नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा हुँदैछ।
वडा, पालिका, प्रदेश सभा, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्ने अन्तिम तयारीमा कांग्रेस छ।
जिल्ला र प्रदेश कार्यसमिति अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुनेछ। विगतमा पनि यस्तो अभ्यास थियो।
२०७८ सालमा १४ औं महाधिवेशन हुँदा ६१ जिल्ला अधिवेशन मात्रै सकिएका थिए, केन्द्रीय महाधिवेशनपछि बाँकी जिल्ला अधिवेशन गरिएको थियो।
कांग्रेसले यसपालि सकेसम्म सर्वसम्मत रूपमा कार्यसमिति गठनलाई प्राथमिकता दिएको छ। वडा तहमा यो लगभग सफल भए पनि पालिका, प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा कतिपय ठाउँमा प्रतिस्पर्धा र विवादसम्म पुगेका छन्।
तत्कालीन महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले रूपान्तरण र पुस्तान्तरण अभियान चलाउँदै गत पुसमा विशेष महाधिवेशन गरेका थिए। उक्त महाधिवेशनले युवाको प्रतिनिधित्व बढाउने गरी विधान संशोधन गरेको थियो र त्यसअनुसार १५ औं महाधिवेशन हुन गइरहेको छ।
यसपालिको कांग्रेस महाधिवेशनमा के के नयाँ छन्? धेरै समयपछि खुलामञ्चमा राजनीतिक कार्यक्रम हुन लागेको छ।
‘१५ औं महाधिवेशन ऐतिहासिक ठाउँ, २०३६ सालमा बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता र अधिकारका लागि उद्घोष गरेको र गणेशमान सिंहले नेपाली जनतालाई २०४६ सालमा नेतृत्व दिएको ठाउँ खुलामञ्चमा हुँदैछ,’ प्रवक्ता देवराज चालिसेले भने, ‘त्यसको प्रतिकात्मक महत्त्व पनि छ, खुलामञ्चमै महाधिवेशनका सबै कार्यक्रम हुन्छन्।’
हामी कांग्रेस १५ औं महाधिवेशनका नयाँ विषयबारे ५ बुँदामा चर्चा गर्दैछौं-
१. नेताहरू वडाबाटै आउनुपर्ने व्यवस्था
नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउँदैनन्। जुन तहका नेता भए पनि क्रियाशील सदस्य रहेको वडाबाटै क्षेत्रीय प्रतिनिधि बनेर क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था छ। सर्वसम्मत नभएका ठाउँमा निर्वाचनबाट महाधिवेशन प्रतिनिधि चयन भइरहेका छन्।
विगतमा पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। गत पुसको विशेष महाधिवेशनबाट विधान संशोधन गरेर त्यो व्यवस्था हटाउँदै नेतालाई वडाबाटै आउने व्यवस्था गरिएको हो। यसअनुसार सभापति गगन थापासहित नेताहरू वडाबाटै प्रतिनिधि बन्दै आएका छन्।
अधिकांश ठाउँमा सर्वसम्मत र केही ठाउँमा निर्वाचनबाट पनि महाधिवेशन प्रतिनिधिहरू चयन भइरहेका छन्।
२. प्राथमिकतामा ३५ वर्षमुनिका युवा
वडा कार्यसमितिमा ३० वर्षमुनिका कम्तीमा एक जना युवा सदस्य रहनेछन्। यो विधानको बाध्यकारी व्यवस्था हो। कांग्रेसले ६ हजार ७ सय ४३ वडामा अधिवेशन सकेको जनाएको छ। त्यसअनुसार वडामा युवा प्रतिनिधित्व भइसकेको छ।
वडाबाट क्षेत्रीय प्रतिनिधि पठाउँदा पनि ३० वर्ष नपुगेको एक महिलासहित तीन जना युवा प्रत्यक्ष निर्वाचनका माध्यमबाट पठाइसकेको छ। यसैगरी ३५ वर्षमुनिका युवालाई पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पनि प्रतिनिधित्व हुने व्यवस्था छ। यसअनुसार केन्द्रीय समितिमा ३५ वर्षमुनिका प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जना चुनिनेछन्।
महाधिवेशन प्रतिनिधि आउँदा प्रत्येक प्रतिनिधि सभा क्षेत्रबाट एक महिलासहित तीन जना ३५ वर्षमुनिका युवा आउनेछन्। जसअनुसार ४९५ जना युवा महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा आउनेछन्।
३. सात हजार हाराहारी महाधिवेशन प्रतिनिधि, कहाँबाट कति?
गत पुसमा भएको विशेष महाधिवेशनले गरेको संशोधित विधानअनुसार १५औँ महाधिवेशन हुनेछ। त्यसअनुसार प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ३३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्। देशमा १६५ प्रतिनिधि सभा क्षेत्र रहेकाले यहाँबाट ५ हजार ४ सय ४५ महाधिवेशन प्रतिनिधि आउँछन्। ७५३ पालिका सभापति र ३३० प्रदेश सभा क्षेत्रीय सभापति पनि पदेन महाधिवेशन प्रतिनिधि रहनेछन्।
जनसम्पर्क समितिबाट पनि प्रतिनिधि आउनेछन्। कांग्रेसमा ३७ देशमा जनसम्पर्क समिति छ र करिब २८ जनसम्पर्क समितिबाट प्रतिनिधि आउने तयारी छ। महाधिवेशन प्रतिनिधि कति आउने भन्ने जनसम्पर्क समितिमा रहेका क्रियाशील सदस्यको आधारमा तय हुन्छ। १०० क्रियाशील बराबर एक, ५०० क्रियाशील बराबर सात र दुई हजारभन्दा बढी भए १४ जनाका दरले महाधिवेशन प्रतिनिधि आउँछन्।
नेविसंघ, तरुण दल, महिला संघ, किसान संघलगायत भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।
केन्द्रीय सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्न पाउने व्यवस्था विधानमा छ। जसअनुसार सभापति गगन थापाले ७५ जना महाधिवेशन प्रतिनिधि मनोनीत गर्नेछन्। यसअनुसार सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि हुनेछन्। यो २०७८ मा कांग्रेसले गरेको १४औँ महाधिवेशनको भन्दा करिब २३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनु हो।
विधानको नयाँ व्यवस्थाअनुसार ३५ वर्षमुनिका झन्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताए। उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको दाबीसमेत गरेका छन्।
४. उद्घाटन र बन्दसत्र खुलामञ्चमै
कांग्रेसले यसपालि महाधिवेशन उद्घाटन र बन्दसत्र काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। उद्घाटन असोज १८ गते दिउँसो २ बजे हुनेछ। संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने नेपालका विभिन्न दलहरू र भारत, चीनसहित विभिन्न देशका पार्टीहरूलाई पनि उद्घाटन सत्रका लागि निम्तो दिइएको कांग्रेसले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज १५ गतेभित्र महाधिवेशन प्रतिनिधिको नामावली पठाइसक्नुपर्ने हुन्छ। असोज १६ र १७ गते महाधिवेशन प्रतिनिधि रजिस्ट्रेसन दर्ता हुनेछ। असोज १८ गते उद्घाटन र असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र चल्नेछ। सात हजार हाराहारी महाधिवेशन प्रतिनिधि रहने र त्यतिको संख्या एकै ठाउँमा अट्ने हल नहुँदा खुलामञ्चमै बन्दसत्र गर्ने तयारी छ।
त्यसपछि निर्वाचन कार्यक्रम अघि बढ्नेछ। असोज २१ र २२ गते निर्वाचन हुनेछ।
निर्वाचनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्य आउनेछन्। निर्वाचनका लागि काठमाडौंका ७ ठाउँमा मतदान केन्द्र तोक्ने तयारी छ। सात प्रदेशका लागि बेग्लाबेग्लै स्थान रहने गरी, एक केन्द्रमा १ हजार मतदाताले मत हाल्न मिल्ने गरी व्यवस्थापन मिलाउने तयारी छ।
विद्युतीय मेसिनबाट मतदान हुनेछैन। एक जना महाधिवेशन प्रतिनिधिलाई मत दिन कम्तीमा ५० मिनेट लाग्न सक्ने आकलन छ।
केन्द्रीय समितिमा पछि सभापतिले समावेशी सिद्धान्तका आधारमा ६१ जना मनोनीत गर्नेछन्।
केन्द्रीय सदस्यमध्येबाट एक कोषाध्यक्ष र तीन सहमहामन्त्री मनोनीत गर्ने व्यवस्था छ। नयाँ विधानअनुसार प्रदेश सभापतिहरू पनि स्वतः केन्द्रीय सदस्य रहनेछन् र २३१ सदस्यीय कार्यसमिति बन्नेछ। विगतमा १६८ सदस्यीय कार्यसमिति थियो।
यसपालि कांग्रेसले विभिन्न पेसा र क्षेत्रमा रहेकाहरूलाई पनि केन्द्रीय समितिमा ल्याउँदैछ।
५. समानान्तर महाधिवेशन हुँदै
कांग्रेसमा समानान्तर महाधिवेशन हुँदैछ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्दैछन्। गत पुसमा देउवा पक्षको असहमतिबीच विशेष महाधिवेशन भएको थियो। त्यसपछि उत्पन्न मतभेद निर्वाचन आयोग र सर्वोच्च अदालत पुगे पनि अझै समाधान भइसकेको छैन।
देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासहित कतिपय नेता संस्थापन पक्षले गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन्। चुनदेवीमा सम्पर्क कार्यालय खोलेर १५औँ महाधिवेशन तयारी समिति बनाई शशांक कोइरालाको नेतृत्वमा समानान्तर महाधिवेशनको तयारी भइरहेको छ र यो महाधिवेशनमा पनि खड्का र शेखर सहभागी हुने वा नहुने यकिन छैन। किनकि उनीहरूले दुवै महाधिवेशनमा सहभागी नहुने अडान राखिरहेका छन्।
समानान्तर महाधिवेशन हुने भएपछि वडा तहदेखि नै कांग्रेसका नाममा दुई अधिवेशन हुने भएको हो।