चितवनको तराईमा बिहानको घाम बिस्तारै खेतका गराहरूमा फैलँदै थियो। असारको महिना थियो। राति परेको हल्का वर्षाले माटोको सुवास गाउँभरि छरिएको थियो। त्यही सुवाससँगै आफ्नो कोठाको झ्याल खोलेर बाहिर हेर्दै थियो सन्दीप।
सन्दीपको उमेरले अढाई दशकको अवधि सक्काउनै लागेको थियो। गाउँकै सामान्य परिवारको छोरा। बुबाले खेतीपाती गर्थे, आमाले घरधन्दा सम्हाल्थिन्। सन्दीपको सपना भने फरक थियो—ऊ लोकसेवा आयोग पास गरेर सरकारी सेवामा प्रवेश गर्न चाहन्थ्यो। किनकि उसले सानैदेखि बुबाआमाको संघर्ष अन्तरहृदयदेखि अनूभुत गरेको थियो। गाउँमा धेरैले विदेशलाई सफलताको बाटो मान्थे, तर सन्दीपलाई लाग्थ्यो, 'आफ्नै देशमा बसेर पनि केही गर्न सकिन्छ।'
उसको दिनचर्या घडीको सुइँजस्तै निश्चित अनि गतिशील थियो। बिहान पाँच बजे उठ्ने, दौडने, फर्केर पढ्ने, नोट बनाउने, मक टेस्ट दिने। उसका साथीहरू चिया पसलमा राजनीतिक गफ गर्थे, तर सन्दीप पुस्तकालय र कोठाबीच सीमित थियो।
त्यही समयमा भरतपुर चौबिसकोठी बस्ने एक सुशील युवती थिइन्—स्मृति।
स्मृति ब्याचलर सकेर अष्ट्रेलिया जानको लागि तयारी गर्दै थिइन्। उनको परिवारको आर्थिक अवस्था मध्यम थियो। दाइ पहिलेदेखि नै विदेशमा थिए। साथीहरूको समान सोच तथा अग्रजको प्रभावले होला स्मृतिलाई कतिबेला अष्ट्रेलिया पुगुँ जस्तो भइरहन्थ्यो। परिवारको सोच थियो—विदेशमा राम्रो अवसर छ, भविष्य सुरक्षित हुन्छ। त्यसैले स्मृति आइइएलटिएसको तयारीमा जुटेकी थिइन्।
उनको दिन पनि कम संघर्षपूर्ण थिएन। बिहान अनलाइन क्लास, मक टेस्ट, दिउँसो भोक्याबुलरी रिमाइण्डिङ्ग, साँझ स्पिकिङ प्राक्टिस। उनी कहिलेकाहीँ ऐनाअगाडि उभिएर अंग्रेजीमा आफैसँग कुरा गर्थिन्।
सन्दीप र स्मृतिको भेट कुनै चलचित्रजस्तो रोमान्टिक थिएन। कथामा लेख्दा एक काल्पनिक मोड जस्तै आभाष हुने खालको भेट उनीहरूको भएको थियो।
एक दिन भरतपुरकै वीरेन्द्र क्याम्पसको लाइब्रेरीमा दुवै पुगेका थिए। फरक फरक संकायबाट ब्याचलर त्यहीँबाट सकेका थिए दुवैले। अचम्मको कुरा यो छ कि-ब्याचलर पढ्ने सिलसिलामा उनीहरूको भेट पहिले कहिल्यै भएको थिएन। हुन त सन्दीप खासै कलेज जाँदैनथ्यो पहिले। ब्याचलर पछिको जिम्मेवारीपूर्ण पढाइलाई अगाडि बढाउने क्रममा उनीहरू लाइब्रेरी जान लागेका थिए। शान्त भएर लोक सेवाको पढाइलाई क्लासको ढाँचामा लगाम लगाउन चाहन्थ्यो सन्दीप र जान्थ्यो वीरेन्द्र पुस्तकालय।
एटोमिक ह्याविट्स, रिच ड्याड पुअर ड्याड, एनिमल फार्म जस्ता अंग्रेजी साहित्यिक किताब पढेर आफ्नो भोक्याबुलरी पावर बढाउन चाहन्थिन् स्मृति। लाइब्रेरीमा सिट कम थियो। एउटा खाली टेबल छेउमा दुइटा कुर्सी मात्र थिए। सन्दीपले अनुमति माग्दै भन्यो, 'म यहाँ बस्न मिल्छ?'
स्मृतिले मुस्कुराउँदै टाउको हल्लाइन् मात्र बोलिनन्।
त्यो दिन दुवैले खासै कुरा गरेनन्। तर त्यो दिनपछि लगातार त्यही टेबलमा भेट हुन थाल्यो उनीहरूको।
सन्दीपले आँट गर्नै सकेन स्मृतिसित बोल्न। गरोस् पनि कसरी ? आफ्नो सपनाप्रति एकाग्र भइरहेको थियो सन्दीप। अलिअलि लजालु स्वभाव पनि थियो उसमा।
एकदिन स्मृतिले नै कुरा सुरू गरिन्।
'तपाईं सधैं यत्तिकै बाक्ला किताब पढिरहनुहुन्छ, कुन परीक्षा को तयारी हो?'
'लोकसेवा।'
'ओहो! निकै कठिन होला।'
'तपाईंको अंग्रेजी सजिलो छ र?'
'तपाईंले पढ्ने आइइएलटिएस सजिलो छ र?'
स्मृति हाँसिन्।
'कहिलेकाहीँ त अंग्रेजी शब्दहरूले नै निद्रा बिगारिदिन्छ।'
त्यसपछि सुरू भयो उनीहरूको परिचय।
परिचय बिस्तारै मित्रतामा बदलियो।
सपनाको अध्यायमा हराउँदा हराउँदै लाइब्रेरीमा भेट भएका उनीहरू यतिन्जेल सम्म एकअर्कामा हराउन सक्ने भइसकेका थिए।
मित्रता कहिले प्रेममा परिणत भयो, दुवैलाई थाहै भएन।
स्मृतिले कुनै नयाँ शब्द सिक्दा सन्दीपलाई सुनाउँथिन्। सन्दीपले संविधानका धारा र प्रशासनका सिद्धान्त बुझाउँथ्यो। उनीहरूका संसार फरक थिए, तर एकअर्काको मेहनतप्रति गहिरो सम्मान थियो।
एक दिन नारायणी किनारमा बसेर स्मृतिले सोधिन्, 'यदि म अष्ट्रेलिया गएँ भने?'
सन्दीप केही क्षण चुप रह्यो।
'यति राम्रो अंग्रजी जान्नेले त लोक सेवामा परराष्ट्र सेवातिर तयारी गर्नुपर्ने।' सन्दीपले स्मृतिको लक्ष्यलाई विमुख बनाउँदै भन्छ।
'ह्या मलाई इन्ट्रेस्ट लाग्दैन यता '
'हुनत तिम्रो सपना हो भने जानुपर्छ।'
'र हाम्रो?'
'सपना र प्रेम एकअर्काका शत्रु हुनुहुँदैन।'
त्यो उत्तर सुनेर स्मृति निकै भावुक भएकी थिइन्।
तर जीवन सधैं सुन्दर संवादहरूमा मात्र चल्दैन।
भावनाका रसहरूले मात्रै पनि जीवनका लक्ष्यहरूलाई सिँचित गर्न सक्दैनन्।
समयसँगै दुवैका लक्ष्य झन् गम्भीर बन्दै गए।
सन्दीपको लोक सेवाको परीक्षा नजिकिँदै थियो। उसले फोन कम उठाउन थाल्यो। सामाजिक सञ्जाल छोड्यो। भेटघाट पनि कम भयो। ऊ युद्धस्तरमा आफ्नो तयारीलाई अगाडि बढाइरहेको थियो।
उता स्मृतिको आइइएलटिएस परीक्षा पनि नजिकिँदै थियो। उनी दिनरात अभ्यासमा डुबिरहेकी थिइन्।
पहिले दिनमा दसपटक कुरा गर्ने उनीहरू अब कहिलेकाहीँ मात्र बोल्थे।
एक साँझ स्मृतिले फोन गरिन्।
'तिमी बदलियौ सन्दीप।'
'किन?'
'पहिले जस्तो समय दिँदैनौ।'
'समय छैन स्मृति।'
'मसँग कि कसैसँग पनि छैन?'
सन्दीप झर्कियो।
'सबै कुरा शंकाले नहेर्नू।'
स्मृति पनि चिढिइन्।
'म शंका गरिरहेकी छैन। म त तिमीलाई मिस गरिरहेकी छु।'
त्यो दिनको संवाद तिक्ततामा टुङ्गियो। दुवैलाई चोट लागेको थियो। सन्दीपलाई लाग्यो—उसको संघर्ष बुझिएन। स्मृतिलाई लाग्यो—उसको भावनाको कदर भएन।
त्यसपछि केही दिन मौनता छायो। मौनता कहिलेकाहीँ झगडाभन्दा बढी पीडादायी हुन्छ। राति किताब खोलेर बस्दा पनि सन्दीपको ध्यान केन्द्रित हुन सक्दैनथ्यो। स्मृतिको अनुहार प्रशासनको किताबमा झल्झली देख्दथ्यो। स्मृतिले नयाँ शब्द कण्ठ गर्दा पनि मन अन्तै पुग्थ्यो। त्यो अन्तैको संसार भने सन्दीपको अनुग्रहमा बाँचिरहेको थियो। तर अहंकार बीचमा उभिएको थियो।
कसैले पहिले सन्देश पठाएन बीचमा।
केही सातापछि स्मृतिले आइइएलटिएस परीक्षा दिइन्। नतिजा आयो। उनी लक्ष्यभन्दा राम्रो अंक ल्याउन सफल भइन्। घरमा खुसी छायो। तर त्यो खुसी बाँड्न चाहेको पहिलो व्यक्ति भने टाढा भइसकेको थियो। धेरै सोचेर उनले सन्दीपलाई सन्देश पठाइन्।
'म सफल भएँ।'
केही मिनेटपछि उत्तर आयो।
'बधाई छ। म गर्व गर्छु।'
सन्देश छोटो थियो।
पहिलेजस्तो आत्मीयता थिएन।
स्मृतिको आँखामा आँसु भरियो।
यता सन्दीप पनि पीडित थियो।
उ उसलाई फोन गर्न चाहन्थ्यो।
तर बारम्बार आफूलाई रोक्थ्यो।
'पहिले लक्ष्य,' उसले आफैलाई सम्झाउँथ्यो।
समय बित्दै गयो।
स्मृतिले अष्ट्रेलियाको भिसा प्रक्रियामा लागिन्।
सन्दीप लोकसेवाको अन्तिम तयारीमा थियो।
दुवैका बाटा झन् फराकिला बन्दै थिए।
एक दिन सामाजिक सञ्जालमा स्मृतिको फोटो देखियो।
भिसा स्वीकृत भएको खबर थियो।
सबैले बधाई दिइरहेका थिए।
सन्दीपले फोटो धेरै बेर हेरिरह्यो।
मनमा अनौठो खालीपन थियो।
उ खुशी पनि थियो।
दुःखी पनि।
त्यो रात ऊ पढ्न सकेन।
उता स्मृतिले पनि एउटा कुरा महसुस गरिन्।
विदेश जाने उत्साह भए पनि मनको एउटा कुनामा सन्दीपको अभाव थियो। प्रस्थानको दिन आयो। त्रिभुवन विमानस्थलमा परिवार रोइरहेको थियो, बिदाईको क्षण इमोस्नल हुने नै भयो।
स्मृतिले अन्तिमपटक फोनको सम्पर्क सूची हेरिन्। सन्दीपको नाम देखियो। फोन गर्न खोजिन्। फेरि रोकिइन्। जहाज उड्यो।
अन्तत स्मृतिको ढिपी अनि लक्ष्य दुवै विजयी भए। नेपालका पहाडहरू बादलमुनि हराए। बादलले जित्न नसकेका हिमालका चुचुराहरू घामको चर्को उज्यालोले चम्किरहेका थिए। उनको जीवनको नयाँ अध्याय सुरू भयो।
अष्ट्रेलियाको जीवन उनले सोचेजस्तो सजिलो थिएन। पढाइ, काम, भाडा, समयको अभाव। कहिलेकाहीँ राति थकित भएर फर्कँदा उनी नेपाल सम्झिन्थिन्। नारायणी किनार सम्झिन्थिन्। र सन्दीप सम्झिन्थिन्।
उता नेपालमा सन्दीप आफ्नो संघर्षमा थियो। लोकसेवा आयोगको लिखित परीक्षा सम्पन्न भयो। नतिजा आउन महिनौँ लाग्ने थियो। प्रतीक्षाको समय झन् कठिन भयो। पढाइ भने छोडेको थिएन। एक साँझ सन्दीपले सामाजिक सञ्जालमा स्मृतिको पोस्ट देख्यो।
त्यहाँ ठूलो सहरका उज्याला सडक थिए। तर क्याप्सनमा लेखिएको थियो— 'कहिलेकाहीँ उज्यालो ठाउँहरूमा पनि मानिस एक्लो हुन्छ,अनि हृदय अँध्यारो बनिदिन्छ।'
त्यो पढेर सन्दीपको मन भारी भयो।
उसले लामो समयपछि सन्देश पठायो।
'सन्चै छौ?'
उत्तर तुरून्त आयो।
'छु। तिमी?'
'म पनि।'
त्यो सानो संवादले धेरै महिनाको दूरी केही कम गरिदियो। त्यसपछि फेरि कहिलेकाहीँ कुराकानी हुन थाल्यो। तर पुरानो घाउ पूर्ण रूपमा निको भएको थिएन। एक दिन भिडिओ कलमा बहस भयो।
स्मृतिले भनिन्, 'तिमी अझै पनि विदेशलाई गलत ठान्छौ।'
सन्दीपले उत्तर दियो, 'म विदेशलाई होइन, पलायनको मानसिकतालाई गलत ठान्छु।'
'सबै बाध्य भएर जान्छन्।'
'सबै होइन।'
'तिमीले मेरो निर्णय कहिल्यै पूर्ण रूपमा स्वीकार गरेनौ।'
'तिमीले पनि मेरो सपना सानो ठानेकी थियौ।'
त्यसपछि फेरि मौनता।
फेरि दूरी।
तर यसपटक दुवैले आफूभित्र झाँक्न थाले।
स्मृतिले महसुस गरिन्- सन्दीपले कहिल्यै उनको सफलता रोक्न खोजेको थिएन।
सन्दीपले पनि बुझ्यो- स्मृतिले विदेश रोज्नु देशप्रतिको घृणा होइन, अवसरको खोजी थियो।
परिपक्वता उमेरले मात्र आउँदैन। संघर्षले पनि सिकाउँछ। एक वर्ष बित्यो। एक दिन लोक सेवाको अन्तिम नतिजा प्रकाशित भयो।
सन्दीपको नाम सूचीमा थियो। सन्दीप पहिलो प्रयासमै शाखा अधिकृतको परीक्षा उत्तीर्ण भयो। ऊ सफल भएको थियो। घरमा खुसीको लहर दौडियो। आमाले आँसु पुछिन्। बाबुले छिमेकीलाई मिठाई बाँडे। सन्दीपले सबैभन्दा पहिले फोन उठायो र स्मृतिलाई कल लगायो।
अष्ट्रेलियामा त्यतिबेला रात थियो।
स्मृतिले निद्रामै फोन उठाइन्।
'हेलो?'
'म लोक सेवा पास भएँ।'
केही क्षण मौनता।
त्यसपछि उताबाट रूँदै आएको आवाज-
'मलाई थाहा थियो।'
त्यो क्षण दुवैका लागि विशेष थियो।
लामो समयपछि उनीहरू खुलेर कुरा गरे। पुराना गुनासा निकाले। गल्ती स्वीकार गरे। एकअर्कालाई दोष दिन छोडे। स्मृतिले भनिन्, 'हामीले प्रेमलाई प्रतिस्पर्धा बनायौँ।'
सन्दीपले उत्तर दियो,
'जबकि प्रेम त साथ हुनुपर्थ्यो नि होइन र?।'
त्यसपछि उनीहरूको सम्बन्ध फेरि बिस्तारै पुरानै आत्मीयतामा फर्कन थाल्यो। तर अब त्यो भावुकताको प्रेम थिएन। अन्तरालिङ्गनको क्रमसँगै हृदय साटासाट भैसकेको थियो। त्यो बुझाइ, सम्मान र धैर्यले बनेको सम्बन्ध थियो। दुई वर्षपछि स्मृति नेपाल फर्किइन्। विमानस्थलबाट निस्कँदा उनको मन असाध्यै उत्साहित थियो। बाहिर सन्दीप उभिएको थियो स्मृतिलाई रिसिभ गर्न। पहिलेभन्दा परिपक्व देखिन्थ्यो, नदेखियोस् पनि कसरी! नेपाल सरकारको शाखा अधिकृत भैसकेको थियो।
आँखामा आत्मविश्वास थियो।
स्मृतिले नजिक आएर भनिन्, 'कति बदलिएछौ।'
सन्दीप मुस्कुरायो।
'तिमी पनि।'
दुवै केही बेर एकअर्कालाई हेरिरहे।
त्यहाँ कुनै चलचित्रको नाटकीय दृश्य थिएन।
तर वर्षौँको दूरी, संघर्ष, प्रतीक्षा र प्रेम एकै क्षणमा मिसिएको थियो। केहीदिन पछि उनीहरू फेरि नारायणी किनार पुगे। घाम अस्ताउँदै थियो।
नदी बिस्तारै बगिरहेको थियो। स्मृतिसँगै पुराना स्मृतिमा मुग्ध हुन थाले दुवै जना।
स्मृतिले नदीतिर हेर्दै भनिन्, 'हामी बीचको दूरी पनि यही नदीजस्तै रहेछ।'
'किन?'
'कहिलेकाहीँ फराकिलो, कहिलेकाहीँ साँघुरो। तर बग्न भने कहिल्यै छाडेन।'
सन्दीप मुस्कुरायो।
'हामी पनि छाडेनौँ नि'
साँझको सुनौलो उज्यालो उनीहरूको अनुहारमा परेको थियो। उनीहरूले महसुस गरे—प्रेम केवल सँगै बिताएका खुसीका क्षणहरूको नाम होइन।प्रेम भनेको एकअर्काको सपनालाई सम्मान गर्नु पनि हो। कहिलेकाहीँ टाढा भएर पनि साथ दिनु हो। असहमति हुँदा पनि सम्बन्ध नत्याग्नु हो। र सबैभन्दा ठूलो कुरा-समयले बनाएको दूरीभन्दा विश्वासलाई बलियो राख्नु हो। सन्दीपले लोक सेवाको सपना पूरा गर्यो। स्मृतिले विदेश अध्ययनको सपना पूरा गरिन्। दुवैले आफ्नो-आफ्नो लक्ष्य भेट्टाए।
तर अन्ततः उनीहरूले एकअर्कालाई पनि नारायणीको पानी बगिरह्यो। हावाले नदीको सतहमा साना तरङ्ग बनाइरह्यो। र त्यो साँझ उनीहरूलाई एउटा सत्य स्पष्ट भयो, साँचो प्रेमले लक्ष्यको बाटो रोक्दैन। बरू कठिन बाटोमा हिँड्ने साहस दिन्छ। प्रेम गर्नेहरू भाग्दैनन्, बरू लुक्न सक्छन्, लुकाइन सक्छन् मनका भावनाहरू पोखिनबाट रोकिन सक्छन्। कारण अनेक हुन सक्छन्।
दूरीले सम्बन्धको परीक्षा लिन सक्ला, तर सम्मान, धैर्य र विश्वास भएमा पुनर्मिलन असम्भव हुँदैन।
त्यसैले उनीहरूको कथा केवल प्रेमकथा थिएन। त्यो सपना, संघर्ष, वैचारिक मतभेद, आत्मसम्मान, परिपक्वता र पुनर्मिलनको कथा थियो। प्राय सबै सामान्य युवायुवतीको जीवनमा मेल खाने कथा बनेको थियो।
तर वास्तविकता यो हो कि जो कोहीले त्यसमा आफ्नै जीवनको कुनै न कुनै अंश भेट्टाउन सक्थ्यो, सक्छ अनि सक्नेछ पनि।
सन्दीपकी स्मृति र स्मृतिको सन्दीप उदाहरणको पर्याय बने, हौसलाको स्रोत बने, प्रेरणाका स्तम्भ बने। सन्दीप र स्मृतिलाई शुभकामना। यो कथाबाट प्रेरित हुनेलाई अझ बढी शुभकामना।