उत्तानो परिरहनु
मुर्दा मानिस झैँ
घरी घरी
जिउँदो हनुको भान पार्न
मात्रै चलमलाउनु
धन्न प्रभु
एउटा झ्याल छ कोठामा
होइन भने त
के फरक
त्यो मुर्दा घर
अनि यो कोठामा
बर्खासँगै झरी परिरहन्छ
झरी पछिको आकाश
बिस्तारै फाट्दै छन्
चाँदी झैँ टल्कने
बादलका भुवाहरू
खुल्दै छ आकाश
म प्रफुल्लित हुँदै नियाली रहन्छु।
चलायमान बादलका टुक्राहरू
जसरी खुसी हुन्छिन् आमा
आफ्नो नाबालक छोरो बायाँ सर्दा
उज्यालिन्छ चेहरा
अनि आकाश पनि
देखिन्छ निलो
शान्तिको प्रतीक निलो
मन अशान्त भए पनि
छिर्छन् उषाका किरणहरू
स्पर्श गरिरहन्छन्
आङभरि भरि
यौवनले भरिएकी नवयुवतीलाई झैँ
काउकुती लागिरहन्छ
उत्साह जागिरहन्छ
उसको स्पर्शको
उसको मायाको
र त चलमलाउन सकेछु अहिलेसम्म
छियाछिया मुटु भएर पनि
निद्रा हराएको वर्षौँ हुँदासम्म पनि
कत्ति पनि विचलित नभएर
रहरलाई जगाइराखेर
प्रकाश,
उज्यालो बनाउँछ कोठा
उत्साह जोगाइरहन्छ मनमा
अनि आशा
जोगाइरहन्छ श्वास मान्छेको
जत्ति नै ठुलो आपत्ति परे पनि।