नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा गएको पुसमा विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थिए।
उनले कार्यकर्ताहरूतिर लक्ष्य गर्दै भनेका थिए, 'कांग्रेस अब माथिले होइन, तलले चलाउँछ। अब यहाँ मञ्चमा बस्नेले तल बस्नेलाई सलाम गर्ने हो, जय नेपाल गर्ने हो।'
त्यही विशेष महाधिवेशनबाट सभापति चुनिएका थापा नेतृत्वको कांग्रेस यति बेला १५औं महाधिवेशनको अन्तिम तयारीमा छ।
महाधिवेशन प्रक्रिया जारी रहँदा थापाले आफ्नै नेतृत्वमा पार्टीको तल्लो तहलाई निर्णायक बनाउने अभ्यासको सफल कार्यान्वयन गराएका छन्।
केन्द्रीय नेता भएपछि महाधिवेशन प्रतिनिधि बन्न फेरि कार्यकर्ताको बीचमा जानै नपर्ने पुरानो वैधानिक बाध्यता र अभ्यास फेरेर कांग्रेसले यस पटक वडा तहलाई राजनीतिक रूपले 'भाइब्रान्ट' तुल्याएको छ।
सभापति, उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मले केन्द्रीय समितिमै रहेर महाधिवेशनको प्रतिनिधित्व सुनिश्चित गर्न सक्थे। पार्टीको केन्द्रमा पुगेपछि महाधिवेशनको अर्को ढोका पनि केन्द्रबाटै खुल्थ्यो। यसपटक भने त्यो ढोका बन्द थियो।
केन्द्रीय समितिमै रहेका नेता भए पनि वडा फर्किनैपर्ने वैधानिक व्यवस्था र अहिले भइरहेको महाधिवेशन प्रक्रियामा यसको अभ्यास जारी छ।
अहिले नेता बन्न चाहनेले पहिले वडा तह पार गर्नुपर्छ। क्षेत्रीय प्रतिनिधि बन्नुपर्छ। त्यसपछि आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिनुपर्छ अनि मात्रै कांग्रेसको सर्वोच्च निकायमा पुगेर केन्द्रीय नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बाटो खुला हुन्छ।
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा हुन् वा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री हुन् वा अरू जुनसुकै तहका नेता — यस पटक सबैले वडा तह छिचोल्दै महाधिवेशन प्रतिनिधि बन्न कार्यकर्ताको मत माग्नैपर्यो।
त्यसो त सभापति थापा काठमाडौं–४ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि बने। उपसभापति विश्वप्रकाश शर्मा भने झापा–१ मा चुनावी प्रतिस्पर्धामै ओर्लिए। महामन्त्री गुरूराज घिमिरे मंगलबार भएको मोरङ–४ को निर्वाचनमा उम्मेदवार छन्।
कांग्रेसमा यस पटक भइरहेको अभ्यास आफूहरूका लागि रोचक भएको कार्यकर्ताहरू बताउँछन्।
'पार्टी कति बदलियो, बदलिएन हेर्दै जाने हो,' यसपालि पहिलो पटक क्षेत्रीय प्रतिनिधि बनेका झापा बिर्तामोडका 'जेनजी' रोचक खतिवडाले सेतोपाटीसँग भने, 'तर कांग्रेसको १५औं महाधिवेशनले जतिसुकै ठूलो नेता बन्न चाहनेले पनि पहिले आफ्नै वडाका कार्यकर्तासामु परीक्षा दिनुपर्छ भन्ने स्थापित गरेको छ। यो अहिलेको मुख्य उपलब्धि हो भन्ने लाग्छ।'
राजनीतिशास्त्री कृष्ण पोखरेल यस पटक कांग्रेसले गरेको अभ्यासलाई सकारात्मक सुरूआत मान्छन्।
'केन्द्रीय नेता भएपछि हामी त स्वतः नेता हौं भन्ने खालको जुन हिजोको कांग्रेसको संस्कृति थियो, यस पटक त्यसलाई ब्रेक गरेर नयाँ सुरूआत गर्न खोजेको अर्थमा मैले बुझेको छु,' उनले भने, 'यसलाई सकारात्मक मान्न सकिन्छ।'
क्रिकेटप्रेमी प्राध्यापक पोखरेलले २०औं एसियाली खेलकुदबाट नेपाली टोली बाहिरिएको प्रसंग जोडेर कांग्रेस महाधिवेशनसँग तुलना गरे।
वर्षाका कारण श्रीलंकासँगको क्वार्टरफाइनल खेल मंगलबार नसकिएपछि नेपाली क्रिकेट टोली २०औं एसियाली खेलकुदबाट बाहिरिएको छ। जापानमा जारी प्रतियोगितामा खेल नभएको खण्डमा उच्च वरीयता टोली अघिल्लो चरणमा जाने नियम अनुसार नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। ट्वान्टी–२० विश्व वरीयतामा श्रीलंका नवौं र नेपाल १४औं स्थानमा थिए।
'शक्तिशाली टिम भएकै कारण अघिल्लो चरणमा पुग्न सुविधा पाउने र आफू नेता भइसकेकाले फेरि तल्लो तहमा परीक्षा दिन नपर्ने राजनीतिक संस्कार मलाई उस्तै लाग्छ,' उनले भने, 'तर कांग्रेसको १५औं महाधिवेशनले यस पटक 'ठूला राजनीतिक खेलाडी' लाई पनि मैदानमै उतारेको छ।'
उनका अनुसार यो अभ्यासले तल्लो तहलाई बलियो बनाउँछ। यसबाट केन्द्रीय सभापति बन्ने आकांक्षा राख्ने व्यक्तिले पनि पहिले वडा तहका कार्यकर्तासँग सम्बन्ध कायम गर्नुपर्ने भयो। केन्द्रीय सदस्य भइसकेको व्यक्तिले पनि अर्को पटक महाधिवेशन प्रतिनिधि बन्न त्यही कार्यकर्ताको विश्वास खोज्नुपर्ने भयो।
कांग्रेसको अधिवेशन संरचना अनुसार देशभरका ६ हजार ७४३ वडाबाट प्रक्रिया सुरू हुन्छ। त्यसपछि पालिका, प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै महाधिवेशन प्रतिनिधि छनोट हुने तहगत संरचना छ।
कांग्रेसको विशेष महाधिवेशनबाट संशोधित विधानले नेताहरूले पाउँदै आएको अवसरको पुरानो राजनीतिक सुविधा हटाएको थियो। यसअघि सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्य लगायतलाई निश्चित अवधिका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो।
यसपटक भने केन्द्रीय नेतृत्वमा रहेका दुई सयभन्दा बढी नेताले पनि स्थानीय तहको अधिवेशन प्रक्रियामा फर्किनुपर्यो।
राजनीतिशास्त्री पोखरेल यस्तो अभ्यासले कांग्रेसको नेतृत्वलाई फेरि जमिनी धरातलमा फर्काउने बताउँछन्।
'जुनसुकै तहको नेता होस्, सबै जना कार्यकर्ताबाट नवीकृत बनेर आउनुपर्यो। कार्यकर्ताको नजरमा आफू कति लोकप्रिय छ, उनीहरूले आफूलाई कति रूचाइरहेका छन् भन्ने थाहा पाउन डाउन टू अर्थ, धरातलबाटै छानेर आउने भएपछि भोलि–पर्सि त्यो नेता भए पनि आफ्नो धरातल बिर्सन सक्दैन,' उनले भने, 'नेता भएपछि पनि अर्को महाधिवेशनमा फेरि कार्यकर्ताकहाँ जानुपर्ने भयो भने केन्द्रमा पुगेको नेताले तल्लो तहसँगको सम्बन्ध पूर्णतः तोड्न सक्दैन।'
उनले भनेजस्तै अनुभव तल्लो तहका कार्यकर्ताहरूको छ।
सुनसरीको इनरूवा नगरपालिका–५ का ४७ वर्षीय नवीन दाहाल पहिलो पटक वडा सभापति बनेका छन्। यसअघि उनी वडा सहसचिव थिए। यस पटक निर्विरोध सभापति बनेका छन्।
यो अधिवेशन उनका लागि कांग्रेसभित्र आएको पुस्तान्तरणलाई नजिकबाट हेर्ने अवसर बनेको उनको अभिव्यक्तिले देखाउँछ।
पहिले र अहिलेको अधिवेशनमा तपाईंले गरेको अनुभवमा केही फरक छ? भन्ने सेतोपाटीको प्रश्नमा उनले धेरै फरक महसुस गरेको जबाफ दिए।
'पहिलेको राजनीति भनेको हामी युवाले गर्ने राजनीति होइन, अलिकति उमेर भएका मान्छेहरूले गर्ने हो भन्ने थियो। तर अहिले यो राजनीति त युवाले नै गर्ने रहेछ भन्ने लाग्यो,' उनले भने।
उनले आफूलाई यस्तो लाग्नुको कारण पनि सुनाए।
उनकै वडाबाट १७ वर्षकी युवती क्षेत्रीय प्रतिनिधि बनेकी छन्। आफ्नै घरभित्रकी २१ वर्षीया युवती पनि क्षेत्रीय प्रतिनिधि बनेकी छन्। दाहाल आफै वडा सभापति बने।
सुनसरी कांग्रेसमा लामो समयदेखि परिचित नेता राजीव कोइरालाजस्ता नेताले पनि यस पटक वडाको प्रक्रिया पार गर्नुपर्यो।
'हामी सानै बच्चा हुँदादेखि नै राजीव दाइ नेता हुनुहुन्थ्यो, उहाँले पनि यसपालि वडाबाटै छानिनुपर्यो,' दाहालले भने, 'वडा भनेको जरा हो। सबै क्रियाशील सदस्य, आस्थावान मान्छे बसेर फलानालाई क्षेत्रीय प्रतिनिधि दिनुपर्छ भनेर विश्वास गरेर पठाएपछि त्यही व्यक्ति महाधिवेशन प्रतिनिधि हुँदै भोलि गएर केन्द्रको नेता नै छान्ने तहमा पुग्दा यो धेरै राम्रो हो जस्तो लाग्छ।'
यसले पार्टीको क्षेत्रीय नेतृत्वमा जान चाहनेले होस् वा जिल्ला, प्रदेशमा होस् वा केन्द्र, जहाँ जान चाहनेले पनि गाउँ खोज्नुपर्ने अवस्था बनाएको दाहालको भनाइ छ।
यस्तै अनुभव झापा मेचीनगर–१५ की २३ वर्षीया कृतिका खत्रीको पनि छ। उनी पहिलो पटक क्षेत्रीय प्रतिनिधि बनेकी हुन्।
उनीभन्दा उमेरले धेरै ठूला, आफूले आदर गर्ने अंकल–आन्टीहरूदेखि कहिल्यै चिनजान नभएका अग्रजसम्मले फोन गर्न थाले। भेट्न थाले। नमस्कार गर्न थाले। मत माग्न थाले।
'मलाई एकदमै रमाइलो लाग्यो, जतिसुकै ठूलो नेता भए पनि तल्लो तहबाटै चुनिएर जानुपर्दो रहेछ भन्ने स्थापित भयो भन्ने लाग्छ,' उनले भनिन्।
राजनीतिमा युवाहरूको सहभागिता बढाउनुपर्ने बहस लामो समयदेखि चल्दै आएको नेपालमा यस पटक आफ्नो दलले व्यावहारिक रूपमै अभ्यास गरेको दाबी कांग्रेसजनको छ।
कांग्रेसको नयाँ विधानले ३५ वर्षमुनिका युवालाई वडा तथा प्रतिनिधि संरचनामा ल्याउने व्यवस्था गरेको छ। विधान मस्यौदा समितिका सदस्य-सचिव प्रताप पौडेलका अनुसार अधिवेशन प्रक्रियाबाट करिब ४४ हजार ३५ वर्षमुनिका युवाले पदीय जिम्मेवारी पाउने गणना गरिएको छ।
उपलब्ध विवरण अनुसार ३५ वर्षमुनिका करिब ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि र वडा सदस्यका रूपमा थप १० हजार २७१ युवा आउने संरचना छ।
यसरी झन्डै ४३ हजार ९८६ युवा विभिन्न पदीय जिम्मेवारीमा आउने निश्चित भएको छ।
निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालका अनुसार प्रतिस्पर्धी संख्या निर्वाचित हुनेभन्दा कम्तिमा दोब्बर रहेको हिसाबले करिब एक लाख युवाले अधिवेशन प्रक्रियामा प्रतिस्पर्धा गरेको अनुमान छ।
अहिले कांग्रेसले वडा तहबाटै गरिरहेको अभ्यास अन्य दलमा नभएको होइन। एमालेमा पनि वडा र तलका संगठनात्मक संरचना महत्त्वपूर्ण छन्। यस पटक कांग्रेसले प्रतिनिधि छान्न गरेको अभ्यास र एमालेले गरेको प्रयोगमा फरक भने छ।
एमालेको ११औं महाधिवेशनमा करिब २ हजार २६२ प्रतिनिधि सहभागी भएका थिए। तीमध्ये २ हजार १५४ भौगोलिक तथा गैरभौगोलिक क्षेत्रबाट निर्वाचित र १०८ केन्द्रबाट मनोनीत थिए। केन्द्रीय संरचनाका विभिन्न पदाधिकारी तथा निकायका प्रतिनिधिलाई स्वतः प्रतिनिधित्वको व्यवस्था पनि थियो।
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पनि प्रतिनिधि छनोटको मोडल फरक थियो। ४ हजार २११ प्रतिनिधि सहभागी भएको उक्त महाधिवेशनमा प्रदेश, अन्तर्राष्ट्रिय संरचना, मनोनयन, पार्टीमा समायोजन भएका समूह लगायत विभिन्न श्रेणीबाट प्रतिनिधि आएका थिए। अध्यक्षबाट मनोनित प्रतिनिधि पनि त्यसमा थिए।
त्यसो त कांग्रेसको १४औं महाधिवेशन बेला पनि केन्द्रीय नेतृत्व स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्ने आवाज उठेको थियो। यद्यपि त्यो आवाज स्थापित हुन सकेन।
विशेष महाधिवेशनबाट संशोधित विधानले भने त्यो सुविधा हटायो। त्यसपछि कांग्रेसको १५औं महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मले तल्लो तहबाट प्रतिनिधित्वको बाटो समात्नुपर्यो।
एकातिर संशोधित विधान अनुसार कांग्रेसको संस्थापन पक्षको अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। अर्कातिर, पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर १५औं महाधिवेशनको तयारी गरिरहेको छ।
देउवा पक्षले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी छ।
रोचक कुरा के छ भने, त्यहाँ प्रतिनिधित्वको संरचना कांग्रेसको अहिलेको मूल प्रक्रियाभन्दा फरक छ।
देउवा पक्षले तयार पारेको संरचनामा केन्द्रीय नेताहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने बाटो राखिएको छ। अर्थात्, सम्बन्धित वडामा पुगेर चुनाव लडेरै महाधिवेशन प्रतिनिधि बन्नुपर्ने बाध्यता त्यहाँ छैन।
'हामीले कांग्रेस बदल्यौं भनेर त्यसै दाबी गरेका होइनौं,' कांग्रेस झापा-१ का नवनिर्वाचित सभापति इन्द्र बुढाथोकीले भने, 'यही कांग्रेसभित्र अहिले दुई फरक अभ्यास देखिन्छन्। एउटा भन्छ जतिसुकै ठूलो नेता भए पनि वडामा जाऊ। अर्कोले भनिरहेको छ, केन्द्रीय नेता भएकै आधारमा महाधिवेशन प्रतिनिधित्वको बाटो खुला छ। सांगठनिक जीवनमा आएको यो ठूलो बदलाव हो।'
***