‘हेलो सर! तपाईं समीर होइन?’
हेलमेटभित्रबाट छानिएर आएको एउटा नौलो तर परिचित नारी आवाजले मेरो ध्यान जुरुक्क उनीतिर तान्यो। आफ्नै नाम त थियो, तैपनि भ्रम पो हो कि भन्दै संशयका साथ पर्ल्याकपुर्लुक दायाँबायाँ हेरेँ। वरिपरि कोही थिएन।
म अलिक नजिकिएँ र अनुहार नियाल्ने असफल चेष्टा गर्दै सोधेँ, ‘मलाई नै बोलाउनुभएको हो म्याडम?’
उनले हल्का हाँस्दै भनिन्, ‘हो त, तपाईंलाई नै हो। अनि तपाईं समीर होइन र?’
‘हो, म समीर नै हुँ,’ मनमा कौतुहलताको त्यान्द्रो बुन्दै र उनको अझ नजिक जाँदै मैले भनेँ, ‘तर... मैले तपाईंलाई अलि चिन्न सकिनँ कि? हेलमेट खोल्न मिल्छ कि अलिकति?’
मेरो स्वरमा आग्रह र उत्सुकता दुवै मिसिएको थियो।
उनले हेलमेटको फेसकभर बिस्तारै माथि उचालिन् र भनिन्, ‘म प्रभा। प्रभा पौडेल। अब त चिन्नुभयो होला नि?’
समयको लामो अन्तरालले उनको अनुहारको रूपरेखा धमिलो पारिदिएको थियो। मैले स्पष्ट खुट्याउन त सकिनँ तर शिष्टाचार र चिनेको भान पार्दै टाउको हल्लाएँ।
‘सुन्नुस् न! म आज अलि हतारमा छु, स्कुल पुग्ने बेला भइसक्यो। तपाईंको नम्बर दिनुस् न, म फुर्सदमा कल गर्छु नि, हुन्छ?’ भन्दै उनले हतारिएको लवजमा फोन अघि सारिन्। मैले पनि गोजीबाट फोन निकालेर नम्बर टिपाइदिएँ। उनी मलाई एउटा रहस्यमयी मुस्कान छाडेर आफ्नो बाटो लागिन्।
एउटा राजनीतिक दलको कोलाहलपूर्ण चुनावी कार्यक्रम सकेर बाहिर निस्कने क्रममा भएको हाम्रो त्यो संक्षिप्त र आकस्मिक भेट थियो। उनी त्यहाँबाट ओझेल परेपछि म कता कता हराएँ, केही बेर त जडवत् नै भएँ। 'प्रभा'— पर्याप्त सुनेको, सँगालेको र मुटुको कुनै कुनामा गहिरोसँग गडेको नाम थियो त्यो।
उनको बोलीमा पनि अतितको कुनै कम्पन त थियो, तर उमेरको रफ्तार र हेलमेटको अर्ध-आवरणले गर्दा उनी परिचित भएर पनि अपरिचित जस्तै लागिरहिन्। मनको कुनै कुनाबाट आवाज आयो— कतै यो प्रभा त्यही प्रभा त होइन? एउटा मीठो खुल्दुली छातीभित्र सल्बलाउन थाल्यो।
मैले मोटरसाइकलको सिटमा जीउ अढ्याएँ र टोलाइरहेँ। कार्यक्रमका सहभागीहरू आ-आफ्नो गन्तव्यतर्फ लाग्दै गर्दा भीड पातलिँदै गयो। तर मेरो मनमा भने धेरै वर्षपहिले छुटेको एउटा आत्मीय नाम र यो अधुरो अनुहारको तादम्यता मिलाउने कसरत चलिरह्यो। म विगतका पुराना पानाहरू पल्टाउने असफल प्रयास गरिरहेको थिएँ। अझै पनि मेरो मनले पत्याउन सकिरहेको थिएन— के यो साँच्चै त्यही फुच्ची प्रभा नै हो त?
‘ह्या... छोडिदिऊँ, जे होस् फोन नम्बर त लगेकै छ। फोन आइहाल्यो भने त्यतिबेलै सबथोक खुल्नेछ,’ मनलाई सान्त्वना दिँदै मैले मोटरसाइकल स्टार्ट गरेँ र गियर बढाउँदै आफ्नो गन्तव्यतर्फ हुइँकिएँ।
त्यो दिन अफिसको काममा म अलि बढी नै व्यस्त रहेँ। अपराह्नतिर बल्लतल्ल कामको चटारो सकियो। कुर्सीको पिठ्युँमा जीउ ढल्काएर म कता-कता टोलाइरहेको थिएँ, अचानक एउटा अपरिचित नम्बरबाट आएको फोनको घण्टीले मलाई झस्काएर सजग गरायो। हतारहतार फोन उठाएर एकछिन स्क्रिनमा नम्बर नियालेँ। गण्डकी क्षेत्रतिर दर्ता भएको नम्बर जस्तो लाग्यो।
कौतुहलता थाम्दै मैले हरियो बटन थिचेँ, ‘हेलो!’
उताबाट एउटा मखमली नारी स्वर सुनियो, ‘हेलो! म प्रभा। बिहान भेट भएको नि, चिन्नुभयो?’
त्यो परिचित स्वर सुन्नासाथ म अलिकति सम्हालिएँ र हत्तपत्त बोलेँ, ‘अँ... चिनेँ नि, किन नचिन्नु!’
मैले भन्न मात्र के भ्याएको थिएँ, उनले फेरि ठट्टाको लवजमा थपिन्, ‘बिहानको प्रभा मात्र चिन्नुभयो कि अरू पनि केही पुराना सम्झनाहरू बाँकी छन्?’
म एकछिन गम खाएँ। दिमागका पुराना पुराना पानाहरू पल्टाउँदै कुरा स्पष्ट पार्न सोधेँ, ‘तपाईं... कतै २०४८ सालमा एसएलसी परीक्षा तयारीको क्रममा ‘व्यथित’ सरसँग सँगै अङ्ग्रेजीको ट्युसन पढ्ने प्रभा त होइन? एम आई क्लियर?’ आफ्नो आशंकालाई पक्का गर्न मैले प्रश्नको भारी उतातिरै तेर्स्याइदिएँ।
उताबाट एउटा लामो र खित्कासहितको हाँसो गुन्जियो। त्यस हाँसोले वर्षौँ पुरानो सम्बन्धको पर्दा उघारिदियो।
‘हो, म त्यही प्रभा हुँ। असाध्यै खुसी लाग्यो समीरजी, मप्रतिको त्यो पुरानो सम्झना तपाईंको मुटुको कुनै कुनामा अझैसम्म ज्युँदै रहेछ,’ उनले निकै आत्मीय भावमा भनिन्।
‘बिहान त तपाईं हेलमेटमै हुनुहुन्थ्यो, त्यसैले हो कि होइन जस्तो दोधार भइरहेको थियो। नाम र बोली सुन्दा हो जस्तो पनि लागेको थियो, तर अनुहार आधा छोपिएकाले होइन कि भन्ने शङ्काले पनि घेरेको थियो मलाई,’ चिनेर पनि ठम्याउन नसकेको आफ्नो बिहानको असमञ्जसता पोख्दै मैले जवाफ फर्काएँ।
‘म त भर्खर छुट्टी भएर स्कुलबाट निस्कनै लागेकी। तपाईं कता हुनुहुन्छ नि अहिले?’ उनको बोलीमा वर्षौँपछि भेट्ने तीव्र रहर र उत्सुकता प्रस्टै झल्किन्थ्यो।
‘म त अफिसमै छु। हाम्रो त पाँच बजे मात्र छुट्टी हुन्छ नि,’ मैले पाँच बजेपछिको सम्भावित समयको सङ्केत उनीतिरै तेर्स्याइदिएँ।
‘ए... तपाईं सरकारी कर्मचारी हो?’ पाँच बजे छुट्टी हुने नियमलाई आधार मान्दै उनले सोधिन्।
‘हो नि, घाम नअस्ताएसम्म सरकारी कर्मचारी आफ्नो ठाउँबाट हल्लिन कहाँ मिल्छ र!’ मैले हाँस्दै भनेँ।
‘हो त है, राजाको काम कहिले जाला घाम भन्ने त उखानै छ नि!’ मेरो कुरामा अलिकति व्यङ्ग्य र ठट्टा मिसाउँदै उताबाट जवाफ आयो।
‘अँ…सुन्नुन आज साँझको समय कत्तिको फुर्सदिलो छ?’
‘के छ र त्यस्तो विशेष?’ कुरो नबुजेझै गरी मैले सोधेँ।
‘त्यस्तो विशेष त केही होइन। तै पनि सँगै चिया पिउने कि भनेर?’
‘म त अफिसमै बस्छु। हजुरलाई पनि पायक पर्छ भने साँझ छ बजेतिर यतै आउनु न,’ भन्दै मैले आफ्नो कार्यालयको ठेगाना बताइदिएँ।
कार्यालयमै भेट्न अलि असजिलो मानेर हो कि किन हो, उनले केही अकमकिँदै सोधिन्, ‘अफिसमै भेट्ने र? साच्ची, को-को हुनुहुन्छ त्यहाँ?’ उनको प्रश्न गर्ने शैलीमा कता कता भीडभाडभन्दा टाढा, एकान्तमा बसेर पुराना कुराहरू साट्ने चाहना लुकेको जस्तो लाग्थ्यो।
‘म अफिसमा एक्लै हुन्छु। यहाँ बाहिर चौरमा एउटा सुन्दर गोलचौतारी छ, त्यहीँ बसेर मज्जाले गफिन मिल्छ,’ उनको संशयलाई मेट्ने गरी मैले जवाफ फर्काएँ।
‘हुन्छ नि त, म त्यहीँ आउँछु। बाँकी कुरा भेटेरै गरौँला,’ भन्दै उनले फोन राखिन्।
उनीसँगको फोन संवाद त सकियो, तर मेरो मनले भने अफिस छुटेपछिको त्यो सम्भावित भेट पछिको तानाबाना बुन्न थाल्यो।
आजभन्दा ठ्याक्कै चौबीस वर्षअगाडिको त्यो सङ्कुचित सामाजिक परिवेश र अहिलेसम्म आएका परिवर्तनहरूलाई मैले एक पटक स्मृति-पटलमा ताजा गराएँ। विगत र वर्तमानमा प्रेम गर्ने शैली अनि समाजले हेर्ने दृष्टिकोण कति बदलिएछ भनेर म तुलना गर्न थालेँ।
गाउँबाट टेस्ट परीक्षा पास गरेर एसएलसीको तयारीका लागि सदरमुकाम आएकी थिइन् उनी। अर्काको घरमा डेरा लिएर बस्नु, आफैँ पकाएर खानु, लुगाफाटो र भाँडाकुँडा धुने जस्ता सबै घरायसी काम एक्लै सम्हाल्दै आफ्नो उज्ज्वल भविष्यको सपना आँखाभरि सजाएर ट्युसन पढ्न आएकी त्यही फुच्ची केटीलाई मैले अङ्ग्रेजी ट्युसन सेन्टरमा पहिलो पटक देखेको थिएँ।
उसले प्रायः लगाइरहने नीलो स्कुले फ्रक र गुलाबी रङको छोटो बाहुला भएको टिसर्टमा बाहिरैबाट प्रस्टिने बैँसालु उमेरका रेखाहरूले उनी भर्खरै जवानीको सँघारमा हिँड्दै गरेको भान हुन्थ्यो। त्यतिबेला केटीहरूमा 'ईगल' ब्रान्डको तस्बिर अंकित बुककापीलाई दुवै हातले च्यापेर छातीमा टाँस्ने र लाज लुकाउने एउटा छुट्टै चलन थियो।
ट्युसन सेन्टरको केटीहरू बस्ने लहरको पहिलो बेन्चमा उनी बस्थिन्। सरलाई नबुझेका कुराहरू सोध्न उनी कत्ति पनि लाज मान्दिनथिन्। उनको यो सहज स्वभावले मलाई भने कताकता अप्ठ्यारो लाग्थ्यो। मनमनै लाग्थ्यो— यति सजिलो कुरा पनि के सोधिरहेकी होली!
म आफू बोर्डिङ स्कुलबाट पासआउट भएकाले एसएलसी उत्तीर्ण गर्नु मात्र मेरो लक्ष्य थिएन, म त बढी अंक ल्याउने लालसाले त्यहाँ पढ्न गएको थिएँ। तर उनी सरकारी स्कुलबाट पढेर आएकी थिइन्। आजकै दिनमा त सरकारी स्कुलको पढाइको गुणस्तर यस्तो छ, त्यति बेलाको पढाइ कस्तो हुँदो हो? त्यसैले उनले नसोधून् पनि किन? आखिर नजानेको कुरा सोध्नु लाज त होइन नि! मैले आफैँलाई प्रतिप्रश्न तेर्स्याउने गर्थेँ।
उनीसँग अलि नजिक भएर आफूले जानेका केही कुराहरू सिकाइदिन पाए हुन्थ्यो जस्तो मनमा नलागेको होइन। तर उनीसँग बोल्ने त परको कुरा, नजिक पर्नेसम्मको आँट पनि मैले कहिल्यै जुटाउन सकेको थिइनँ।
मेरै घरभन्दा अलिकति तल उनको डेरा थियो। त्यसैले ट्युसन जाने-आउने हाम्रो बाटो एउटै पर्थ्यो। प्रायः सधैँ केटीहरूको ठूलो समूहमा हिँड्ने उनी, एक दिन ट्युसनबाट फर्कँदा एक्लै थिइन्। त्यही सुनौलो मौका छोपेर, भित्रैदेखि धेरै नै साहस र आँट बटुल्दै मैले उनीसँग बोल्ने कोसिस गरेको थिएँ।
‘सुन्नुस् न!’ मैले धड्किरहेको मुटु सम्हाल्दै भनेँ।
‘के?’ उनको संक्षिप्त तर जिज्ञासापूर्ण उत्तर आयो।
‘तपाईंको नाम के हो नि? अनि कुन स्कुलबाट आउनुभएको?’
उनले केही डर र केही संकोच मिसाउँदै मधुर स्वरमा जवाफ दिइन्, ‘प्रभा, प्रभा पौडेल। म त गाउँको स्कुलबाट आएकी— हिमालय मावि, टक्सार।’
‘अनि तपाईंको नि?’ उनले मतिरै प्रश्न फर्काइन्।
‘ए... म समीर हुँ। पूरा नाम समीर नेपाल। मेरो घर यहीँ नजिकै छ। मैले चाहिँ ज्योति स्कुलमा पढेको,’ मैले आफ्नो परिचय दिएँ।
त्यो दिन मेरो कानमा पहिलो पटक गुन्जिएको त्यो 'प्रभा' नाम आज चौबीस वर्ष बितिसक्दा पनि मेरो मुटुको एउटा भेन्ट्रिकलभित्र उत्तिकै सुरक्षित रूपमा कैद भएर बसेको छ।
कार्यालयको समय सकिएपछि म हल्का फ्रेस भएँ र अफिस परिसरकै गोलचौतारीमा गएर उनको प्रतीक्षा गर्न थालेँ। मनमा भने भेटपछिको सम्भावित संवाद र त्यो रोमाञ्चक क्षणको कल्पनाका रङ्गीन तरङ्गहरू खेलिरहेका थिए। कात्तिकको पहिलो हप्ता थियो सायद। बेलुकापख चल्ने चिसो हावाले शीतलता मात्र होइन, हिउँदको बढ्दै गएको सिरेटोतर्फ पनि सङ्केत गरिरहेको थियो। त्यही चिसो साँझमा, हल्का हरियो रङको पातलो पछ्यौरी र कुर्ता-सुरुवालमा सजिएर उनी मतिर आउँदै गरेको देख्दा मेरो मन झनै रोमाञ्चित भएर आयो।
संवाद सुरु गर्नुअघि वातावरणलाई अलिक सहज बनाउँदै उनले हामी बस्न लागेको चौतारीको बखान गर्न थालिन्। वरिपरिको हरियाली, ढकमक्क फुलेका सयपत्री फूल, कलात्मक रूपमा काटिएका धुपीका रूखहरू अनि हरियो र बाक्लो दुबोले सजिएको त्यो सानो बगैँचा नियाल्दै उनले भनिन्, ‘वाह! कस्तो राम्रो ठाउँ रहेछ है!’ मैले पनि उनको कुरामा सही थाप्दै सहमति जनाएँ।
त्यो चौतारीमा बसेर हामी निकै बेरसम्म गफियौँ। घरपरिवार, छोराछोरी, उनीहरूको पढाइ र आ-आफ्नो पेसा-व्यवसायका बारेमा हामीले खुला मनले कुराकानी गर्यौँ। कुराकानीका क्रममा मैले बारम्बार तपाईं शब्द प्रयोग गरिरहँदा उनले केही असहजता महसुस गरिन् र भनिन्, ‘मलाई ‘तिमी' नै भन्नुस् न है! दुई-तीन महिनाले भए पनि म तपाईं भन्दा सानै त हुँ नि!’
त्यसै पनि महिलाहरू ‘तिमी’ शब्दमा आत्मीयता महसुस गर्छन। उनको यो आग्रहपछि हाम्रो संवाद 'तिमी' र 'तपाईं' को एउटा आत्मीय र आदरार्थी सम्बोधनतर्फ मोडियो।
गफैगफमा हामी फेरि विगतका पुराना पानाहरू पल्टाउन थाल्यौँ।
मैने ठट्यौली पारामा जिस्काउँदै भनेँ, ‘त्यो नीलो स्कुले फ्रक र गुलाबी रङको टिसर्ट... म अझै पनि तिमीलाई त्यही रूपमा कल्पना गरिरहन्छु।’
उनी निकै अचम्म मान्दै बोलिन्, ‘ह्या... मैले त्यतिबेला लगाउने गरेका लुगाहरू पनि तपाईंलाई अझैसम्म याद छ?’
‘मलाई तिमीसँग जोडिएका अरू धेरै कुराहरू पनि याद छन्,’ मैले दृढताका साथ दोहोर्याएँ।
‘के कुरा नि?’ कौतुहलता र अचम्म मान्दै उनले सोधिन्।
मैले उनको आँखामा हेर्दै भनेँ, ‘मेरो मुटुको एउटा कुनामा चौबीस वर्षदेखि सुरक्षित लुकाएर राखेको तिम्रो नाम... अनि तिमी एसएलसी दिएर मबाट बिछोडिएको त्यो पल!’
मेरो कुरा सुनेर उनी स्तब्ध भइन् र टोलाएर मलाई मात्र सुनिरहिन्।
‘एसएलसीको नतिजा आउने दिन मैले तिमीलाई असाध्यै मिस गरेँ,’ मैले विगतका पाना पल्टाउँदै भनेँ, ‘आफ्नो नतिजा हेर्नेबित्तिकै मैले गोरखापत्रमा हतारहतार तिम्रो सिम्बोल नम्बर खोजेको थिएँ। धेरै बेरसम्म खोज्दा पनि कतै नपाएपछि आफू प्रथम श्रेणीमा उत्तीर्ण हुँदाको खुसी पनि कता हरायो कता! मेरा हातगोडा गले जस्तै भए, शरीरभरि चिटचिट पसिना आयो। म त्यही गोरखापत्र बेच्ने पसलको बरण्डामा थचक्क बसेँ। आँखैमा आएका आँसुहरूलाई डिलभित्रै लुकाउने प्रयास गरेँ। त्यतिबेला सोचेको थिएँ— यदि भेट्न पाएको भए तिमीलाई अङ्गालो हालेर तिम्रो दुःखमा समानुभूति मात्रै भए पनि प्रकट गर्थेँ होला!’
मैले लामो सुस्केरा हालेँ र फेरि भन्न थालेँ, ‘त्यसको झण्डै एक वर्षपछि, एक दिन मैले तिमीलाई पृथ्वीनारायण क्याम्पसमा अलि टाढाबाट देखेको थिएँ। तिमी साथीहरूसँग थियौ। तिम्रा हातमा चुरा, गलामा पोते र छड्के सिउँदोमा सानो रातो धर्को देखेपछि मैले तिमीलाई बोलाउने आँट नै गरिनँ। मलाई भित्रभित्रै आफू जिन्दगी देखिनै हारेको महसुस भयो। तिमी साथीहरूसँगै ओझेल नपरुज्जेलसम्म हेरिरहेँ।
थाहा छ प्रभा? खासमा तिमी मेरो पहिलो प्रेम थियौ। तर फगत एउटा एकतर्फी र अव्यक्त प्रेम!’
मैले हाम्रो विगत कोट्याइरहँदा उनका आँखाहरू आँसुले भरिइसकेका थिए। उनी आफू बसेको ठाउँबाट जुरुक्क उठिन् र मतिर अगाडि बढिन्। उनले मलाई कसिलो अङ्गालो हालिन् र मेरो छातीमा रुँदै आफ्ना कलिला मुड्कीहरू बजारिन्।
‘मलाई पहिला किन नभनेको? हामी एक हुन पाएको भए हाम्रो जीवन कति खुसी हुन्थ्यो होला!’ भन्दै उनी मेरो छातीमा टाँसिएर सुक्कसुक्क रोइरहिन्। मैले पनि आफ्ना आँसुहरू उनले नदेख्ने गरी दाहिने हातले सुटुक्क पुछिरहेँ।