर्दा यसलाई मानिसको शिर र दुई कुम भनेर बुझ्न सकिन्छ। नेप्सेमा पनि विगत भदौ २५ यताको मूल्य शृंखलामा यस्तै आकृति बन्न सक्ने संकेत देखिएको छ।
नेप्से परिसूचकको सो समययताको तथ्यांकले प्राविधिक विश्लेषणमा भनिने 'हेड एन्ड सोल्डर्स' को सम्भावित आकृति देखाएको छ।
भदौ २५ गते नेप्से २५३१ विन्दुमा थियो। त्यसपछि क्रमशः बढ्दै २६३३ पुगेपछि २६१२ मा झरेको थियो।
यस क्रममा नेप्सेको रेखाचित्रमा पहिलो कुमजस्तो आकृति बन्यो। त्यसपछि नेप्से पुनः बढेर २६५४ सम्म पुग्यो र शीरजस्तो आकृति बनायो। त्यहाँबाट घटेर बजार फेरि २६१८ मा आयो।
त्यसपछि पुनः सुधार देखिँदा नेप्से २६२९ सम्म उक्लियो। तर फेरि घट्दै आएको छ।
यस क्रममा २६३३ लाई सम्भावित पहिलो कुम, २६५४ लाई शिर र २६२९ लाई सम्भावित दोस्रो कुमका रूपमा हेर्न सकिन्छ।
तीन वटा उचाइमध्ये बीचको उचाइ सबैभन्दा माथि रहेकाले यो 'हेड एन्ड सोल्डर्स' आकृतिसँग मिल्दोजुल्दो देखिन्छ। यस्तो आकृति हुबहु एउटै आकारमा बन्नैपर्छ भन्ने हुँदैन।
यस आकृतिमा बीचका दुइटा तल्ला बिन्दु पनि महत्त्वपूर्ण हुन्छन्। पहिलो गिरावटमा बजार २६१२ र दोस्रोमा २६१८ सम्म आएको थियो। यी दुई बिन्दु नजिक रहेकाले २६१५ आसपासको क्षेत्रलाई सम्भावित आधार रेखाका रूपमा लिन सकिन्छ।
अहिले बजार यो आधार रेखाभन्दा तल ओर्लिएको छ। मंगलबार नेप्से २६०३ विन्दुमा झरेको छ। त्यसैले अहिले उक्त आकृति बन्ने चरण सकिएर आधार रेखा तल झर्ने प्रयास वा सुरूआती गिरावटको अवस्था देखिएको छ।
तर एक पटक सूचक तल झर्दैमा यो आकृति पूर्ण रूपमा पुष्टि भएको मानिँदैन। आगामी कारोबारमा बजार २६१५ क्षेत्रभन्दा तल टिक्छ वा फेरि त्यसभन्दा माथि फर्किन्छ भन्ने कुरा महत्त्वपूर्ण हुनेछ।
यो आकृतिबाट बजारको सम्भावित लक्ष्य निकाल्दा शिरको उच्च बिन्दु र आधार रेखाबीचको दुरीलाई आधार मानिन्छ। यहाँ २६५४ र २६१५ बीचको अन्तर करिब ३९ अंक हुन्छ। यही दुरीलाई आधार रेखा २६१५ बाट तल घटाउँदा करिब २५७६ विन्दुको सम्भावित लक्ष्य आउँछ।
तर यो केवल आकृतिका आधारमा निकालिएको सम्भावित लक्ष्य हो। बजार अनिवार्य रूपमा त्यही विन्दुसम्म घट्छ भन्ने हुँदैन।

अहिले नेप्सेमा देखिएको यस्तो आकृतिलाई सम्भावित आकृतिका रूपमा मात्रै लिन सकिन्छ। यसको एउटा कारण यो आकृति छोटो अवधिमा, करिब एक महिनाभित्रै देखिएकोले हो।
हेड एन्ड सोल्डर्स बन्न निश्चित रूपमा कति समय लाग्नुपर्छ भन्ने ठोस नियम छैन। तर छोटो अवधिमा बनेको आकृतिको संकेतलाई अन्य प्राविधिक आधारसँग पनि हेर्नुपर्ने हुन्छ।
त्यसैले अहिले बजारका लागि २६०० आसपासको क्षेत्र पनि महत्त्वपूर्ण देखिन्छ। आगामी कारोबारमा बजारले यस क्षेत्रमा टेवा पाएर पुनः बढ्न थालेमा अहिले देखिएको हेड एन्ड सोल्डर्सको सम्भावित संकेत कमजोर वा असफल भएको मान्न सकिन्छ।
अर्कोतर्फ, २६०० क्षेत्रसमेत भत्किएर बजार तलतिर गएमा अहिले देखिएको घट्दो संकेत थप स्पष्ट हुन सक्छ।