युनिभर्सिटीबाट रिटायर भएको
सत्रौँ वर्षमा,
ब्याचका जे–जति बाँकी छन्
बुके बोकेर
एकाबिहानै
रमण सरको घरको
गेटबाहिर आइपुगेछन्।
भन्दै थिए—
दिनहुँ दारी काट्छस् अझै,
कपाल रङ्गाउन छाडेको छैनस्,
बिहान–बिहान ट्रेडमिलमा दौडिन्छस्,
फटाफट हिँड्छस्।
कसैले नचाहिँदो बोले
रनक्क रन्किन्छस् अझै,
देश-विदेशमा के हुँदैछ
टिप्छस् र टिप्पणी गर्छस् अझै
कहिले सिनेमा हलमा देखिन्छस्
कहिले ट्रेकिङमा
कहिले लाइब्रेरीमा भेटिन्छस्,
कहिले पुस्तक पसलमा।
गाला चाउरिए पनि
फोटो खिच्न छाडेको छैनस्,
प्रोफाइल पिक्चर पनि बाक्लै फेर्छस्
कहाँबाट ल्याउँछस् यो उमेरमा
यत्रो ऊर्जा ?
भाउजूलाई भनिदे–
हाम्रा लागि खासै दुःख गर्नु पर्दैन,
रातो–सेतो (चिनी नहालेको) चिया भए पुग्छ।
हामी त केवल
त्यही ऊर्जालाई अभिनन्दन गर्न आएका हौँ,
हामी त केवल
तँ कहिल्यै बूढो हुन नपरोस्
भन्न आएका हौँ।