पैसाको लतले लतपतिएपछि
उसका सुमधुर सम्बन्धहरू सबै ओझेल परेका हुन्
भ्रामक सुनौला सपनाको पछाडि दौडँदा
मनकारी मनका फूलहरू चुपचाप झरेका हुन्!
एकताका उसलाई लाग्दथ्यो सबथोक पुगिसरी छ
अचेल जिन्दगी पुसको झरी छ- भिजेको छ निथ्रुक्क
देख्न त देख्छु फेसबुकमा उसको पनि मुस्कान
तर के गर्नु?
वास्तविकता त चाउरिएको मरीच बनेको छ।
थाहा छ अचेल ऊ अव्यक्त पिडामा छ
सबै सञ्चित सोच्थ्यो एकताका, अहिले शान्ति ऋणमा छ
मुस्कान र कान्ति अब वास्तविकतामा होइन,
एपका फिल्टरभित्र कैद सुन्दरता भ्रम बनेका छन्।
वाइन र तकिलाको नशाले ओठ मात्र भिजाउने हो उसले
मनका घाउहरू त झन् गहिरो बन्दै जान्छन्
दुःखलाई निदाए जस्तो लाग्दछ केही छिन
फेरि आँसु जाग्दछन् झरीझैँ उसको होसको उज्यालोमा।
पहिचानको द्विविधा चिर्न
उसले के गरेन?
भजनका सुर छेड्यो
गजलका राग अलाप्यो
गीताका श्लोक कण्ठस्थ गर्यो;
तर आफ्नै मनभित्रको अमन–चैन भेट्न नसकेर
रेस्टुरेन्ट र क्याफेका बगर चहार्दै छ लखरलखर!
बैँसको उन्मादमा परदेश पुगेको ऊ
उमेरले नेटो काट्दा नागरिकता खोज्दै छ-
पहिचानमा धमिरा लागेपछि काठको बल होइन,
भित्रभित्रै खोक्रोपनको कथा बोल्छ जिन्दगीले
अपसोच,
परबाट ऊ अचेल वंशजको सखुवा हु भन्दै छ।
उसले रेमिटेन्स सँगै पठाउँदछ स्मृतिहरू-
मनको विशाल आँगनमा खेल्ने निश्चल छाया मात्र हुन् यी अचेल;
समय धेरै टाढा पुगिसकेको छ
खोटा सिक्का बनेका स्मृतिहरू
मनको बजारमा त चल्छन्
तर सबै कुरा क्रय विक्रय हुने यो बजारमा
नागरिकताको कारोबार अझै बिक्रीमा छैन।
कहिले यताको बन्छ, कहिले उताको हु भन्छ
द्वैत-जीवन, न यता भनेजस्तो भयो न उता रह्यो
दुई किनाराको बिचमा उसको मन सधैँ अल्झिरह्यो
जीत बहादुर जोन बनेपछि धेरै कुरा फेरिए-
तर
फेरि नागरिक बन्ने उसको लोभ अझै फेरिएन!