बिहानको चिया पनि राम्रोसँग नसकिँदै विमलको स्वर बैठक कोठाभरि गुन्जियो- ‘तिमी आफैँ भन त विमला! दसैँको बेला घर छोडेर माइत जाने कुरा पनि हुन्छ?’
विमला भने शान्त भएर उभिएकी थिइन्। उनको अनुहारमा कुनै रिस वा झर्को थिएन, केवल एउटा दृढ निर्णय थियो।
विमलाले भनिन्- ‘म यसपालि आमासँग दसैँ मनाउन जान्छु।’
विमलले अचम्म मान्दै उनलाई हेर्यो। विवाह भएको बिस वर्ष भइसकेको थियो। यी बिस वर्षमा विमलाले कहिल्यै दसैँमा माइत जाने कुरा गरेकी थिइनन्। हरेक वर्ष आमाले फोन गर्नुहुन्थ्यो, दिदीले बोलाउनुहुन्थ्यो, दाइले पनि सम्झाउनुहुन्थ्यो तर उनले सधैँ एउटै उत्तर दिन्थिन्- ‘अर्को वर्ष आउँला।’ तर त्यो अर्को वर्ष कहिल्यै आएन।
केही दिनअघि मात्र आमासँग फोनमा कुरा भएको थियो। सामान्य कुराकानीपछि आमाले अचानक भन्नुभएको थियो- ‘छोरी, बिहे गरेपछि तिमीले एउटा दसैँ पनि हामीसँग मनाएकी छैनौ।’
विमला मुस्कुराएकी थिइन्। ‘के गर्नु आमा, जिम्मेवारी हुन्छ।’
उताबाट केही क्षण मौनता छायो। त्यसपछि आमाको मधुरो तर अलिक भावुक स्वर सुनियो- ‘म त त्यसै भन्दै थिएँ। दसैँ आउँदा घर खाली-खाली लाग्छ। तिम्रो बुबा हुँदा कस्तो रमाइलो हुन्थ्यो। अहिले सबै आ-आफ्नो जीवनमा व्यस्त छन्। कहिलेकाहीँ लाग्छ फेरि एक पटक सबै सन्तान एउटै घरमा जम्मा भएर दसैँ मनाएको हेर्न पाए हुन्थ्यो।’
विमलाको मन एकाएक भारी भएको थियो। त्यसपछि आमाले हाँस्ने प्रयास गर्दै भन्नुभएको थियो- ‘खै, अर्को दसैँसम्म म रहुँला नरहुँला, भगवानलाई मात्र थाहा छ।’
त्यो वाक्यले भने विमलाको मन गहिरोसँग छोएको थियो। त्यही दिनदेखि उनको मन माइतीघरतिर उडिरहेको थियो।
घरमा कुरा बढ्दै गयो। विमलले समाज, परम्परा र मान्छेहरूले के भन्लान् भन्ने चिन्ता गरिरहेको थियो। सासूआमा भान्साबाट बाहिर आउनुभयो र सबै कुरा सुन्नुभयो। ससुराबुवालाई पनि बोलाइयो। धेरै बेरसम्म छलफल भयो। अन्ततः ससुराबुवाले गम्भीर स्वरमा भन्नुभयो- ‘यदि तिमीलाई यति धेरै जान मन छ भने जाऊ बुहारी। जीवनमा कहिलेकाहीँ मनले भनेको पनि गर्नुपर्छ।’
सासूआमाले पनि सहमति जनाउनुभयो- ‘हामीलाई अलि नराम्रो त लाग्छ, तर तिमीले पनि त आफ्नो आमासँग समय बिताउने अधिकार राख्छ्यौ।’
विमलाको आँखा रसायो। उनी यति सजिलै अनुमति पाउने अपेक्षा गरेकी थिइनन्। उनले सबैको हात समाउँदै धन्यवाद भनिन्।
भोलिपल्ट बिहानै विमला बस चढेर आफ्नो माइती गाउँतर्फ लागिन्। यसपालि छोराछोरीलाई पनि घरमै छोडेर माइती आएकी थिइन्। उनी केही दिनका लागि केवल छोरी बन्न चाहन्थिन्। बसको झ्यालबाट बाहिर हेर्दै गर्दा हरिया पहाड, धान पाक्न थालेका खेत, खोला, चौतारी र बाल्यकालका अनगिन्ती सम्झनाहरू एकपछि अर्को गर्दै आँखाअगाडि आउन थाले। यही बाटो भएर उनी विद्यालय जान्थिन्। यही बाटोमा साथीहरूसँग दौडिन्थिन्। यही बाटोमा बुबाको हात समाएर बजार जाँदा आफूलाई संसारकै सबैभन्दा सुरक्षित बच्चा ठान्थिन्।
जब बस गाउँको चौतारोमा रोकियो, उनको मुटु अनौठो गरी धड्किन थाल्यो। माइतीघरतर्फ लाग्दा प्रत्येक पाइला स्मृतिले भरिएको थियो। घरको आँगनमा पुग्दा आमा तुलसीको मठमा पानी हालिरहनुभएको थियो। छोरीलाई देख्ने बित्तिकै उहाँ केही क्षण स्तब्ध हुनुभयो। त्यसपछि अनुहारभरि उज्यालो फैलियो।
‘विमला!’ आवाज सुन्नासाथ विमला दौडेर आमाको अँगालोमा हराइन्। दुवैका आँखाबाट आँसु झरिरहेका थिए। त्यो केवल भेटको खुसी थिएन, त्यो वर्षौँको दूरी, सम्झना र मायाको मिलन थियो। आमाले गला भरिएको स्वरमा सोध्नुभयो- ‘साँच्चै आयौ त छोरी?’
विमलाले मुस्कुराउँदै उत्तर दिइन्- ‘आएँ आमा!’
आमाले विमलाको हात समाउँदै भन्नुभयो- ‘मैले त पत्याएकै थिइनँ। तर मैले मनैदेखि भनेकी थिएँ नि!’
घरभित्र पस्दा सबै कुरा उस्तै थियो। पुरानो दराज, झ्याल, भित्तामा टाँसिएको बुबाको फोटो, बैठकको कुनामा राखिएको रेडियो— सबैले विमलालाई बाल्यकालमा फर्काइरहेका थिए। बुबाको फोटोअगाडि पुगेर विमला केही क्षण चुपचाप उभिइन्।
मनमनै भनिन्- ‘बुबा, म दसैँ मनाउन आएँ।’ आँखामा फेरि आँसु भरिए।
आमा उनलाई आराम गर्न भन्नुहुन्थ्यो, तर विमलाको मनले के मान्थ्यो? घर सजाउने काममा उनी निरन्तर लागिरहिन। आँगन सफा गरिन्, तुलसीको मठ रंगाइन्, झ्यालहरू पुछिन्, पूजा कोठा सजाइन् र आँगनमा सुन्दर फूलका बिरुवाहरू रोपिन्।
आमाले छक्क पर्दै भन्नुभयो- ‘छोरी! तिमी त कति सिपालु भइसकिछौ! पहिले त केही काम पनि गर्दैनथ्यौ।’
विमलाले हाँस्दै भनिन्- ‘त्यो बेला तपाईंको धेरै माया थियो आमा। अहिले सासूआमाको अनुशासन छ, सबै सिकेँ।’
आमाले मायालु दृष्टिले छोरीलाई हेरिरहनुभयो।
साँझपख विमलाले आमालाई भान्सामा पस्नै दिइनन्। विमलाले भनिन्- ‘आज तपाईं आराम गर्नुस्। खाना म बनाउँछु।’
उनले सेलरोटी पकाइन्, आलुको तरकारी बनाइन्, खीर तयार गरिन् र विभिन्न परिकार बनाएर टेबलभरि सजाइन्। मिठो बास्नाले घर भरिएको थियो। आमाले एकछिन छोरीलाई हेरिरहनुभयो र भन्नुभयो- ‘समयले साँच्चै मान्छेलाई कति परिवर्तन गरिदिन्छ है।’
खाना खाँदै गर्दा विमलाले सोधिन्, ‘दाइ-भाउजू आउनुहुन्छ?’
आमाले टाउको हल्लाउनुभयो र भन्नुभयो, ‘आउन सक्दैनौँ भनेका छन्। कतै घुम्न जाने योजना छ रे।’
विमलाको अनुहार अलिक मलिन भयो। उनी सबैजना मिलेर दसैँ मनाउने सपना बोकेर आएकी थिइन्। तर आमाले हाँस्दै भन्नुभयो- ‘चिन्ता नगर। तिम्री दिदी आउँदै छे।’
अर्को दिन साँझ दिदी आइपुगिन्। घरको आँगन फेरि हाँसोले भरियो। दुई दिदीबहिनी एकअर्कालाई अँगालेर घरी रोए अनि घरी हाँसे। उनीहरूले रातभरि पुराना सम्झनाहरू साटे। कसरी विद्यालय जाँदा बाटोमा लडेको, कसरी बुबाले दसैँमा नयाँ लुगा ल्याइदिनुहुन्थ्यो, कसरी आमाले भाइटीकाको दिन बिहानैदेखि भान्सा सम्हाल्नुहुन्थ्यो, सबै कुरा फेरि जीवित भए।
दसैँको दिन आयो। घर लिपपोत भयो, सरसफाइ भयो। तुलसीको मठदेखि बगैँचासम्म उज्यालो फैलियो। आमाको अनुहारमा छुट्टै चमक थियो। एक साँझ दिदीले विमलालाई सोधिन्- ‘साँच्चै भन त, तिम्री सासूआमाले यति सजिलै पठाउनुभयो?’
विमला हाँसिन्। ‘सजिलै कहाँ? धेरै बहस भयो। तर अन्ततः आएँ।’ त्यसपछि उनी केही बेर चुप लागिन्। ‘आमाले भनेको एउटा कुरा मनबाट हटेन। अर्को दसैँसम्म म रहुँला नरहुँला भन्ने कुरा...’ दिदीको अनुहार गम्भीर बन्यो। दुवै जना केही बेर मौन बसे।
दसैँको मुख्य दिनको बिहान घरमा असाध्यै रमाइलो वातावरण थियो। तर साँझपख अचानक ढोकामा कसैले ढकढकायो। ढोका खोल्दा दाइ, भाउजू र उनीहरूका छोराछोरी उभिएका थिए। दाइले हाँस्दै भने- ‘सर्प्राइज!’
विमला र दिदी खुसीले कराए, ‘तिमी त नआउने भनेका थियौ रे।’
दाइले हाँस्दै उत्तर दिनुभयो, ‘सर्प्राइज दिन मन लाग्यो।’
त्यसपछि घरमा सुरु भएको रमाइलो शब्दमा बयान गर्न गाह्रो थियो। सबैजना सँगै बसे। पुराना एल्बम हेरे। बुबाको कुरा गरे। बाल्यकालका रमाइला घटना सम्झिए। आमाले आफ्ना सन्तानहरूलाई एकै ठाउँमा देखेर बारम्बार आँखा पुछिरहनु भएको थियो। उहाँको अनुहारमा यति धेरै सन्तुष्टि थियो कि त्यो देख्दा नै मन भरिन्थ्यो।
सबैले आमाको हातबाट टीका ग्रहण गरे। दाइले दुवै बहिनीहरूलाई टीका लगाइदिनु भयो। दिदीले पनि बहिनीलाई टीका लगाई दिनुभयो। दाइले बहिनीहरूलाई टीका लगाइदिएर उपहार पनि दिनुभयो। दाइ भाउजूका एक छोरा एक छोरी भदाभदै देखेर विमला र उसकी दिदी खुसीले दङ्ग थिए। बच्चाहरू आँगनभरि दौडिरहेका थिए। सबैले सँगै फोटो खिचे। त्यो दिन विमलाले मनमनै सोचिन्- ‘यो मेरो जीवनकै सबैभन्दा सुन्दर दसैँ हो।’
पर्सिपल्ट सबैजना आ-आफ्नो घर फर्किए। आमा फेरि एक्लै हुनुभयो। तर यसपालि उहाँको मन भरिएको थियो। उहाँले आफ्ना सबै सन्तानलाई एकै ठाउँमा देख्नुभएको थियो।
करिब एक महिनापछि एक बिहान विमलाको फोन बज्यो। स्क्रिनमा दिदीको नाम देखियो। फोन उठाउने बित्तिकै उताबाट रुँदै आएको स्वर सुनियो- ‘विमला! चाँडै माइती घर आउनू...’
केही क्षण मौनता छायो। विमलाले मलिन स्वरमा सोधिन- ‘के भयो दिदी?’
त्यसपछि दिदीको स्वर आयो- ‘आमा हामीलाई छोडेर जानुभयो।’
विमलाको हातबाट फोन झर्नै लाग्यो। संसार एकाएक शून्य भयो। विमला भक्कानिएर रोइन्। विमलले विमलालाई सम्हाल्यो। विमलालाई लिएर विमल पनि त्यही दिन उनीहरू गाउँतर्फ लागे। घर पुग्दा आँगनमा मानिसहरूको भीड थियो।
केही समयअघि जहाँ दसैँको उज्यालो थियो, आज त्यहाँ शोकको छाया थियो। आमाको पार्थिव शरीर अगाडि राखिएको थियो। विमला दौडेर आमाको छेउमा पुगिन्। आमाको चिसो हात समातिन् र रुँदै भनिन्- ‘आमा, म आएँ...।’
आमाको भड्किएको आत्माले त भन्यो होला- आइस छोरी? तर विमलाले सुनिनन्, महसुस मात्र गरिन्।
सोही दिन आमाको अन्त्येष्टि गरियो। एघार दिनसम्म दाइ, दिदी, विमला सँगै बसे। विमल भने पाँचौँ दिनपछि घर फर्कियो।
तेह्रौँ दिन विमला र उसकी दिदी आ-आफ्नो घरतिर हिँड्न थाले। सबै मौन थिए। केही बेरपछि दाइले बिस्तारै भन्नुभयो- ‘हाम्रो अन्तिम दसैँ रहेछ त्यो।’
कसैसँग बोल्ने शब्द थिएन। विमलाको आँखा अगाडि दसैँका ती सबै दृश्य घुमिरहेका थिए, आमाको मुस्कान, आँगनको सरसफाइ, रंगिएको भित्ताको उज्यालो, विजया दशमीको टीकाको दिन, सबैजना मिलेर हाँसेको त्यो दिन।
त्यस क्षण विमलालाई एउटा कुरा स्पष्ट भयो। यदि उनले त्यस दिन आफ्नो मनको कुरा नसुनेकी भए, यदि समाज र परम्पराको डरले माइत नगएकी भए सायद जीवनभर पछुतोले सताइरहन्थ्यो। आज दुःख थियो, अत्यन्त गहिरो दुःख, तर पछुतो थिएन। बरु मनको कुनामा एउटा शान्ति थियो, आमासँग बिताएको त्यो अन्तिम दसैँको शान्ति।
आज पनि हरेक दसैँमा विमलाले दियो बाल्दा, घर आँगन सफा गर्दा, सेलरोटी पकाउँदा आमालाई सम्झन्छिन्। कहिलेकाहीँ आँखा रसाउँछन्, तर ओठमा हल्का मुस्कान पनि आउँछ। किनकि केही सम्झनाहरू आँसुभन्दा पनि मूल्यवान् हुन्छन्। आमासँग बिताएको त्यो अन्तिम दसैँ उनको जीवनको सबैभन्दा ठुलो सम्पत्ति बनेर मनको गहिराइमा सुरक्षित छ।