पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सुरक्षा 'थ्रेट' रहेको कारण देखाउँदै मध्यरात पक्राउ गरिएको घटनाले केही गम्भीर प्रश्न उठाएको छ —
यदि पूर्वप्रधानन्यायाधीश राणालाई 'सुरक्षा थ्रेट' छ भने राज्यले उनको सुरक्षाका लागि के गरिरहेको छ?
सरकारले उनको सुरक्षा बढायो कि बढाएन? थप सुरक्षाकर्मी परिचालन गर्यो कि गरेन?
उनलाई थ्रेट दिने व्यक्ति वा समूह पहिचान भयो कि भएन? र, ती व्यक्ति वा समूहसम्म प्रहरी पुग्यो कि पुगेन?
हामीले यसबारे प्रहरीका केही उच्च अधिकारीसँग कुरा गर्दा उनीहरूले 'सुरक्षा थ्रेट' छ भनिएका पूर्वप्रधानन्यायाधीशका लागि थप कति सुरक्षाकर्मी खटिएका छन् भन्ने विवरण उपलब्ध गराएनन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख तथा एसएसपी दिलीप घिमिरेका अनुसार राणा अहिले पनि बाँसबारीस्थित आफ्नै निवासमा छन्। त्यहाँ प्रहरी परिसरबाट सुरक्षा गस्ती बढाइएको उनले दाबी गरे।
'सुरक्षा दिने विषयमा विभिन्न निकायबाट प्रहरी खटाउने गरिन्छ। हाम्रो निकायको काम उहाँको घर बाहिरको क्षेत्रमा गस्ती गर्ने हो। हामीले त्यसलाई बढाएका छौं,' उनले मंगलबार सेतोपाटीसँग भने, 'बाँकी काठमाडौं उपत्यका प्रहरी कार्यालयले खटाउने भएकाले त्यहीँ बुझ्नुपर्ला।'
आइतबारको घटनाअघि राणाको सुरक्षामा एक जना प्रहरीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) का रूपमा खटाइएको थियो। अहिले त्यो संख्या कति बढाइयो भन्ने तथ्यांक प्रहरीले सार्वजनिक गरेको छैन।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा डिआइजी गोविन्द थापलियाले उनको सुरक्षामा आवश्यकता अनुसार थपघट हुने गरी प्रहरी परिचालन गरिएको दाबी गरे।
तर कति जना थपिए भन्ने संख्या सार्वजनिक गर्न नमिल्ने उनले बताए।
'संख्या भन्न मिल्दैन। आवश्यकता अनुसार थपघट भइरहन्छ। यति नै हुन्छ भन्ने यकिन हुन्न। पहिला उहाँको सुरक्षामा एक जना प्रहरीको पिएसओ खटिने गरेको थियो। बाहिर सशस्त्र प्रहरी बस्ने हो,' डिआइजी थपलियाले सेतोपाटीसँग भने।
उनका अनुसार राणाको निवासबाहिर सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ। उनीहरूको काम सम्भावित जोखिमबारे सूचना संकलन गर्नु र निगरानी राख्नु हो भन्ने थपलियाको भनाइ छ।
'बाहिर थप सूचना संकलन गर्ने हिसाबले निगरानी गर्न सादा पोसाकका प्रहरी परिचालन भएका छन्। आवश्यक परे, थ्रेट बढ्यो भने संख्या थप्छौं। अपराध अनुसन्धानका प्रहरी र स्थानीय प्रहरी पनि परिचालन गरेका छौं,' उनले भने।
प्रहरी स्रोतले भने सूचना संकलनका लागि दुई–तीन जना प्रहरी मात्र बाहिर परिचालन गरिएको बताएको छ।
यसबाहेक पूर्वप्रधानन्यायाधीशको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली पनि खटिन्छ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डिआइजी नेत्रबहादुर कार्कीले राणाको सुरक्षाका लागि सशस्त्र प्रहरी संख्या थपघट नगरिएको बताए।
'हामीले सरकारको कार्यविधि अनुसार जति खटाउनुपर्ने हो, त्यति मात्रै खटाएका छौं। त्यसबाहेक थपिएको वा घटाइएको भन्ने कुरा मलाई जानकारी भएन,' उनले भने।
स्रोतका अनुसार सशस्त्रका पाँच प्रहरी खटिएका छन्। त्यसबाहेक थप परिचालन गरिएको छैन।
थ्रेट दिनेहरू कहाँ छन्?
सुरक्षा व्यवस्थामा परिवर्तनको विवरणसँगै अर्को महत्त्वपूर्ण प्रश्न थ्रेटको स्रोतबारे हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार, राणालाई सुरक्षा थ्रेट रहेको सूचना आएपछि आइतबार बिहान करिब १ बजे प्रहरी टोली बाँसबारीस्थित निवास पुगेको थियो।
डिएसपी योगराज खतिवडाको नेतृत्वमा गएको टोलीले उनलाई पक्राउ गरेर राति करिब ३ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुर्याएको हो।
यसबीच सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले राणालाई 'मोबाइलमा टेक्स्ट मेसेजमार्फत सुरक्षा थ्रेट आएको' र त्यसै आधारमा 'सुरक्षित स्थानमा सारिएको' बताएका छन्।
सोमबार मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेका प्रश्नको जबाफ दिँदै उनले भने, 'पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरबारे प्रश्न सबैतिरबाट आएको छ। उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिएको पनि होइन। सुरक्षा दिन उद्धार गरिएको हो।'
'उहाँको परिवारबाट थप सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन पठाउनुभएको छ,' मन्त्री पोखरेलले अगाडि भने, 'उहाँहरूले सुरक्षा माग गरेर निवेदन दिएकाले पनि पक्राउ गरिएको होइन भन्ने पुष्टि गर्छ।'
तर राणाको मोबाइलमा कस्तो सुरक्षा थ्रेट आएको थियो र त्यो कसले पठाएको थियो भन्नेबारे सरकारले खुलाएको छैन।
प्रहरी पनि अहिलेसम्म यसबारे मौन छ।
त्यो थ्रेट कसबाट आएको थियो? के कुनै व्यक्ति वा समूहले राणालाई प्रत्यक्ष धम्की दिएको थियो?
के सुरक्षा निकायले त्यसको सूचना पाएको थियो?
यदि पाएको थियो भने त्यसको विश्वसनीयता कसरी परीक्षण गरियो?
र, सम्भावित थ्रेट दिने व्यक्ति वा समूह पहिचान गरेर प्रहरीले कसैलाई पक्राउ गरेको छ कि छैन?
यी प्रश्नको जबाफ अहिलेसम्म सार्वजनिक भएको छैन।
यसबीच पूर्वप्रधानन्यायाधीश राणाका छोरा सच्चिन्द्रले सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा दर्ता गरेको पत्र सार्वजनिक भएको छ।
'मैले विगतमा राज्यका अंगहरूमा वहन गरेका जिम्मेवारी, राज्यको न्यायपालिका प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णय लगायतका कारण पनि ममाथि थप असुरक्षा महसुस भएको छ,' चोलेन्द्रका तर्फबाट सचिन्द्रले लेखेको भनिएको पत्रमा उल्लेख छ।
यो पत्र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई लेखिएको थियो।
यी पनि पढ्नुहोस्:
***