सोच्दै छु-
म बाटोमै छु कि बाटो बिराइसकेँ?
प्रकाश खोज्दै थिएँ
के छायासँगै हिँडिरहेँ?
मनका पाइलाहरू
शान्तिको गोरेटोमा लम्किरहे कि?
अदृश्य कुनै तृष्णाको पछि
पागल झैँ दौडिरहेँ?
किन हो…
आकाशको कुनै गुनासो छैन
बादल आए पनि, गए पनि
ऊ त केवल साक्षी भएर
स्वच्छतामा स्थिर हुन्छ।
भित्र केही छ, शायद
जसले कहिल्यै हल्ला गर्दैन
तर सबै हल्ला सुनेर पनि
अछुतो रहन्छ।
तिमीले भने जस्तो
श्वास पनि बगिरहेछ
न आइरहेको जस्तो,
न गइरहेको जस्तो,
तर निरन्तर जीवनलाई
नयाँ पलमा छोइरहेछ!
यदि बाटो भुलिएको जस्तो लाग्छ भने
सायद त्यो बाटो नै
फेरि आफूलाई चिनाउने संकेत पो हो कि?
किनकि खोज कहिल्यै हराउँदैन
कहिले रूप बदल्छ
कहिले भाव बदल्छ
कहिले भड्किएको जस्तो देखिन्छ
कहिले सम्हालिएको जस्तो लाग्छ।
कहिले बदलिएको जस्तो लाग्छ
तर भड्किए पनि
सम्हालिए पनि
बदलिए पनि
यात्रा हो- हिँडिरहन्छु… हिँडिरहन्छु…
भड्किएर किन टाढा पुग्नु छ र?
आफै भित्र रमाउनु हो
मौनताको मित्रसँग
मौनको भाषा बोल्नु हो!
नदी पनि कहिलेकाहीँ
ढुंगामा ठोकिन्छ
तर त्यही ठोकरले
उसलाई सागर सम्झाउँछ।
त्यसैले भड्केको ‘म’ लाई भनिदिन्छु
‘तिमी गलत बाटोमा छैनौ’
तिमी त केवल
फर्किने कला सिक्दै छौ
र एक दिन
जब सबै प्रश्नहरू थाक्छन्
श्वासको अन्तिम होसमा पनि
तिमीले देख्नेछौ
दृष्टि-भ्रम पनि हुन सक्छ
सुन्नुको विश्वास पनि हुनसक्छ
जे होस्, सोच्दै छु
‘म’ पनि भड्किने वस्तु हो र?
न सीमा, न बन्धन
घना बादलभित्र पनि
निलो, स्वच्छ र स्वस्थ
‘म’ त शान्त मौन आकाश हुँ।
अब भन त- के ‘म’ भड्किएकी हुँ?