ऊ नाङ्गो हतियार बोकेर सडकमा चिच्याउँदै
सपनाहरूबाट मुक्तिको घोषणा गर्दै थियो।
उसको हतियार रक्ताम्मे थियो
शरीरभरि रगतका टाटाहरू थिए
ऊ नाङ्गो सडकमा विजयोत्सव मनाउँदै थियो
रङ्गिन सपनाहरूको सामूहिक कत्लेआम गर्न सकेकोमा।
जब उसले सपना देखेको थियो
ऊ स्वतन्त्र थियो
ऊ लावालस्करसहित शिखर चढेको थियो
ऊ आकाशमा निर्बाध र स्वतन्त्र विचरण गर्थ्यो
आदिवासी चराहरूसँग मितेरी गाँसेको थियो
जलचर र थलचरसँग उसको गाढा सामीप्य थियो।
एक दिन ठुलो आँधीबेहरीले उसको सपना भंग गरिदियो
ऊ गम्भीर बन्यो
विस्मृतिको गर्तमा लुकेर बसेका रङ्गिन सपनाहरूलाई उधिनेर
साकार पार्न हतियार बोकेर ऊ नाङ्गै सडकमा उत्रियो।
तर जीवन कहाँ सपना जस्तो हुने रहेछ र!
उसले देख्यो, चराहरू एकआपसमै जुधेर जमिनमा खसेका
उसले देख्यो, जलचरहरू कुरभित्रै रक्ताम्मे भएका
विजातीय आक्रमणमा परेर थलचरहरूको रगतको पोखरी बनेको
उसले देख्यो— धोकाधडीको सिंहदरबार
उसले देख्यो— घात र प्रतिघातको धरहरा
उसले भोग्यो आफ्नाहरूले दिएका तेजाबका आँसुहरू
उसलाई पिउन बाध्य बनाइयो हेमलक विषका पेगहरू
अन्ततः, ऊ एउटा भयावह निष्कर्षमा पुग्यो—
सपनाहरूको हत्या गर्नुपर्छ
किनकि कहिलेकाहीँ सपनाहरू मर्दैनन्
तिनलाई मार्न मानिस आफैँ बाध्य हुन्छ।